काठमाडौं, २६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालले सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट ७४ पदाधिकारी सहितको टिम घोषणा गरेको छ ।
सम्मेलनले सर्वसम्मत रूपमा नेतृत्व त चयन गरेको छ तर नयाँ घोषणा गरेको नेतृत्वको कारण राजनीतिक वृत्त र सामाजिक सञ्जालमा बहसको नयाँ तरङ्ग ल्याएको छ । नेतृत्व चयन प्रक्रियामा देखिएको गाईजात्रे शैली, पदको अनावश्यक थुप्रो र कार्य विभाजन विहीन संरचनाका कारण संगठन गम्भीर आलोचनाको घेरामा परेको छ । यो घोषणा युवा जगतको लागिनै लज्जाको विषय भएको छ ।
वाइसिएलको अध्यक्षमा पुष्प ओलीलाई निर्विरोध घोषणा गरियो । विवादका बिच ओली निर्विरोध अध्यक्ष हुनुभयो । अरूलाई लोकतान्त्रिक नेतृत्व चयन भएन भन्ने आरोप लगाउने माओवादी र त्यसको भातृ संगठनको यो नेतृत्व चयन प्रक्रिया पनि स्वाभाविक र सहज थिएन । सम्मेलन अवधिभर ओलीको नामलाई लिएर असन्तुष्टि, खिचातानी र विवाद सार्वजनिक रूपमा देखिएको थियो । कतिपय कार्यकर्ताले उहाँलाई नेतृत्वमा स्विकार्न मानेका थिएनन् । तर पार्टी नेतृत्वको दबाबमा अन्ततः उहाँलाई अध्यक्ष बनाइयो ।
अध्यक्ष मात्रै होइन, अन्य पदहरू पनि विवादरहित भएनन् । त्यसैलाई छोप्न माओवादीले नयाँ रणनीति बनायो । जसले पद माग्छ उसैलाई नयाँ पद सिर्जना गर्दै दिँदै जाने रणनीतिले पदाधिकारीको सङ्ख्या नै भीमकाय बन्यो । मागे अनुसार पद सिर्जना गरेर सबैलाई समेट्ने शैली माओवादीले अपनायो ।
परिणामतः वाइसिएलको नेतृत्व टिम नेपालको राजनीतिक इतिहासमै सबैभन्दा ठुलो र विवादास्पद टिम बन्न पुग्यो । संगठनमा अब २२ जना उपाध्यक्ष छन् । जसमा डम्बर पुलामी, ठाकुर सौराग, नवराज ऐर, सुदीप नगरकोटी, रामकुमार श्रेष्ठ, अविलास तामाङ, हरिप्रसाद ढकाल, माधव बस्नेत, मनोज बिक, प्रेम श्रेष्ठ, अरुण क्षेत्री, अर्जुनसिंह साउद, शंकर पौडेल, शैलेन्द्रकुमार शर्मा, मिमसरा बम, नवीन खड्का, सन्तोष पनेरु, शोभाराम भण्डारी, अकिल शाही, मिना चैदरा र सुशिला कुँवर रहेका छन् ।
महासचिवमा गणे शाहीलाई निर्विरोध घोषणा गरिएको छ । त्यस पछिका उपमहासचिव पदमा १९ जनाको नाम घोषणा गरिएको छ । यो झनै आलोचना र व्यङ्ग्यको विषय बनेको छ । यस्ता निर्णयले पदको गरिमा होइन, सङ्ख्या थप्ने प्रवृत्तिलाई प्राथमिकता दिएको देखिन्छ ।
त्यस्तै, सचिवमा त ३१ जनाको नाम घोषित गरिएको छ । यीमध्ये कतिपय संगठनमा पहिले कहिल्यै देखिएका नै थिएनन् । यसले संगठनमा पद सिर्जना र नियुक्तिको मापदण्डप्रति गम्भीर प्रश्न उठाएको छ ।
राजनीतिक संगठनहरूमा कार्यक्षमता, दीर्घकालीन योगदान र वैचारिक स्पष्टताका आधारमा नेतृत्व विकास गरिनुपर्नेमा वाइसिएलमा गुटगत समीकरण र सन्तुलन मिलाउन पद सिर्जना गरिएको प्रष्ट हुन्छ ।
वाइसिएलले पछिल्लो दुई दशकमा नेपालमा युवा राजनीतिमा प्रभावशाली उपस्थिति बनाएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि वाइसिएललाई संगठनात्मक रूप दिइएको थियो । संगठनले पार्टीका प्रमुख अभियानहरूमा अग्रणी भूमिका खेल्दै आएको थियो । कतिपय सन्दर्भमा वाइसिएलले माओवादी छापामारले गर्दै आएको लडाकुको काम गर्दै आएको थियो ।
