जनता टाइम्स

१४ असार २०७६, शनिबार ११:३७

नेपालको परराष्ट्र नीति एउटै बनाउनुपर्छ – प्रधानमन्त्री ओली


काठमाडौं, असार १४

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको परराष्ट्र नीति एउटै बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाले भिन्ना भिन्नै भन्दा पनि सधैभरी परराष्ट्र नीति एउटै हुनुपर्नेमा जोड दिनु भएको हो ।

पराराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद कार्यक्रमको आज राजधानीमा उद्घाटन गर्दै उहाले बाह्य सम्बन्ध बिस्तारमा सरकारले एकलौटी ढंगले काम नगर्ने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले अहिले मुलुकका राजनीतिक दलहरुको परराष्ट्र नीति भिन्न रहेको संकेत गर्दै समान नीति बनाउन आवश्यक रहेको तर्क गर्नुभयो । ‘पराराष्ट्र नीतिबारे सरकारले एकलौटी काम गर्दैन, त्यसका लागि मुलुकका ठूला राजनीतिक दलहरु एकै ठाउँमा रहनुपर्ने हुन्छ’ उहाले भन्नुभयो, ‘छिमेकीसहित सबै राष्ट्रहरुलाई हेर्ने सरकारको नीति एउटै हुनुपर्छ, अहिलेको सरकार त्यसैमा चलिरहेको छ, समग्र मुलुकको साँझा चासो त्यसैमा छ, दलहरुको समान अवधारणा आवश्यक छ, परराष्ट्र नीति एउटै हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले अहिले मुलुकले अनुदान र ऋण भन्दा पनि लगानी खोजिरहेको स्पष्ट पार्नुभयो । ‘नेपालको अहिलेको आवश्यकता लगानी हो, अनुदान र ऋण होइन त्यसैले सरकारले विदेशी लगानीकर्ताहरुलाई स्वागतका लागि कसरत गरिरहेको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो प्राथमिकतामा लगानी छ, त्यही अनुरुपको परराष्ट्र नीति हो ।’ उहाले छिमेकीसहित सबै राष्ट्रहरुसँग सरकारले समान व्यवहार गर्ने समेत स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले दुवै देशका साच्चिकै प्रबुद्ध समूहले बनाएको प्रतिवेदनमा दुईदेशीय समस्या, चासो, सरोकार सबै विषयहरु समेटिएकाले यसलाई जतिसक्दो चाँडो कार्यान्वयन गर्न आफू लागि पर्ने बताउनु भयो । ‘कुनै पनि प्रकारका अतिरिक्त कुटनीतिक गतिविधिहरु कसैबाट नहोउन भन्ने हामी चाहन्छौं। हाम्रो स्वतन्त्रता र हाम्रो सार्वभौमतामा खेद परेको अनुभव गर्नु नपरोस्। हेपिएको अनुभव गर्नु नपरोस्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रा छिमेक र अन्तराष्ट्रिय सम्बन्धहरु एकैचोटी संग्लिएका छन्। थुप्रै कुरा पुनरावलोकन भएका छन्।’

उहाले अन्तरराष्ट्रिय सम्बन्धमा राष्ट्रिय हित र न्याय दुवैलाई हेर्नुपर्ने बताउँदै न्यायलाई बिर्सिएर अन्धो राष्ट्रिय हितका पक्षमा जान नहुने टिप्पणी गर्नुभयो । संवाद कार्यक्रममा राजनीतिक–कुटनीति, आर्थिक–कुटनीति, क्षेत्रिय तथा बहुपक्षीय मामिलाका बारेमा विज्ञहरुले आफ्नो धारणा राख्दै हुनुहुन्छ ।