काठमाडौं, जेठ २५
नवनियुक्त तीन जना मन्त्री नेकपा एमालेको प्रभावशाली भ्रातृ संगठन राष्ट्रिय युवा संघको कार्यालय पुग्नुभएको छ । उहाँहरू सुझावसल्लाह तथा शुभकामना थाप्न नयाँ बानेश्वरस्थित युवा संघको कार्यालय पुग्नुभएको हो । पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री उमाशंकर अरगरिया, स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ र युवा तथा खेलकुद मन्त्री एकवाल मियाँ अन्सारी संघको कार्यालयमा पुगेर सुझावसल्लाह लिनुभएको हो ।
जनता समाजवादी पार्टीबाट मन्त्री बन्नु भए पनि अरगरिया युवा संघको कार्यालय पुग्नुभएको हो । उहाँले यसअघि शनिबार युवा संघको कार्यालय पुगेर पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिको क्षेत्रमा के–के काम गर्न सकिन्छ भनेर संघका अध्यक्ष किरण पौडेल लगायतसँग सुझाव समेत लिनुभएको थियो । ‘अब जुनसुकै पार्टीका युवा संगठनहरूले सरकारको काममा सघाउनुपर्छ, म यो पार्टी, ऊ पार्टी भन्दिन,’ मन्त्री अरगरियाले भन्नुभयो ।

उहाँलाई युवा संघका नेताहरूले खादा लगाएर सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो । त्यस्तै आज युवा संघको कार्यालयमा दुई मन्त्री पुग्नुभएको हो । स्वास्थ्य मन्त्री तामाङ र युवा तथा खेलकुद मन्त्री अन्सारी आज संघको कार्यालयमा पुगेर सुझावसल्लाह लिनुभएको हो ।
मन्त्री तामाङले भन्नुभयो, ‘कोभिड नियन्त्रणका लागि जनस्तरबाट युवा संघले खेलिरहेको भूमिका म हेरिरहेको छु, राम्रो काम गरिरहनुभएको छ, यसलाई जारी राख्नुस् ।’ तामाङ लामो समय युवा संघको संगठनमा हुनुहुन्थ्यो । उहाँले आफ्नो अनुभव पनि सुनाउनुभयो । उहाँले थप्नुभयो, ‘युवा संघको नेतृत्वमा रहने साथीहरुले होशियार बन्नुहोला । राम्रो काम गर्दा पनि नराम्रो काम गरेको भनी कुप्रचार गर्छन्, भ्रम फैलाउँछन् । भ्रम चिर्दै काम गर्नुस् ।’

मन्त्री अन्सारीले युवा संघ देशको सबैभन्दा प्रभावशाली संगठन भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘देशकै युवाको प्रभावशाली संगठन भएकाले तपाईंहरुको कार्यालयमै आएको छु ।’ उहाँले थप्नुभयो,‘मन्त्री बन्नासाथ अनेक गलत समाचार फैलाइयो, नकारात्मक पात्र र प्रवृत्तिले गलत कुरा फैलाउँछन्, सकारात्मक पात्र र प्रवृत्ति भएका मानिसहरु सही पक्षमा लाग्छन् । यो कुरा युवाहरूले बुझ्नुपर्छ ।’
त्यस्तै युवा संघका अध्यक्ष पौडेलले नवनियुक्त मन्त्रीहरूलाई बधाई र शुभकामना दिँदै सुझाव समेत दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘यो देशको सर्वाधिक धेरै संख्यामा युवा संगठित भएको संगठनको अध्यक्षको नाताले मैले सुझावहरू दिएको छु, उहाँहरूको सफलताका लागि हामी मद्दत गर्छौं भनेको छु ।’
प्रतिक्रिया दिनुहोस्