पछिल्ला वर्षहरूमा संगठन वैचारिक र सांगठनिक रूपमा कमजोर हुँदै गएको देखिएको छ । यो नेतृत्व चयन त्यसैको प्रतिबिम्ब हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । वाइसिएलको यो नेतृत्व चयनलाई राजनैतिक र वैचारिक विचलनको रूपमा विश्लेषण गरिएको छ ।
संगठनभित्र जो–जोले पद मागे, त्यहीअनुसार नयाँ पद सिर्जना गरेर टिम बनाउनु नेतृत्व उत्पादन होइन, राजनीतिक गाईजात्रा हो । गाईजात्रा नेपाली समाजमा एक सामाजिक व्यङ्ग्यको पर्व हो जहाँ नियम हुँदैन, सबै स्वतन्त्र ढङ्गले आफ्ना कुरा प्रकट गर्छन् । अहिलेको वाइसिएलको संरचना पनि त्यस्तै अव्यवस्थित देखिएको छ ।
वाइसिएलको संरचनाले युवा राजनीतिमा चासो राख्नेहरूमाझ निराशा फैलाएको छ । पदको लिष्ट लामो भए पनि कार्यभार, कार्यदिशा र रणनीतिक योजनाबारे संगठनले स्पष्ट विवरण दिएको छैन । यी पदाधिकारीको जिम्मेवारी के हुने ? खालि पदको लागि पद ? यो प्रश्न उब्जिएको छ ।
कतिपय नेताहरूले यो नेतृत्व संरचना ‘सहमति र समावेशीकरण’ को नमुना भएको दाबी गरेका छन् । तर आलोचकहरू भन्छन्–सहमतिका नाममा राजनीतिक गुटबन्दी व्यवस्थापन गर्ने नेतृत्वको गम्भीरता बिर्सिनु नै संगठनको असफलता हो । जब जिम्मेवारी र आवश्यकताको आधारमा होइन, पहुँच र दबाबका आधारमा पद बाँडिन्छ, तब त्यो संगठन जनतामाझ होइन, आ–आफ्ना नेताको चाकरी गर्ने मञ्चमा सीमित हुन्छ । युवा राजनीतिमा भावनात्मक आवेग र गतिशीलता हुनु जरुरी हुन्छ, तर त्यसलाई संस्थागत अनुशासन, वैचारिक स्पष्टता र योजनाबद्ध नेतृत्वद्वारा सम्बोधन गर्न सकिएन भने त्यो आवेग संगठनकै पतनको कारण बन्न सक्छ । कतै वाइसिएले त्यता अघि बढेको त होइन भन्ने प्रश्न जन्मिएको छ ।
आजको नेतृत्वले युवालाई भावी नेतृत्व बनाउन चाहन्छ भने, नामको भीड होइन, भूमिका र दृष्टिकोण दिने नीतिको खाँचो छ। वाइसिएलको यो संरचना राजनीतिक भविष्य निर्माण गर्ने हो कि नीतिविहीन गाईजात्रे प्रयोग हो भन्ने सवाल अहिलेको प्रमुख प्रश्न बनेको छ ।
हुन त माओवादी अध्यक्ष प्रचण्डले नै सबैलाई मिलाउन खोज्दा पदाधिकारी सङ्ख्या अधिक भएको स्विकारी सक्नु भएको छ । पार्टी अध्यक्ष दाहालले वाइसिएलको नयाँ निर्वाचित सिङ्गो टिमलाई आज खुमलटार बोलाएर पदाधिकारी सङ्ख्या सोचेभन्दा धेरै ठुलो हुन गएको बताउनुभएको छ । प्रक्रिया मिलाएरै टिम बनाएकाेले आफ्नाे गुनासाे नभएकाे उहाँले सुनाउनुभयाे ।
तपाईँहरु सबैकाे मन भने जसरी रामाएकाे छैन भनि दाहालले दिनुभएकाे अभिव्यक्तिले पनि संगठनकाे नेतृत्वमा समस्या छ भन्ने कुरा झल्काएकाे छ ।
उहाँले यसले संगठनलाई गतिसित र चुस्त, दुरुस्त बनाउन मद्दत नै गर्छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ । तर पदाधिकारी नै ७४ सदस्सीय भएको कमिटीले कसरी चुस्त दुरुस्त भएर काम गर्ला र भन्ने प्रश्न उब्जिएको छ । बाँकी भोलिका दिनमा वाइसिएलले गर्ने कामले पुष्टि गर्दै जाने छ ।
प्रतिक्रिया दिनुहोस्