जनता टाइम्स

१३ कार्तिक २०८३, शुक्रबार १३:५८

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालकाे पेसी सार्ने अदालतकाे अनुमति


काठमाडौं, कात्तिक १३ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा दायर भ्रष्टाचार मुद्दाको अन्तिम आदेशको तयारी भइरहेका बेला पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालले विशेष अदालतमा उपस्थित हुन नसक्ने भन्दै दिनुभएको निवेदनलाई अदालतले अनुमति दिएको छ। यससँगै कात्तिक १९ गतेका लागि तोकिएको पेसीमा उहाँ अनुपस्थित रहन पाउनुहुने भएको छ।

विशेष कामका लागि बाहिर जानुपर्ने भएकाले निर्धारित मितिमा अदालतमा उपस्थित हुन नसक्ने जानकारी गराउँदै नेपालले विशेष अदालतमा निवेदन दिनुभएको थियो। उक्त निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उहाँको मागअनुसार अनुमति दिने आदेश गरेको हो।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार कानुनबमोजिम एकपटकका लागि पेसी सार्न पाउने अधिकार प्रयोग गर्दै नेपालले निवेदन दिनुभएको थियो। उहाँले कात्तिक १९ गतेको पेसीमा अनुपस्थित हुने अनुमति पाउनुभएको र त्यसपछिको पेसीमा मुद्दाको अन्तिम आदेश हुन सक्ने जानकारी दिनुभयो।

पूर्वप्रधानमन्त्री नेपालसहितलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारको आरोपपत्रअनुसार पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा र महेन्द्रज्योतिमा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको थियो। उक्त जग्गा कम मूल्यमा खरिद गरी पछि बढी मूल्यमा बिक्री गर्ने प्रक्रियामा तत्कालीन प्रधानमन्त्री नेपालको संलग्नता रहेको अख्तियारको आरोप छ।

आरोपपत्रमा पतञ्जलिले ५९४ रोपनी ५ आना १ पैसा जग्गा खरिद गरेको र त्यसको मूल्याङ्कन १८ करोड ५८ लाख ५० हजार रुपैयाँ रहेको उल्लेख छ। त्यस्तै, हदबन्दीभन्दा बढी बिक्री गरिएको जग्गाको क्षेत्रफल ३१४ रोपनी १५ आना २ पैसा १ दाम रहेको दाबी गरिएको छ।

यस प्रकरणमा नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको विशेष अदालतले जनाएको छ।