जनता टाइम्स

२१ असार २०७६, शनिबार १२:३२

भारतीय तरकारीमा भेटियो ८३ प्रतिशतसम्म विषादी, हेर्नाेस प्रमाण


तथ्यांकअनुसार भारतबाट आउने तरकारीमा ८० प्रतिशतसम्म विषादी भएको पाइएको थियो । जब कि कुनै तरकारी वा फलफूलमा ३५ प्रतिशतभन्दा कम विषादीको मात्र देखिएमा उपभोग गर्न योग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म भएमा केही दिन राखेर प्रयोग गर्न सकिने र ४५ प्रतिशतभन्द बढी भएमा नष्ट गर्नुपर्छ

काठमाडौं, असार २१

भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु गरेर वाहवाही पाएको सरकार स्थगनपछि निकै आलोचित बनेको छ । सरकारको निर्णयलाई वाहावाही गरेका नागरिकले फिर्तासँगै जनताको स्वास्थ्यमाथि खेलवाड गरी भारतसामु झुकेको भन्दै आपत्ति जनाएका हुन ।

सरकारले भन्सार बिन्दुमै बिषदी परीक्षणको निर्णयअघि आवश्यक उपकरण छ कि छैन भन्ने तथ्यलाई बेवास्ता गर्दा जनताले निकै मन पराएको निर्णयबाट पछि हटनु परेको छ । भन्सार नाकाबाट काठमाडौंमै परीक्षणका लागि ल्याउनु पर्ने र त्यसो गर्दा कम्तीमा तीन दिनको समय लाग्ने गरेपछि सवै तरकारी कुहिएर नष्ट गर्नुपर्ने बाध्यता आइलागेपछि सरकार निर्णयबाट पछि हटनु परेको हो ।

‘भन्सारमा बिषादी परीक्षणको निर्णय सही हो, तर कार्यान्वयनका लागि आवश्यक कुनै पुर्वाधार छैन, त्यही भएर केही समयका लागि स्थगन भएको हो,’ कृषि मन्त्रालयका एक अधिकृत भन्छन । सरकारी दवाी जे भएपनि नागरिक भने यो बिषयमा आक्रोशित नै छन । बिना तयारी हचुवाको भरमा जनता भडकाउने निर्णयका रुपमा यसलाई लिनुपर्ने सत्तारुढ दलकै नेता कार्यकर्ता बताउँछन । बजारमा आउने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेभसाइटमा राखिएको परिणामले सवैको मुटु घोचिरहेको छ ।

साढे दुई वर्षदेखि समितिको वेभसाइड अपडेट छैन । तर राखिएको तथ्इले भने सवैलाई झस्काएको छ । दुई बर्षअघि समितिले काठमाडौंका विभिन्न ठाउँसहित कालीमाटी बजारमा पनि विषादी परीक्षण सुरु गरिएको थियो । सो दिन सार्वजनिक गरिएको ४ दिनको विषादी परीक्षण नमुनाको नतिजा निकै डरलाग्दो छ । वेभसाइटमा उपलब्ध तथ्यांकअनुसार भारतबाट आउने तरकारीमा ८० प्रतिशतसम्म विषादी भएको पाइएको थियो । साढे दुई वर्षअघिको तथ्यांक यस्तो डर लाग्दो छ भने यसले के स्पष्ट पार्छ भने अहिले पनि भारतीय फलफूल तथा तरकारीमा विषादी उच्च छ ।

२०७३ माघ ५ भारतबाट आउने गोलभेडाको एक नमुना परीक्षणको नतिजाअनुसार ८३.१८ प्रतिशत विषादी भेटिएको छ । जब कि कुनै फलफूल तथा तरकारीमा यस्तो मात्रा ४५ प्रतिशतभन्दा धेरै भएमा खान अयोग्य हुन्छ र यसलाई बिसर्जन गर्नुपर्ने कालीमाटी बजारकै सूचनामा उल्लेख छ। उक्त गोलभेडा इस्राद भन्ने व्यवसायीले भारटबाट ल्याएका थिए । उनैले सोही दिन ल्याएको गोलभेडा कै अर्को नमुनामा ७९.२० प्रतिशत विषादीको मात्रा भेटिएको थियो।

त्यस्तै, सोही महिनाको ६ गते नारायण श्रेष्ठ भन्ने व्यसायीले भारतबाट ल्याएको गोलभेडामा ६५.८१ प्रतिशतसम्म विषादीको मात्रा भेटिएको थियो । मुलुकभित्रकै काउली, गोेलभेडामा पनि विषादीको मात्रा अत्याधिक भएको देखिन्छ । बारा, चितवन र पर्साबाट आएको तरकारीमा उक्त मात्रा धेरै देखिएको थियो । उक्त साल माघ ७ गते चितवनबाट राम कुमार कँडेलले ल्याएको काउलीमा ७२ प्रतिशत विषादी भेटिएको थियो ।

पर्साबाट आएको काउलीमा पनि झन्डै ५३ प्रतिशत विषादी देखिएको कालीमाटी बजारको तथ्यांकमा उल्लेख छ । कुनै पनि तरकारी वा फलफूलमा ३५ प्रतिशतभन्दा कम विषादीको मात्र देखिएमा उपभोग गर्न योग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म भएमा केही दिन राखेर प्रयोग गर्न सकिने र ४५ प्रतिशतभन्द बढी भएमा नष्ट गर्नुपर्छ । पछिल्लो समय बिषदी परीक्षणको कामसँगै उपभोक्ता निकै सतर्क भएका छन । सरकारले यथाशिघ्र आवश्यक पूर्वाधार तयार पारी भन्सार बिन्दुमै बिषादी परीक्षणको ब्यवस्था गर्नुपर्ने देखिन्छ ।