काठमाडौं, जेठ २६ । अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु काँधमा बोरा बोकेर फर्किएका छन् ।
आइतबार मध्यराति बोरा बोकेर उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका हुन । बिमानस्थलमा कार्यरत प्रहरीका अनुसार कतिपय त रित्तो हात फर्किएका छन । अध्यागमन कानुन उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीहरुलाई अमेरिकाले गएराती चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएर छाडेको हो । डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली रहेका छन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ । अमेरिकाले कतिपय देशका नागरिकहरुलाई हतकडी र नेल लगाएर फर्काएका समाचारहरु सार्वजनिक हुने गरेका छन् ।
ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । अध्यागमन विभागको तथ्यांक अनुसार जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन । छ ।
डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेका छन । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ । करिब ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरू बिमानस्थलबाट बाहिरिँदा मध्यराती १२ बजेको थियो ।
प्रतिक्रिया दिनुहोस्