जनता टाइम्स

४ मंसिर २०७८, शनिबार १२:२९

महाधिवेशनमा ७ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ : विष्णु रिमाल (अन्तर्वार्ता)


यतिखेर सबैको ध्यान नेकपा (एमाले)को दशौं महाधिवेशनतिर गएको छ । पर्यटकीय नगरी चितवनमा यही मंसिर १०–१२ गते सम्पन्न हुने दशौं महाधिवेशनको खर्च व्यवस्थापन गर्ने जिम्मा नेता विष्णु रिमाललाई छ । आर्थिक कमिटीका संयोजक रिमालले महाधिवेशनमा ७ करोड ५० लाख खर्च लाग्ने अनुमान गर्नु भएको छ । महाधिवेशन तयारीसँगै आर्थिक व्यवस्थापनलगायतका विषयमा केन्द्रित रही मोहन बास्तोलाले गरेको कुराकानीः

दशौं राष्ट्रिय महाधिवेशनको सम्मुखमा छ । तपाईं मूल व्यवस्थापन कमिटीको सचिवसमेत हुनुहुन्छ, व्यवस्थापनको तयारी के–के भैरहेको छ ?
मूल व्यवस्थापन कमिटीले कुन–कुन काम, कुन–कुन कमिटीले कहिलेसम्म सम्पन्न गर्ने भनेर ‘चेक लिष्ट’ बनाएर महाधिवेशन व्यवस्थापनको पाटोलाई अघि बढाएको छ । ‘चेक लिष्ट’को आधारमा पहिलो प्राथमिकता हामीले प्रतिनिधि छनौटलाई दिएका थियौं । प्रतिनिधि व्यवस्थापन कमिटीले प्रतिनिधिको नाम संकलन गर्ने काम करिब सम्पन्न गरिसकेको छ । अहिले प्रतिनिधि बन्दोबस्तीको काम भैरहेको छ । त्यो चरण सकिने क्रममा छ ।

दोस्रोः महाधिवेशनको प्रचारको काम हो । त्यो काम पनि प्रचार कमिटीले केन्द्रमा के गर्ने, महाधिवेशन स्थलमा के गर्ने, प्रदेश, जिल्ला र स्थानीय तहमा के गर्ने भनेर कार्यतालिका बनाएर अघि बढाएको छ ।

तेस्रोः महाधिवेशन स्थलको व्यवस्थापन हो । मुख्य गरेर बन्दसत्र र उद्घाटनका लागि हामीले ठाउँ बनाउनु पर्नेछ । महाधिवेशनका लागि उद्घाटन स्थल नयाँ सिर्जना गर्नुपर्ने भएकाले दक्ष प्राविधिक टोली खटाएर काम अघि बढाएका छौं । त्यसका लागि मञ्च व्यवस्थापन कमिटी र स्वयंसेवक टोली त्यसका लागि महाधिवेशन उद्घाटन स्थल चितवन नारायणी किनार र बन्दशत्र स्थल सौराहा पुगेको छ । त्यो टोलीले मञ्च व्यवस्थापनलगायतको काम द्रुत गतिमा अघि बढाएको छ । पाँच लाख जन समुदाय महाधिवशेन उद्घाटन समारोहमा उपस्थित गराउने भनेर हामीले संख्या नै तोकेका छौं । त्यसैले मञ्च व्यवस्थापन पनि त्यसैलाई ध्यानमा राखेर निर्माण भइरहेको छ ।

बन्दशत्रका लागि पनि त केही व्यवस्थापन गर्नुपर्ने होला नि ?

हो, बन्दशत्रका लागि हामीले सौराहाको सेभेन स्टार होटलमा व्यवस्थापन गरेका छौं । उक्त होटलमा करीब १ हजारदेखि १२ सयसम्म प्रतिनिधिका लागि व्यवस्थापन गरिएको छ । थप प्रतिनिधिका लागि व्यवस्थापन गर्नुपर्ने हुन्छ । हामीले २ हजार भन्दा माथि २५ सय जति प्रतिनिधिको आंकलन गरेका छौं । त्यति प्रतिनिधि अट्ने स्थानको व्यवस्थापन गर्नुपर्ने भएकाले हामीले उक्त होटल परिसरमा पाल प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्दै छौं ।

प्रतिनिधिका लागि आवास र खानाका लागि के–कस्तो व्यवस्थापन गर्नुभएको छ ?

