रामेछाप, २० असार । रामेछापको लिखु तामाकोसी गाउँपालिका–७, तिल्पुङ निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेलाई गाउँपालिकाले पर्वतारोहण सामग्री हस्तान्तरण गरेको छ ।
विश्वका सातै महादेशका सर्वोच्च हिमशिखरहरू आरोहण गर्ने लक्ष्यसहित अघि बढिरहेका पाण्डेलाई गाउँपालिकाले प्रोत्साहन स्वरूप ती सामग्री प्रदान गरेको हो ।
गाउँपालिका कार्यालय भवन, धोबीबजारमा आयोजित विशेष समारोहबिच पालिका अध्यक्ष केशव महतले पर्वतारोही पाण्डेलाई आवश्यक पर्वतारोहण सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा पालिकाका अन्य जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत रामसिंह डडाललगायतको उपस्थिति थियो ।
पालिका अध्यक्ष महतले यस्तो साहसिक अभियानमा संलग्न पाण्डेले गाउँपालिका मात्र होइन, देशकै नाम उच्च बनाइरहेको बताउँदै पालिकाले गर्व गरेको बताउनुभयाे। उहाँले भन्नुभयो, ‘हाम्रो पालिकामा जन्मिएका, हुर्किएका युवाले विश्वभर नेपालको झण्डा फहराउने काम गरिरहनु भएको छ, उहाँलाई साथ दिन पाउनु हामी सबैका लागि सौभाग्यको कुरा हो ।’
पर्वतारोही पाण्डेले कार्यक्रममा पालिकाबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै आगामी आरोहणहरूमा पनि पालिकाको प्रतिनिधित्व गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले दक्षिण अमेरिकी महादेशको सर्वोच्च शिखर ‘अकोंकागुवा’ मा पुर्याइएको रामेछापको नक्सा अंकित ब्यानर पनि सोही अवसरमा गाउँपालिकालाई हस्तान्तरण गर्नुभयो । ब्यानर हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, ‘स्थानीय सरकारको यस्तो साथले हौसला थपिएको छ, अब हरेक चुचुरोमा पालिकाको झल्को हुने छ ।’
पाण्डेले ‘सेभेन समिट’ अभियान अन्तर्गत यसअघि एशियाको सगरमाथा, अफ्रिकाको किलिमञ्जारो, युरोपको माउन्ट एल्ब्रुस र दक्षिण अमेरिकाको अकोंकागुवा शिखर सफलतापूर्वक आरोहण गरिसक्नुभएको छ । नेपालमै ‘किलर माउन्टेन’ को उपनामले चिनिने मनास्लु हिमालको पनि उहाँले सफल आरोहण गर्नुभएको थियो ।
अब आउने महिना उहाँ ओसिनिया क्षेत्रमा पर्ने इण्डोनेसियाको ‘कार्स्टेन्ज पिरामिड’ आरोहणका लागि प्रस्थान गर्न लाग्नु भएको छ । अभियान पूरा भएपछि उहाँले उत्तर अमेरिका, अष्ट्रेलिया र अन्टार्कटिकाका शिखर आरोहण गर्न बाँकी रहनेछ ।
गाउँपालिका अध्यक्ष महतले पाण्डेजस्ता प्रतिभावान् युवाहरूलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अन्य स्थानीय तहहरूले पनि यस्ता अभियानप्रति चासो दिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘यस्ता अभियानहरूमा हाम्रो सानो सहयोगले ठूलो परिणाम दिन सक्छ, जुन देश र विश्वले देखिरहेको छ ।’
प्रमुख प्रशासकीय अधिकृत डडालले पालिकाले आगामी दिनमा युवा, पर्यटन र खेलकुद प्रवर्द्धनमा विशेष कार्यक्रम अघि बढाउने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्