जनता टाइम्स

१४ असार २०७८, सोमबार ०७:४३

साविक विजेता पोर्चुगललाई हराउँदै युरो कपको क्‍वार्टरफाइनलमा पुग्यो बेल्जियम


काठमाडौं, असार १५ । बेल्जियम युरो कप फुटबल प्रतियोगिताको साविक विजेता पोर्चुगललाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । गए राती भएको खेलमा बेल्जियमले पोर्चुगललाई १ ० को गोल अन्तरले पराजीत गरेको हो ।

पहिलो हाफको तीन मिनेट बाँकी रहँदा थोमस मुनिएरले बाँया दिएको पासलाई थोर्गनले नियन्त्रणमा लिदैं पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । खेलमा थोर्गनको गोल नै निर्णायक गोल सावित भयो । पहिलो हाफको सुरुआती समयमा धेरै प्रयास गरे पनि अग्रता लिन असफल रहेको पोर्चुगलले पहिलो हाफको अन्तिम क्षणमा गोल खान पुग्यो ।

२५ औं मिनेटमा रोनाल्डोले गरेको फ्रिकिक प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले मुस्किलले बचाएका थिए । दोस्रो हाफको सुरुआतमै बेल्जियमका मिडफिल्डर केभिन डे ब्रुएन चोटका कारण मैदान बाहिरिएका थिए । पोर्चुगलले दोस्रो हाफमा पहिलो हाफमा भन्दा बढी आक्रमक र सुधारिएको खेल खेले पनि खेललाई बराबरीमा फर्काउन सकेन । यस खेलमा पोर्चुगलका लागि बेल्जियमको डिफेन्डिङ एकदमै बलियो देखियो ।

खेलको ८२ औं मिनेटमा रुबेन डियासको प्रहार गोलरक्षक कोर्टुवाले बचाए । लगत्तै गुरेरोको प्रहार पोस्टमा लाग्दै फर्कदाँ पोर्चुगल बराबरी गर्न बाट चुक्यो । इन्ज्युरी समयमा पाएको मौका फेलिक्सले गरेको प्रहार बाहिरिँदा पोर्चुगलको बराबरी बनाउँने आश सँगै खेल पनि सकिएको थियो । यस जितसँगै बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग आमनेसामने हुनेछ ।