काठमाडौं, बैशाख २९ । अमेरिका र चीनले एक अर्कामाथि लगाएको उच्च भन्सार दर ९० दिनका लागि घटाउने निर्णय गरेका छन । स्वीट्जरल्याण्डको जेनेभामा दुई दिनसम्म चलेको वार्तामा यस्तो सहमति भएको हो ।
दुई देशबीच शनिबार र आइतबार ब्यापार बार्ता भएको थियो । सो बार्ताबाट दुवै देशले एक अर्कालाई लगाएको भन्सार दरमा ११५ प्रतिशत घटाउने सहमति भएको हो । सोमबारको वार्तापछि संयुक्त वक्तव्य जारी गरी यस्तो जानकारी दिइएको छ । वक्तव्यमा उल्लेख भएअनुसार हाल दुवै देशले एक अर्कामाथि लगाएको उच्च भन्सार ९० दिनसम्मका लागि रोक्ने निर्णय भएको छ ।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएअनुसार बार्तामा अमेरिकाले चीनमाथि लगाएको १४५ प्रतिशत घटाएर ३० प्रतिशतमा झार्ने र चीनले अमेरिकामाथि लगाएको १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्ने सहमति भएको छ । वार्तामा सहभागी प्रतिनिधिहरूले आइतबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उल्लेख्य उपलब्धी भएको बताएका थिए । उनीहरूले त्यसले विश्वका लागि खुशीको खबर दिने बताएका थिए । जेनेभा बैठकले व्यापार संवाद संयन्त्र गठन गर्ने निर्णय पनि गरेको थियो ।
सहमतिअनुसार ९० दिनसम्म अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत भन्सार दर कायम हुने र यसबीचमा त्यस संयन्त्रले थप छलफल गर्ने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिल २ तारिक सबै देशलाई १० प्रतिशत भन्सार महसुल र प्रतिस्पर्धीहरूलाई उच्च ’रेसिप्रोकल’ (पारस्परिक) महसुल लगाउने घोषणा गर्नुभएको थियो । ट्रम्पले आठ वटा देशलाई ४० प्रतिशतभन्दा बढी भन्सार लगाउने घोषणा गरी मुख्य प्रतिस्पर्धी चीनलाई ३४ प्रतिशत र भारतलाई २७ प्रतिशत भन्सार तोक्नुभएको थियो । अमेरिकासँग घनिष्ठ सम्बन्ध भएको युरोपियन युनियनलाई पनि २० प्रतिशत भन्सार लगाइएको थियो ।
ट्रम्पले ७० वटाभन्दा बढी देशलाई लगाएको पारस्परिक भन्सार ९० दिनका लागि रोक्नुभएको थियो । ती देशले अमेरिकी कर नीतिको विरोध नजनाएको, जबाफी भन्सार नलगाएको र छलफलका लागि तयार रहेको भन्दै जुलाईको पहिलो सातासम्म रोक्नुभएको हो । त्यतिन्जेलका लागि उहाँले सबै देशलाई विश्वव्यापी १० प्रतिशत भन्सार दर मात्रै लगाउनु भएको छ । उहाँले चीनलाई लगाएको भन्सार दर भने नरोकेर बारम्बार बढाउनु भएको थियो ।
पटक पटक अमेरिका र चीनले जवाफी कदम चालेर थप महसुल लगाएका कारण ट्रम्पको दोस्रो कार्यकालमा चिनियाँ वस्तुमा लगाएको भन्सार महसुल बढेर १४५ प्रतिशत पुगेको हो । चीनले पनि जबाफमा अमेरिकी उत्पादनमा १२५ प्रतिशत भन्सार महसुल लगाएको छ । ट्रम्पले त्यसपछि चीनबाट आयात हुने स्मार्टफोन लगायत इलेक्ट्रोनिक्स सामानमा रेसिप्रोकल भन्सार दर नलगाउने बताउनु भएको छ ।
चीनले पनि भन्सार महसुल मात्रै नबढाएर अमेरिकालाई नोक्सानी हुने खालका अनेक कदम चालेको छ । विमान निर्माता बोइङको जहाज खरिदमा रोक लगाउनेदेखि लिएर केही दुर्लभ खनिज पादर्थ बेच्नेसम्म प्रतिबन्ध लगाएको छ । एक अर्कालाई बढाएको भन्सार दर घटाएर सामान्य अवस्थामा पुग्ने भएपछि दुई देशका व्यवसायीहरू उत्साहित भएका छन ।
जेनेभा सहमतिको यही मे १४ देखि कार्यान्वयन हुने अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन ।
प्रतिक्रिया दिनुहोस्