२०५१ सालमा नेपाल इन्स्योरेन्स कम्पनीबाट जागिर शुरु गर्नुभएका कुमार बहादुर खत्रीले ९ वर्ष त्यहाँ काम गर्नुभयो । एनबि इन्स्योरेन्स (हालको आईएमइ जनरल इन्स्योरेन्स) को ब्यबस्थापकीय तहमा २ वर्ष काम गर्नुभएका उहाँ २०६२ साल देखि लुम्बिनी जनरल इन्स्योरेन्सको सहायक महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नु भयो । हाल उहाँ अजोड इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत हुनुहुन्छ । उहाँको २५ वर्ष लामो अनुभवमा अहिले इन्स्योरेन्सको बजार तिब्र गतिमा बढेको लागेको छ । इन्स्युरेन्स बजारलाई प्रोत्साहित गर्नुपर्ने सरकारलेनै आफ्नो सम्पत्तिको बीमा नगरेकोमा उहाँलाई दुख लागेको छ । उहाँ सरकारले आफ्नो सबै सम्पत्तिको बीमा गर्ने हो भने आम मानिस पनि प्रोत्साहन हुने उहाँलाई लागेको छ । हालको इन्स्योरेन्स बजारको विषयमा उहाँ संग बसन्त अर्यालले गरेको कुराकानीः
जनरल इन्स्योरेन्सको समग्र बजार कस्तो छ ?
अहिले २० ओटा निर्जीवन बीमा कम्पनीहरु छन् । चालु आर्थिक वर्षको नौ महिनामा १७ प्रतिशतले वृद्धिदर देखिएको छ । यो बढ्ने क्रममा छ तर अझै धेरैको पँहुचमा पुग्न सकेको छैन । बीमा गर्नुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि नभइरहेको अवस्था छ । बीमाको बानी नभएको कारण मार्केट बढ्न अझै केही समय लाग्छ । ग्रामिण क्षेत्रमा बीमाको जानकारी नहुन पनि सक्छ तर शहरी क्षेत्रमा त जानकारी छ । त्यही पनि बीमा गरेका छैनन् । बाध्य भएर गर्नु पर्ने अवस्थामा गरिएको छ तर स्वेच्छिक रुपमा बीमा गर्ने छैनन् ।
बीमा गर्दा के फाईदा हुन्छ भन्ने राम्ररी बुझाउन सकेनौ कि ?
बीमा गर्दा के फाइदा भन्ने कन्सेप्ट त छ । बीमालाई बाध्यत्माक खर्चको रुपमा लिन्छन् । जसलाई जरुरी छ त्यसले गरेको पनि छ । यद्यपी बीमालाई सहर्ष स्वीकार गरिएको छैन । अब विस्तारै बुझ्दै छन् । अहिले वित्तय सहयोग लिएर बनेका घरहरु त बीममा आइसकेका छन् । तर निजी आवासका घरहरु जो आफ्नो ऋण नलिइ बने ती धेरै बीमा बाहिर रहेका छन् ।
यसैको लागि सम्पत्ति बीमा निर्देशिका जारी गरेको छ । यसको कार्यान्वयनपछिको अवस्था कस्तो छ ?
२०७५ साल माघ १ गतेदेखि सम्पत्ति बीमा निर्देशिका लागु भएको हो । पहिलेदेखि केही विवाद आइरहेको थियो । जोखिमहरुलाई स्वेच्छिक राख्दा समस्या आयो । भूकम्प र आगलागी अनिवार्य थिए अन्य बाढी पहिरोहरु आँधी हुरीको बीमा अनिवार्य थिएन । जसले गर्दा ग्राहकहरुले एउटाको बीमा गर्ने अर्को समस्या आउँदा दावी आउने थियो । तर अहिले भने सबै बीमालाई अनिवार्य बनाएर पहिले जसरी अलग अलग गरेर बीमा गर्दा जति बीमाको प्रिमियम आउने थियो अहिले त्यो भन्दा कम आउँछ । जसले गर्दा मध्यम वर्गीय ग्राहकले पनि सहजै रुपमा बीमा गर्न सक्छन् । बीमा बजार बढ्छ । तर अहिले नै त्यसको बारेमा मुल्यांकन गर्ने बेला भएको छैन । केही समय सम्पत्ति बीमालाई पनि अनिवार्य गराउनु पर्दछ । मोटर बीमा हेल्थ इन्स्योरेन्सलाई सरकारले प्राथमिकताका साथ लागु गरिरहेको छ । त्यस्तै सम्पत्ति बीमामा पनि आयकर छुट दिन प¥यो ।
जति बीमा कम्पनी खुले पनि एउटै क्षेत्रमा बढी फोकस गर्ने प्रवृत्ति देखिन्छ । बीमाको दायरा बढाउन के गर्न सकिन्छ ?
