जनता टाइम्स

१३ कार्तिक २०८३, शुक्रबार १५:५९

रजाैरिया र रिजालकाे पक्राउप्रति इन्जिनियर्स एसाेसियशनकाे कडा आपत्ति


काठमाडाै, कात्तिक १३ । जलस्राेत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजालको गिरफ्तारीमा नेपाल इन्जिनियर्स एसोसिएसनले गम्भीर असहमति जनाएको छ। 

एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले प्रेस विज्ञप्ति जारी गरी रजौरिया र रिजालको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूले प्रधानमन्त्रीको कार्यालयमा उपस्थित गराइएको थियो। 

प्रधानमन्त्री कार्यालयकाे साे कामलाई लिएर इन्जिनियर्स एसोसिएसनले शुक्रबार असहमति जनाएको हो। एसोसिएसनले कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा विधि र प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ। 

‘कानुनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक हकको सम्मान गर्दै कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा स्थापित कानुनी प्रक्रिया र आवश्यक आधारको पूर्ण पालना हुनुपर्ने एशोसिएसनको स्पष्ट धारणा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आधिकारिक कारण तथा कानुनी आधार सार्वजनिक नगरी गरिने गिरफ्तारीले विधिको शासन र पेशागत मर्यादामाथि नै प्रश्न उठ्ने भएकाले यसप्रति एशोसिएसन गम्भीर असहमति व्यक्त गर्दछ।’

उनीहरूलाई पक्राउ गर्नुको कानुनी आधार सार्वजनिक गर्न पनि एसोसिएसनले माग गरेको छ। यससँगै दुवै जनाको मानव अधिकार र कानुनी अधिकारको पूर्ण प्रत्याभूति गर्न पनि एसोसिएसनले आग्रह गरेको छ। 

‘एसोसिएसन सम्बन्धित निकायसँग गिरफ्तारीको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न तथा वहाँहरूको मानव अधिकार र कानुनी अधिकारको पूर्ण प्रत्याभूति गर्न जोडदार माग गर्दै कानून बमोजिम निष्पक्ष, पारदर्शी र विधिसम्मत अनुसन्धान प्रक्रिया अवलम्बन गर्न आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।