जनता टाइम्स

२३ असार २०८२, सोमबार ०६:३१

बजेटसमेत ल्याउन नसकेका बालेनले किन भेटे पूर्वराष्ट्रपति भण्डारीलाई ?


काठमाडौं, २३ असार ।  आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटसमेत ल्याउन नसकेको अवस्थामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको  छ । गत बिहीबार पूर्वराष्ट्रपति भण्डारीकै निवास बूढानीलकण्ठको भंगालमा पुगेर बालेन्द्रले करिब आधा घण्टासम्म संवाद गर्नुभएको हो । उक्त भेटघाटको पुष्टि मेयर बालेन्द्रका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंले गर्नुभएको हो । ‘मेयर सा’वलाई पूर्वराष्ट्रपतिज्यूबाट बोलावट भएपछि जानु भएको हो’, उहाँले भन्नुभयो , ‘उहाँहरूबीच पहिलेबाटै राम्रो सम्बन्ध थियो । पुरानै चिनजान पनि भएकाले पूर्वराष्ट्रपतिज्यूले चासो राखेर मेयर सा’वलाई बोलाउनु भएको हो ।’विगत एक वर्षदेखि एमाले लगाएत एमालेका शिर्षनेताहरु विरुद्ध सामाजिक संजालमा अराजकता मच्चाउने बालेन्द्रले पूर्वराष्ट्रपति भण्डारीसँग भेटेर अड्किएको बजेट, पछिल्लो राजनीतिक परिस्थितिसहितका विषयमा कुराकानी गरेको खुलेको छ ।

बालेनलाई भंगाल पुर्‍याउने काम भने काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका सांसद एवम् पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गरेको खुलेको छ। नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईसमेत भंगालमा पूर्वराष्ट्रपतिसँग छलफलमा रहेका बेला बालेनलाई लिएर कृष्णगोपाल पुग्नुभएको थियो । यद्यपि पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले भने उक्त भेटघाटबारे औपचारिक रुपमा पुष्टि गर्न चाहनु भएन । उहाँले उक्त भेटघाटबारे आफू बेखबर रहेको जानकारी दिनुभयो । ‘पूर्वराष्ट्रपतिज्यूसँगका भेटघाट एकद्वार प्रणालीबाट मात्रै हुँदैनन् । विभिन्न माध्यमबाट भेटघाट भइरहने भएका हुनाले मेयर बालेन भंगाल आउनु भएकोबारेमा मलाई थाहा हुन सकेन’, उहाँले भन्नुभयो ।तर, पूर्वराष्ट्रपतिनिकट अर्को श्रोतले भने बालेनसँग भेटघाट भएको पुष्टि गरेको छ। स्रोतले उक्त भेटघाटका क्रममा बालेनले पूर्वराष्ट्रपतिलाई सरकारी सेवा सुविधा त्यागेकोमा बधाई दिँदै खुसी व्यक्त गरेको दाबी गरेको छ । यसका साथै बालेन अड्किएको बजेटबारे पनि गुनासो राखेको स्रोतले जनाएको छ ।

उहाँले संघीय सरकारको असहयोगले बजेट ल्याउन नसकेको गुनासो राख्दै यसमा सहजीकरणको अपेक्षा पनि भण्डारीसँग गर्नुभएको थियो । उहाँले वर्तमान प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई फिर्ता पठाएर भए पनि बजेट ल्याउनेबारे सहजीकरणको अपेक्षा भेटमा गर्नुभएको बताइएको छ । भण्डारीले गत असार १४ गते एमालेको राजनीतिमा जोडिएको घोषणा गर्नूभएको थियो । स्वर्गीय मदन भण्डारीको ७४ औँ जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो । उहाँले एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यसहित आफूले पार्टी सदस्यता नवीकरण गरेको बताउनुभएको थियो ।