जनता टाइम्स

९ माघ २०७८, आईतवार १४:१०

किन चुनावसंग तर्संदैछन् माधव-प्रचण्ड ?


एमाले चोइट्याएर प्रचण्डकै पिछलग्गु हुन पुगेका माधव नेपालको सङ्‌कट प्रचण्डको भन्दा चर्को छ । एमाले ध्वस्त बनाएर आफ्नो गुट ठुलो बनाउने सपना बोकेका माधव नेपाल आफ्नो गुट बलियो बन्न नसकेको  र एमाले झन शक्तिशाली बन्दै गएको देखेर हैरान छन् । एमालेको चुनाव चिन्हबाट विगतको निर्वाचन जितेका केही मानिस बोकेर एमालेबाट बाहिरिएका नेपाल अब आउने कुनै चुनावमा कहींकतै चुनाव नजित्ने मात्र होइन, राष्ट्रव्यापी जमानत जफत हुने भयले उनी आक्रान्त छन् । त्यही कारण अलिअलि निर्वाचन, संविधान र लोकतन्त्रको पक्षमा रहेको नेपाली काङ्‌ग्रेस र यसका सभापति एवं प्रधानमन्त्रीलाई भड्काएर संविधानतः हुनुपर्ने स्थानीय तहको निर्वाचन पर सारेर उत्पन्न हुने अस्थीरतामा खेल्न चाहन्छन

 निर्मल भट्टराई

नेकपाबाट छुट्टिएपछि आफ्नो पुरानो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चलाउन थालेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ के पी ओली नेतृत्वको कम्युनिष्ट सरकार ढाल्ने वेलामा खुब लोकतन्त्र र अग्रगमनको डिङ हाक्थे । संविधान र कानुन बचाउन देउबाको नेतृत्वको गठबन्धन सरकार बनाउनु परेको तर्क गर्थे । तर जब संविधानअनुसार स्थानीय तहको निर्वाचन नजिकियो, उनको हंसले ठाउँ छोड्यो । कथंकदाचित् माओवादी केन्द्रले एक्लै चुनाव लड्नु पर्‍यो भने सबैतिर पत्तासाफ हुने देखेपछि  उनी तिलमिलाए । सकेसम्म नेपाली काङ्‌ग्रेसको वैशाकीमा चुनावमा जाने र त्यो वातावरण नमिल्दासम्म संविधान र कानुन मिचेरै भए पनि चुनाव सार्दै जाने, स्थानीय तहमा शुन्यता सिर्जना गरेर भद्रगोल बनाउन उद्दत छन्  माओवादी सुप्रिमो प्रचण्ड ।

‘भद्रगोलमा गोल गर्ने’ घोषित नीति बोक्ने प्रचण्डले संविधानमा र कानुनमा कहीं प्रावधान नभएको ‘तीनैतहको निर्वाचन एकैपटक गर्ने’ निर्णय आफ्नो पार्टीमा गराएका छन् । तीनै तहको निर्वाचन एकैपटक गर्न संविधान संशोधन गर्नु पर्ने र सोको लागि सत्तारूढ दलसंग दुईतिहाइ मत संसदमा हुनुपर्ने हुन्छ । गठबन्धनसंग झिनो बहुमतमात्र भएकोले संविधान त के निर्वाचनसम्बन्धी कानुन पनि संशोधन हुनसक्ने आवस्था छैन ।

संविधानले स्थानीय तहलाई एक दिन पनि खाली रहने परिकल्पना गरेको छैन । कानुनले सो अवस्थालाई अझ सुनिस्तित गर्न स्थानीय तहका पदाधिकारीको कार्यकाल समाप्त हुनु दुई महिना अगावै स्थानीय निर्वाचन सम्पन्न गर्ने प्रबन्ध गरेको छ । संविधान र कानुनलाई आफ्नो खल्तिको कागज ठान्ने प्रचण्ड भने स्थानीय तहलाई छ सात महिना खाली गराएर आगामी कार्तिक मङ्‌सिरमा तीनै तहको चुनाव गराउने उरन्ठ्यौलो तर्क गर्दैछन् । सशस्त्र बलबाट गाउँबाट सहर घेर्ने माओवादी नीति अझै छोड्न नसकेका उनी आफूलाई नेपालको गणतन्त्र, सङ्‌घीयता, लोकतन्त्र र संविधानको ‘पिता’ भएको हावादारी प्रचार गराउन समेत चुक्दैनन् । अहिले आफ्नो जमिन एमालेले बढारिदिएकोले आगामी चुनावहरूमा आफ्नो परिवार र आफू निकटका केही मानिसको राजनीतिको रोटी नसेकिने हो कि भन्ने उनको सबभन्दा ठूलो चिन्ता हो ।