प्रतिनिधिका लागि आवास र साँझ÷बिहान खानाका लागि सौराहाका विभिन्न होटलमा ३५ सय जति बेडका लागि सम्झौता गरिसकेका छौं । उद्घाटनको भोलिपल्टदेखि दिउँस खानाका लागि सामूहिक व्यवस्था गरेका छौं । ११ गते बेलुका ऐक्यबद्धता साँझको रुपमा त्यहाँका स्थानीय नेताहरुको समेत उपस्थितिमा खानाको व्यवस्थापन गरेका छौं । बाँकी ब्रेकफाष्ट र साँझो खानाका लागि जुन होटलमा प्रतिनिधि राख्छौं, त्यहीँ नै व्यवस्थापन गर्ने तयारी गरेका छौं ।

उद्घाटन समारोहमा जन–परिचालनका लागि कस्तो तयारी गर्नुभएको छ ?

यो महाधिवेशनको मुख्य गरेर दुईवटा पाटा छन् । पहिलो शक्ति प्रदर्शन, दोस्रो नयाँ नेतृत्व चुन्ने । हामीले महाधिवेशन उद्घाटनमा न्युनतम पाँच लाख जनसमुदाय जम्मा गर्ने भनेर अंक तोकेका छौं । मेची–महाकालीसम्मका प्रतिनिधि, कार्यकर्ता र सुभेच्छुकलाई चितवनमा उपस्थित गराउन मूल व्यवस्थापन कमिटीका सह–संयोजक कमरेड सुरेन्द्र पाण्डेको नेतृत्वमा जन–परिचालन कमिटी गठन गरेका छौं । उहाँको नेतृत्वका कमिटी त्यो कामका लागि सक्रिय ढंगले लागेको छ । त्यसका लागि वडा, पालिका तहका निर्वाचन गर्ने, प्रतिनिधि छनौट गर्ने, प्रदेश, जिल्ला, पालिका, वडा भेला गर्ने जस्ता काम द्रुत गतिका साथ भैरहेका छन् । यो हिसाबले हामी मंसिर १० गते ठूलो जनसागर नारायणी किनारमा उतार्ने र नेकपा एमालेको १०औं महाधिवेशनको महत्व दर्शाउने तयारीमा छौं ।

तपाईं आर्थिक कमिटीको संयोजक पनि हुुनुहुन्छ । आर्थिक व्यवस्थापन कसरी गर्नुभएको छ ?
आर्थिक पाटोमा हामीले गत तीनवटा महाधिवेशनको खर्चको पाटोलाई सिंहालवकन गर्यौं। त्यससँगै केही समयअघि मात्रै गोदावरीमा गरेको विधान महाधिवेशनको खर्चको पाटोलाई पनि हेर्यौं । यो महाधिवेशनमा कति खर्च लाग्ला भन्ने आँकलन हामीले ३ ओटा महाधिवेशन र एउटा विधान महाधिवेशनलाई हेरेर गरेका छौं । आठौं महाधिवेशनमा करीब २ करोड २५ लाख खर्च लागेको थियो । त्यो महाधिवेशनमा व्यापक रुपमा जन–परिचालन गरेका थियौं । त्यस्तै नवौं महाधिवेशनमा ४ करोड २५ लाख खर्च भएको थियो । नवौं महाधिवेशन काठमाडौँ केन्द्रित भएकाले बुटवल जस्तो जन–परिचालन संभव भएन । विधान महाधिवेशनमा हामीले आवासको व्यवस्था गरेका थिएनौं । त्यो महाधिवेशनमा करीब ६ हजार ४ सय ३५ प्रतिनिधिको उपस्थिति रहेको थियो । त्यो महाधिवेशनमा करीब ५ करोड खर्च भएको थियो । यी तीन महाधिवेनको अंकलाई तुलना गरेर यो महाधिवेशनमा केन्द्रले दायित्व बोक्नुपर्ने लगभग ७ करोड ५० लाख होला भन्ने आँकलन गरेका छौं । त्यसमा केही तलमाथि हुनसक्छ ।

आर्थिक स्रोतकोे आधार के हो ?
हामीले सबै भन्दा पहिला त प्रत्येक पार्टी सदस्यलाई न्युनतम १ सय रुपैयाँ पार्टीको खातामा जम्मा गर्न आह्वान गरेका छौं । पछिल्लो पटक नविकरण भएका पार्टी सदस्यको संख्या ८ लाख ५५ हजार ४ सय ५३ छ । यति पार्टी सदस्यले न्युनतम १ सय रुपैयाँ मात्रै सहयोग गर्नुभयो भने यो परिणाम ठूलो हुनेछ । त्यसबाट हामीले महाधिवेशन खर्चको व्यवस्थापन गर्ने भनेका छौं । यो नेपालमा रहेका पार्टीहरुका लागि समेत उदाहरणीय अभियान हुनेछ भन्ने हामीले ठानेका छौं । यसले पारदर्शितालई पनि टेवा पुग्ने अपेक्षा गरेका छौं । हामीले यो पटक यति रकम चाहियो भनेर कसैलाई पत्र काटेका छैनौं, रसिद छापेका छैनौं । यो प्रयोग हामीले नयाँ गरिरहेका छौं ।

नेपाल कम्युनिष्ट पार्टीको ७२ वर्षको इतिहासमा पहिलो पटक विद्युतीय मतदानको व्यवस्था गर्नुभएको छ । यो कत्तिको भरपर्दो र विश्वासिलो होला भन्ने ठान्नु भएको छ ?