बीमा कम्पनी एउटै क्षेत्रमा बढी ध्यान दिँदा अस्वस्थ प्रतिस्पर्धा बढेको छ । अहिले प्रतिष्पर्धाले केही प्रिमियम संकलन होला । तर भोलि भवितव्य परेको बेलामा बीमा भुक्तानी पनि दिन सक्नुपर्छ । त्यसैले यसलाई विस्तारै सुधार्दै जानुपर्छ । सम्पति बीमा, कृषि बीमा, लघु बीमामा पनि बीमा कम्पनी विस्तार हुँदैछन् । यसमा सरकार वा नियामक निकायले पनि सहयोग गर्नुपर्छ । लघु बीमामा अलि समस्या पनि छ । अरुमा भ्याट छैन तर लघु बीमामा छ । त्यसलाई हटाउनु पर्छ । सम्पत्ति बिमा नै हेर्ने हो भने पनि शहर भन्दा बहिर गएर बीमा गरेको स्थिति छैन । अहिले धेरै दुर्घटना हुँदा ती बीमाका दायरामा आएको देखिँदैन । जनतामा चेतनको साथै छिटो छरितो दाबी भुक्तानी गर्ने हो भने बीमा गर्ने बढ्न सक्छन् ।
इन्स्योरेन्स कम्पनीहरु मर्जर गर्ने भन्दै बीमा समिति र अर्थमन्त्री समेत भन्दै हुनुहुन्छ । यस बारे तपाईंको धारणा के हो ?
बीमा समितिलेको नयाँ निर्देशिकामा मर्जर हुने कम्पनीलाई विभिन्न छुट पनि दिएको छ । तर, मर्जरमा जान त्यति सजिलो छैन । हामी अहिले मर्जरमा जाने भन्नेमा छैनौ । हाम्रो एक अर्व पुँजी भइसकेकोले पनि मर्जरमा जानु पर्दैन । पुराना क्रस होल्डिङमा भएका कम्पनीलाई अलिकति दवाब दियो भने मर्जरमा जान्छन् । सबैले स्वस्थ प्रतिस्पर्धा गर्ने हो भने २० ओटा कम्पनी धेरै होइन । नयाँ मार्केट एक्स्प्लोर गर्ने, नयाँ प्रोडक्ट ल्याउने हो भने धेरै कम्पनी भएका छैनन् ।
तर मर्जरमा गर्या भने बीमा कम्पनी बलियोे, धेरै जोखिम उठाउन सक्ने र बजार विस्तारमा सहयोग पुग्न सक्छ नि होइन र ?
