जनता टाइम्स

१२ असार २०७६, बिहीबार १०:०१

बालुवाटार जग्गाको छानबिन अन्तिम चरणमा, अख्तियारले फेला पार्यो यस्तो तथ्य


काठमाडौं, असार १२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासले चर्चेको करिब एक सय ४७ रोपनी सरकारी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा पुर्याएको छ । छानविन अन्तिम चरणमा पुगेसँगै अख्तियारले मालपोत तथा गुठीका तत्कालीन कर्मचारीसँग बयान लिई गुठियार र अन्य जग्गाधनीसँगसमेत बयान लिने काम अघि बढाएको हो ।

छानविनलाई अन्तिम रुप दिन अख्तियारले सो जग्गा हडप्ने प्रकरणमा संलग्न देखिएको ८६ जनालाई सार्वजनिक सूचना जारी गरेर आगामी बुधवारभित्र आयोगमा बयान दिन आउन निर्देशन दिएको छ । मालपोत, नापी, गुठी संस्थानका कर्मचारीलगायत ५० जनाभन्दा धेरैसँग अख्तियारले सोधपुछ गरिसकेको छ । अनुसन्धानको क्रममा सूवर्णशमशेर राणाका परिवारका केही सदस्यमाथिसमेत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सोधपुछ गरेको छ ।

बयानका लागि बोलाइएका अन्य जग्गाधनी उपस्थित नभएपछि आयोगले बुधबार पत्रिकामार्फत सात दिनभित्र उपस्थित हुन ८६ जनाको नाममा सूचना जारी गरेको हो । सूचना जारी भएकाहरूमा बिचौलिया शोभाकान्त ढकालकी श्रीमती उमाकुमारी ढकाल, छोरी लक्ष्मी ढकाल, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङका छोरा कल्याण गुरुङ, रामप्रसाद सुवेदीकी श्रीमती माधवी सुवेदीलगायत छन ।

राणा परिवार तथा गुठियारको नामबाट जग्गा उनीहरूको नाममा नामसारी गरिएको थियो । सात दिनभित्र उनीहरू उपस्थित नभए सबैलाई प्रतिवादी बनाएर मुद्दा चलाउने आयोगको तयारी छ । अख्तियार स्रोतका अनुसार छानबिन अन्तिम चरणमा पुगेको छ, अब थप केही बुझ्न र बयान मात्रै बाँकी रहेको छ ।

छानविनको क्रममासूवर्णशमशेर राणाको सो जग्गा सरकारले जफत नभई अधिग्रहण नै गरेको निष्कर्ष निकालेर आयोग र प्रहरीले छानबिन अघि बढाएको छ । शुवर्णका परिवारले सो जग्गा जफत गरिएको दाबी गरी विज्ञप्ति निकालेका थिए । अधिग्रहण गरिएकामध्ये आठ रोपनी जग्गा सरकारले २० साउन ०२२ मा कनकशमशेर राणालाई फिर्ता गरेको थियो ।

अधिग्रहण गरेको मूल्यअनुसार उनले आठ रोपनीको ४५ हजार आठ सय ८२ रुपैयाँ ६९ पैसा तिरेर सो जग्गा फिर्ता पाएका थिए । क्षतिपूर्तिका लागि त्यसवेला तीनपटकसम्म गोरखापत्रमा सरकारले सूचना निकालेको थियो । तीनपटकसम्म क्षतिपूर्ति लिन नआए जग्गा स्वतः सरकारको नाममा हुने कानुनी प्रावधान थियो । १५ मंसिर ०२१ मा ललितानिवासको दुई सय ८४ रोपनी १४ आना तीन पैसा जग्गा अधिग्रहणको निर्णय भएको थियो ।

०४७ सालमा सरकारले राजनीतिक कारणले जफत गरिएको जग्गा अध्ययन गरेर फिर्ता दिने निर्णय गरेको थियो । तर, अधिग्रहण गरिएको जग्गासमेत जफत भएको व्याख्या गरेर एक सय १२ रोपनी जग्गा ०४९ मा राणा परिवारलाई फिर्ता दिइएको थियो ।

बाँकी करिब ३५ रोपनी गुठीको नाममा लगेर नक्कली मोही खडा गरी व्यक्तिको नाममा लगिएको हो । बालुवाटारको सो जग्गा फिर्ता गर्न तात्कालिन गृहमन्त्री तथा हालका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको महत्वपुर्ण भुमिका रहेको थियो । देउवाले अध्ययन नै नगरी फाइल फिर्ता पठाएपछि मालपोतले सो जग्गा सुशर्ण शमशेरको नाममा फिर्ता गरेको हो ।