एमालेले अहिले आफ्नो सबै काममा प्रविधिको भरपुर प्रयोग गर्दै आएको छ । यो पनि हामीले प्रविधिको प्रयोग गर्न खोजेका हौं । प्रविधिको युगमा हामी पनि प्रविधिमैत्री बन्नुपर्छ भनेर निर्वाचनमा कागजी भोटको प्रयोगलाई निधेष गर्न चोहेका हौं । हामीले नवौं महाधिवेशनमा विद्युतीय मतदान प्रयोग गर्न चाहेका थियौं । तर, विभिन्न कारणले सम्भव भएन, यो पटक हामीले त्यो प्रयोग गर्ने अन्तिम तयारी गरेका छौं । सबै नेताज्यूहरुले यसको प्राविधिक पक्षका बारेमा प्रष्ट हुन चाहनु भएको थियो । परिक्षणपछि उहाँहरु पनि सन्तुष्ट हुनुभयो र हामी ढुक्कका साथ यसको प्रयोगका लागि तयार भयौं ।

हामी सकेसम्म सर्वसम्मत नेतृत्व चयन होस् र हुन्छ भन्नेमा छौं । यद्यपि, निर्वाचनकै प्रक्रियामा जानु पर्ने भयो भने यो प्रविधिको प्रयोग गर्ने भन्ने सम्पूर्ण तयारीमा छौं । यो प्रविधिको प्रयोगसँगै स्वच्छ निर्वाचन र परिणाम पनि छिटो प्राप्त हुनेछ । हामीले प्रविधिको प्रयोगबाट मतदानको व्यवस्थासँगै सबै प्रतिनिधिलाई तालिमको समेत व्यवस्था गरेका छौं । सबै प्रतिनिधि मतदानका लागि पूर्ण तयारी भएपछि मात्रै हामी मतदानका लागि भोटिङ मेसिनमा पठाउँछौं । यदि भोटिङ नै भयो भने करीब ८–१० घण्टामा मतदान प्रक्रिया सम्पन्न गर्ने र १२ गते साँझ नै परिणाम प्राप्त हुने हामीले आँकलन गरेका छौं । १३ गते पत्रकार सम्मेलन गरेर नयाँ नेतृत्वको घोषणासहित महाधिवेशन सम्पन्न गर्ने हाम्रो तयारी छ ।

अध्यक्ष केपी शर्मा ओलीज्यू प्रधानमन्त्री रहेकै बेला पेपरलेस क्याविनेटको थालनी गर्नुभएको थियो । अहिले निर्वाचनमा पनि विद्युतीय मतदानमार्फत् पेपरलेसको अभियान अघि बढाउनुभयो । यो सोच त्यही बेलादेखिको हो ?

एमाले नेतृत्वको सरकारका पालामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीज्यू नेतृत्वको मन्त्रिपरिषद्मा पेपरलेस अभियान चलाइएको थियो, यो सत्य हो । तर, जहाँसम्म महाधिवेशनमा ई–भोटिङको कुरा छ, मैले अघि पनि भने हामीले नवौं महाधिवेशनमै यसको प्रयोग गर्न चाहेका थियौं । पछि कमरेड केपी शर्मा ओली एमाले संसदीय दलको नेता निर्वाचित हुँदा हामीले ई–भोटिङको प्रयोग गरेका थियौं । संभवतः हामी नै पहिलो पार्टी हौं, ई–भोटिङ गर्ने ।

सर्वसम्मत नेतृत्व छनोटको सम्भवना कत्तिको छ ?
वडा, पालिका तहका अधिकांश अधिवेशनमा उच्चसहमतिका साथ सर्वसम्मत नेतृत्व छनौट भएको छ । नेकपा एमाले धेरै ठाउँमा हण्डर–ठक्कर खाएर आएको पार्टी हो । त्यसैले अहिलेको महाधिवेशनमा नेकपा एमाले धुलो टकटक्याउँदै पुनर्रोदयको तहमा रहेकाले विगतमा प्यानल बनाएर चुनाव लडेको पीडा एमाले पङ्तिलाई छ । त्यसैले सकेसम्म हाम्रो पहिलो प्राथमिकता भनेको सर्वसम्मत रुपमा नै नेतृत्व छनोट गर्नुपर्छ भन्ने हो । अन्तिममा समझदारी भएन भने सौहार्दपूर्ण वातावरणमा निर्वाचनको प्रक्रिया अघि बढ्छ ।