जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार १०:०४

एमाले केन्द्रीय सदस्यमा केबी उप्रेतीको दावी, सहकारी क्षेत्रको साझा उम्मेदवार


काठमाडौं, ७ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै नेताहरुले विभिन्न पदहरुमा आफ्नो उम्मेदवारी दावी गरि रहेको छन् । केन्द्रीय सदस्यका उम्मेदवारमा झन नयाँ अनुहारको बाहुल्य बढ्न थालेको छ ।

६३ लाख भन्दा बढी सहकारीका सदस्यहरुको नेतृत्व गर्ने राष्ट्रिय सहकारी वैंकका अध्यक्ष समेत रहेका पूराना नेता केबी उप्रेतीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एमालेको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सचिव समेत रहनुभएका उप्रेतीले सहकारी क्षेत्रका समस्याको समाधानका लागि नीतिगत तहमै रहनुपर्ने भन्दै केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने बताउनुभयो । उप्रेती खुला तर्फको केन्द्रीय सदस्यको उम्मेदवार बन्ने हुनुभएको हो ।

दुई सय जनाभन्दा बढी सहकारीकर्मी नै महाधिवेशन प्रतिनिधि भएकाले आफूले खुलातर्फ केन्द्रीय सदस्य बन्न चाहेको उप्रेतीले बताउनुभयो । एमालेको राजनीतिमा लामो समय बिताएका उप्रेती पछिल्लो समय सहकारी अभियानमा संलग्न रहेकाले पार्टीको सक्रिय राजनीतिमा देखिनुभएको थिएन । एमालेले लिएको समृद्ध नेपाल,सुखी नेपालीको नारा सफल बनाउन सहकारीमार्फत समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नपर्ने भएकाले केन्द्रीय कमिटी सदस्यका रुपमा नीतिगत व्यवस्था गर्न सकिने भएकाले आफू उम्मेदवार बनेको उहाँले बताउनुभयो । उप्रेतीले भन्नुभयो–आज प्रत्येक घरमा पुगेको कुनै संरचना छ भने त्यो सहकारी नै हो । देशभरबाट २ सय भन्दा बढी एमालेका महाधिवेशन प्रतिनिधि सहकारी क्षेत्रकै आउनुभएको छ । त्यसैले सबैको साझा उम्मेदवारका रुपमा म अघि बढेको हुँ । पार्टी नेतृत्वको पनि मलाई साथ सहयोग हुनेछ ।

यस्तो उप्रेतीको जीवनी

दोलखाको नाम्दुमा २०१७ साल असार १० गते जन्मिनुभएका के. बी. उप्रेती (कृष्णबहादुर उप्रेती) २०३५र०३६ बाट विद्यार्थी आन्दोलनमा होमिएर राजनीतिमा लाग्नुभएको हो। २०४५ सालमा पिपुल्स क्याम्पसमा अनेरास्ववियूको तर्फबाट स्ववियू सभापति बनेका उप्रेतीले जनआन्दोलन र त्यसपछिको आम निर्वाचनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । अनेरास्ववियूका तत्कालीन अध्यक्ष शंकर पोखरेलको नेतृत्वमा निजी क्याम्पस स्ववियू काउन्सिललाई स्ववियू काउन्सिलमा एकीकरण गराएपछि शंकर पोखरेलको अध्यक्षतामा रहेको स्ववियू काउन्सिलको कोषाध्यक्ष भएर उप्रेतीले काम गर्नुभएको छ ।

२०४७ मा एमालेको संगठित सदस्य बन्नुभएका उप्रेतीले पार्टीको शाखा कमिटी सचिव, इलाका कमिटि सचिव हुदै काठमाडौ विशेष जिल्ला कमिटिको सदस्य र सचिव भएर जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँले तत्कालीन काठमाडौं क्षेत्र नम्बर ५ लाई कार्यक्षेत्र बनाउनुभएको थियो । केन्द्रीय सम्पर्क विभागको सदस्य हुदै पछिल्लो समय एमालेको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागमा रहेका उप्रेती दुई कार्यकाल विभागको सदस्य हुँदै हाल सचिव हुनुहुन्छ । उप्रेती अहिले विभागका तर्फबाट नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो ।

सहकारीका शीर्ष नेता

उप्रेती नेपालको सहकारी अभियानका एक अग्रज, क्रियाशील र व्यवस्थापकीय क्षमता भएका अभियन्ता पनि हुन् । उप्रेती देशभरका सहकारीकर्मीहरुबीच चिरपरिचित अनुहार हुन् । २०५५ सालदेखि सहकारी अभियानमा सक्रिय उप्रेतीले काठमाडौंमा जनता बहुउद्देश्यीय सहकारी संस्था गठन गरेर काठमाडौंको सहकारी अभियानलाई एकीकृत गरेका थिए ।

एकैपटक १३ वटा सहकारी एकीकरण गरी हाल उनी हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष छन् । १३ वटा मात्र सदस्य रहेको काठमाडौं जिल्ला सहकारी संघमा २ हजार भन्दा बढी सदस्य बनाउन सफल उप्रेतीले २ कार्यकाल उक्त संघको नेतृत्व गर्नुभएको थियो । सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघमा दुई कार्यकाल लेखा संयोजक रहनुभएका उप्रेती हाल महासंघको कार्यकारी सदस्य हुनुहुन्छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड स्थापनामा महत्वपूर्ण योगदान गरेका उप्रेतीले केही समय स्वयंसेवकको रुपमा प्रबन्ध सञ्चालकको जिम्मेवारी लिनुभएको थियो ।

२०७५ पुसदेखि बैंकको अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्दै आएका छन् । सहकारीका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम तथा अनुभव प्राप्त गरेका उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासको लागि संजाल ९ल्भ्म्ब्ऋ० को बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । यसकारण उम्मेदवारी

उप्रेतीले संविधानको भावना अनुसार सहकारी क्षेत्रलाई अर्थतन्त्रको मुख्य आधार स्तम्भ बनाउन पहल गर्ने र राजनीति र सहकारी क्षेत्रबीच देखिएको अन्यौलतालाई चिर्नका लागि आफू पार्टीको कार्यकारी तहमा जान खोजेको बताउनुभएको छ । उहाँले पार्टीका कार्यकर्ताहरुलाई आयआर्जनका लागि शीप र दक्षता अभिवृद्धि गर्न तथा जनताको बहुदलीय जनवाद र सहकारीका सिद्धान्तहरुबीच सामञ्जस्यता ल्याउन आफूले पहल गर्ने बताउनुभयो । नेपालको संबिधान मार्फत भएको राज्य पुनरसंरचनामा स्थानीय अर्थतन्त्रमा सहकारीको प्रयोग गरी समुन्नत समाज निर्माण गर्ने जबज मार्गनिर्देशनलाई कार्यन्वयन गर्न आवश्यक रहेको उहाँले बताउनुभएको छ ।