मोरङ, कात्तिक १३ । नेपाल प्रहरीकाे लागूऔषध नियन्त्रण ब्युरोले भारतबाट नेपालतर्फ लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा निगरानी तथा अनुसन्धान गर्ने क्रममा ५०० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर काठमाडौँले लामो समयदेखि गरेको निरन्तर निगरानी तथा सूचनाको विश्लेषणका आधारमा हिजाे भारतको अररिया जिल्लाबाट मोरङको रतुवामाई नगरपालिका–६ तर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको अररिया जिल्ला, जोगबनी निवासी २२ वर्षीय दिपक कुमार बोसाक, सोही स्थानका ४० वर्षीय पुन कुमार बोसाक र मोरङको रतुवामाई नगरपालिका–१ निवासी ३५ वर्षीय योगेन्द्र ठाकुर रहनुभएको छ।
प्रहरी टोलीले उनीहरूलाई मोटरसाइकलमा आउँदै गरेको अवस्थामा फेला पारेपछि चेकजाँच गर्न खोजेको थियो। सो क्रममा मोटरसाइकल पछाडि सवार दिपककुमार बोसाकले साथमा रहेको पेस्तोल निकालेर प्रहरीमाथि फायर गर्न खोजेपछि प्रहरीले आत्मरक्षाका लागि जवाफी फायर गरेको जनाएको छ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा दुई जनालाई खुट्टामा गोली लागेको जनाएको छ। घटनामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा दिपक कुमार बोसाकको साथबाट ५०० ग्राम खैरो हेरोइन, एउटा पेस्तोल र एक राउन्ड गोली बरामद गरिएको ब्युरोले जनाएको छ। प्रहरीले घटनास्थलबाट दुई थान मोटरसाइकल र तीन थान मोबाइलसमेत बरामद गरेको छ।
घाइते दुई जना भारतीय नागरिकको रतुवामाई नगर अस्पतालमा उपचार भइरहेको छ भने योगेन्द्र ठाकुरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिजुवामा बुझाइएको ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार पक्राउ परेका योगेन्द्र ठाकुर शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्