सबैलाई थाहा भएकै विषय हो, प्रचण्ड देश, लोकतन्त्र वा संविधान भाँडमा गए जावोस्  आफू र आफ्नो गुटलाई फाइदा होवोस् भनेर सोच्ने र सोहीबमोजिम तानावाना बुन्ने नेता हुन् । आफ्नो हात माथि पर्ने देखे भने दक्षिणपन्थी भासमा पनि जाकिन तयार हुने र देशीविदेशी प्रतिक्रियावादी शक्तिसंग हात मिलाउन पनि पछि नपर्ने उनको चरित्र विगतमा पटक-पटक उदाङ्‌ग भएको छ । तर जसो गर्दा पनि सफलता हात नलागेकोमा भने उनी विक्षुब्ध छन् । यही कारण हो, कार्तिक मङ्‌सिरमा तीनै तहको चुनाव भयो भने कुनै न कुनै तहमा आफ्नो स्पेस सुरक्षित बनाउन उनले यो तहको मरिहत्ते गरिरहेका छन् ।

एमाले चोइट्याएर प्रचण्डकै पिछलग्गु हुन पुगेका माधव नेपालको सङ्‌कट प्रचण्डको भन्दा चर्को छ । एमाले ध्वस्त बनाएर आफ्नो गुट ठुलो बनाउने सपना बोकेका माधव नेपाल आफ्नो गुट बलियो बन्न नसकेको  र एमाले झन शक्तिशाली बन्दै गएको देखेर हैरान छन् । एमालेको चुनाव चिन्हबाट विगतको निर्वाचन जितेका केही मानिस बोकेर एमालेबाट बाहिरिएका नेपाल अब आउने कुनै चुनावमा कहींकतै चुनाव नजित्ने मात्र होइन, राष्ट्रव्यापी जमानत जफत हुने भयले उनी आक्रान्त छन् । त्यही कारण अलिअलि निर्वाचन, संविधान र लोकतन्त्रको पक्षमा रहेको नेपाली काङ्‌ग्रेस र यसका सभापति एवं प्रधानमन्त्रीलाई भड्काएर संविधानतः हुनुपर्ने स्थानीय तहको निर्वाचन पर सारेर उत्पन्न हुने अस्थीरतामा खेल्न चाहन्छन् । माओवादी सुप्रिमो प्रचण्डसंगको मिलिभगतमा स्थानीय तहको चुनाव भाँड्ने षडयन्त्रमा तल्लिन छन् ।

जति षडयन्त्र र तानावाना बुने पनि माधव र प्रचण्ड चुनावबाट भाग्न सक्दैनन् । प्रचण्ड माधवले जति घुमाउन खोजे पनि नेपाली काङ्ग्रेस चुनावबाट भाग्न सक्दैन । बरु उसको एकमात्र ध्याउन्न कम्युनिष्टहरूलाई मिल्न नदिनु र प्रचण्ड र माधवजस्ता ‘कम्युनिष्ट’ नेतालाई शिखण्डी बनाएर एमालेसंग चुनाव लड्नु हो । विगतका अधिकांश चुनावजस्तै आगामी स्थानीय, प्रदेश वा संसदीय चुनावमा एमाले र नेपाली काङ्‌ग्रसबीच नै महाभारत हुनेछ । र, प्रचण्ड र माधवको भूमिका र हैसियत केवल शिखण्डीको जस्तोमात्र हुनेछ ।