जनता टाइम्स

२६ जेष्ठ २०८२, सोमबार १४:०७

सेफल्याण्डिङ खोज्दै माओवादी : गृहमन्त्रीको राजीनामा छाडेर छानबिन सुनिश्चितताको मागमा झर्यो


काठमाडौ‌ं, जेठ २६। भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको राजीनामा माग्दै आएको प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र आफ्नै मागबाट पछि हटेको छ । भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको राजीनामाको मागबाट तल झरेको माओवादीले छानबिन आयोग गठनको माग गरेको थियो । अब त्यो माग पनि छाडेर माओवादी जम्मा छानबिनको सुनिश्चितता भए पनि प्रतिनिधिसभाको अवरोध हटाउन तयार भएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले छानबिन अनिवार्य हुने सुनिश्चितता खोजिएको जानकारी दिनुभयो। ‘यो सुनिश्चितताका लागि छलफल भइरहेको छ,’ उहाँले भन्नुभयो । सरकारले जम्मा छानबिन हुने बताइदिए संसद् खोलिदिनेमा माअ‍ोवादी पुगेको छ । यो उसको कुनै बलियो माग होइन । यसले माओवादी जम्मा सुरक्षित अवतरणको खोजीमा भएको प्रष्ट देखिएको छ ।

सत्तापक्षले छानबिन गर्ने स्पष्ट प्रतिबद्धता जनाएपछि माओवादी केन्द्रले प्रतिनिधिसभामा जारी अवरोध हटाउने उहाँको भनाई छ । माओवादीले सुरुमा गृह मन्त्रीको राजीनामा माग गर्दै संसद् ठप्प बनाएको थियो। तर, माग पुरा नभएपछि छानबिन समिति गठनको मागमा झरेको थियो । अहिले भने जम्मा छानबिनकाे प्रतिबद्धता मात्र माओवादीले खोजेको छ ।

अख्तियारले हाल गरिरहेको प्रारम्भिक अनुसन्धान सम्पन्न भएपछि २०६४ सालयता भिजिट भिसाका नाममा भएका अनियमितता छानबिन गर्न छुट्टै संयन्त्र बनाउने प्रतिबद्धता आए हुने मागमा माओवादी पुगेको छ । यो सहमतिमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी करिब सहमत भइसकेका छन् । तर, संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अझै सहमत हुन सकेको छैन ।

सभामुख देवराज घिमिरेले आजबाट प्रतिनिधि सभा बैठक नरोकिने बताइसक्नु भएको छ । त्यस्तै सत्तारुढ दल नेकपा एमालेले पनि आजबाट संसद् बैठक सुचारु हुने जनाएको छ ।प्रतिपक्षी सहमतिमा नआए सत्ता पक्षले पेलेरै भए पनि संसद् बैठक अघि बढाउने सङ्केत गरेपछि माओवादीले सुरक्षित अवतरणको बाटो खोजेको छ ।