हामीले २०७५ साल असारदेखि कारोबार गर्न लागेको छ । हामी सातवटै प्रदेशमा गएका छौं । प्रमूख कार्यलय सहित ३० वटा शाखाहरु सञ्चालनमा आइसकेको छ । प्रमूख कार्यलय सहित ३० वटा शाखाहरु सञ्चालनमा आइसकेको छ । त्यसमध्ये चारवटा शाखा बीमा समितिले कृषि तथा पशु बीमाको लागि छुट्याएको जिल्लामा छ । पर्वत, गुल्मी, रौतहट र पुर्वी रुकुममा हामीले हाम्रो सेवा विस्तार गरेका छौ । हामी सबै ठाउँमा शाखा पुर्याउन नसके पनि सेल्स काउन्टरको रुपमा जानेकि भन्ने पनि छ । इन्टरनेट भएको ठाउँमा सजिलै बेच्न पनि सक्छौं । जहाँ सम्मको मर्जरको कुरा छ समय र परिस्थीतिले निर्धारण गर्छ ।
बीमा समितिको कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
बीमा समितिले धेरै कामहरु गरेको छ । समिति पनि बीमा प्राधिकरण भएर जाने भनेर बीमा ऐन पास गराउनतर्फ समिति लागेको छ । तर, पछिल्लो बीमा बजार विस्तारको लागि जति पनि कामहरु भएका छन् त्यसलाई हामीले नजरअन्दाज गर्न मिल्दैन । अहिले बीमा बजारलाई विस्तारको लागि समितिले नयाँ ट्यारिफ ल्याउनेदेखि स्थानीय तहमा बीमा बजारको विस्तारको लागि वातावरण बनाउने सरकारसँग बीमा विस्तारको लागि छलफल गर्ने लगायतका कामहरु भइरहेको छ । तर यत्तिले मात्र पुग्दैन अझै सुद्ढ बनाएर लैजानुपर्छ । प्राधिकरण भएपछि अझ व्यवस्थित हुन्छ । अझैपनि नियामक निकायले निरिक्षणको पाटोमा भने केही कमी कमजोरी रहेको बजारमा सुनिदै आएको छ । ती कुराहरुलाई सुधार्दै जानुपर्छ । विगतलाई हेर्ने हो भने बीमा समितिले एग्रेसिभ रुपमा लागिरहेको छ ।
लामो समय बीमा बजारमा काम गर्नुभयो, बीमा व्यवसाय सुधार गर्न सरकारले के गर्दा राम्रो हुन्छहोला ?
अहिलेको मुख्य चुनौति भनेको जनतामा बीमा गर्ने बानीको विकास नहुनु नै हो । अस्वस्थ प्रतिस्पर्धा पनि चुनौतिको रुपमा रहेको छ । सरकारले पनि आफ्ूबाट नै बीमा गर्न सुरु गर्नुपर्ने हो । सरकारको स्वामित्वमा रहेको सम्पत्तिहरुको पनि सरकारले बीमा गर्न सुरु गर्ने हो भने आम जनता पनि बीमाको लागि प्रोत्साहित हुने थिए । बीमा व्यवसाय आय करले गर्दा महंगो हुने गरेको छ । स्थानिय सरकारसँग समन्वय गरेर नक्सा पास गर्दा बीमा पनि गराउ भन्ने हो भने व्यवसाय बढ्छ ।
भूकम्प पछि बीमा समितिले पनि बीमाको बजार बढ्छ भनेर सोचेको थियो तर बजार सोचे अनुरुप बढ्न नसकेको हो ?
२०७२ को भुकम्पपछि हामीले पनि सोचेका थियौ बजार बढ्छ भन्ने सोचेका थियौं तर केही हदसम्म बढेको छ । तर जुन रुपमा सोचिएको थियो सो रुपमा बजार भने बढेको छैन ।सबैलाई बीमा गर्नुपर्छ भन्ने थाहा भएपनि त्यसको बानी परेको छैन । दुईचार बर्ष सरकारले अनिवार्य रुपमा बीमा गर्ने व्यवस्था गर्ने र कुनै घटना घटेपछि पैसा पाउने भयो भने बीमाको बजार बढ्छ । अहिले त बीमा गर्ने बानी नै नभएर हो ।
अजोड इन्स्योरेन्सको आगामी रणनीति के हो ?
अहिले ३० वटा शाखा र १७ वटा एक्टेन्सन काउन्टरहरु खोलेका छौं । आगामी चार बर्षभित्रमा शाखा संख्या ५६ वटासम्म पु¥याउने, बीमा सेवालाई देशव्यापी रुपमा पु¥याउने लक्ष्य राखेको छ । अजोडले प्रविधिमा आधारित बीमा योजनालाई अगाडि बढाउने लक्ष्य राखेका छौं । दावी भुक्तानीलाई सहज, छिट्टो र छरितो बनाउनको लागि दुई लाखसम्मको स्पट पेमेन्ट व्यवस्था गरिएको छ । अनलाइनबाट पोलिसी बेच्ने योजना रहेको छ । त्यस्तै च्याटबोर्डको काम सुरु गरिएको छ । अजोडको बारेमा बुझ्नु परेमा च्याटबाट नै बुझ्न सकिन्छ । त्यस्तै गु्रप एसएमएसको म्यासेजको व्यवस्था गरीएको छ । त्यस्तै मोटरसाइकल ट्राभल, भेइकलहरुको बीमा पनि अनलाइन मार्फत नै गर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्