जनता टाइम्स

२४ असार २०७६, मंगलवार ०८:३१

भू-माफियाको चंगुल : काठमाडौंका चार पोखरी नै पारे गायब


काठमाडौं, असार २४

कमलपोखरीको मिचिएको जग्गालाई पोखरीमा कायम गराउने कार्य ३२ वर्षदेखि अल्झिएको छ । तत्कालीन राजा वीरेन्द्रबाट २०४३ असोज १६ गते प्रमुख सचिव रञ्जनराज खनाललाई कमलपोखरीको मिचिएको जग्गा तीन महिनसम्म पोखरीको कायम गर्न गराउन हुकुम भएको थियो । तीन महिना त के तीन दशकपछि पनि पोखरी अझै मिचिएकै अवस्थामा छ । यति नै बेला काठमाडौंमा हराएका अन्य चार पोखरी खोज्न पनि तत्कालीन राजा वीरेन्द्रले सचिव खनाललाई हुकुम गरेका थिए । यी पोखरी पनि पत्तो लागेको छैन ।

कुल ४८ रोपनी पोखरीको जग्गामा पोखरीको उत्तर डिलतर्फ मणिराज गुरुङ, हरिनारायाण मानन्धर, सीता तामाङ, कमल प्रावि, कृष्णमाया कार्की, चेतलाल श्रेष्ठ, शान्तादेवी शर्मा, पदमकुमारी गुरुङ र किशोरजङ्ग थापाको जग्गामा पोखरीको केही जग्गा घुसेको प्रतिवेदन त्यस समय तयार भएको गुठी संस्थानका अधिकारी बताउँछन् । हनुमानढोका दरबारमा रहेको कडेल्चोक भगवतीलाई जल र फूल चढाउन बनाइएको यो पोखरीपछि राजा प्रतापसिंह शाहले कमलको बीउ रोपेपछि ‘कमल पोखरी’ नामले चिनिएको थियो । नक्साल नन्दीकेश्वरमा उनैले कमलको फूल चढाउने व्यवस्था गरेको इतिहास वि.सं. १८३३ को लालमोहरमा उल्लेख छ ।

कमलपोखरीको जग्गासहित काठमाडौँमा हराइरहेका कडेल्चोक भगवतीकै चार अन्य पोखरी खोजतलास गर्न पनि राजा वीरेन्द्रले सचिव खनाललाई त्यतिबेला हुकुम दिएका थिए । काठमाडौँको इखा पोखरी, मिल्तु पोखरी, सिनुवाल पोखरी र केटाहिटी यी पोखरी पनि हालसम्म पत्ता लागिसकेको छैन । लालमोहर अनुसार यी पोखरी पनि कडेल्चोक भगवतीको हो ।

तत्कालीन श्री ५ वीरेन्द्रको प्रमुख सचिवालयको हुकुम बमोजिम हराइरहेको यी मिल्तु पोखरी, सिनुवाल पोखरी, केटाहिटी मनिको पोखरी र इखा पोखरी पत्ता लगाई संरक्षणसमेत गर्न र ककसको नाममा यी पोखरी परे, ककसले मिचेका हुन् ? ‘पोखरी मिच्न सघाउने कर्मचारी अवकाश पाएको भए पनि कारबाही गर्नू र पोखरी साविकअनुसार राख्नू’ भन्ने पत्र तत्कालीन सरकारका मुख्य सचिव कर्णध्वज अधिकारीमार्फत सरकारका विभिन्न निकायमा आदेशपत्र प्रेषित भएको थियो ।

वि.सं. १८३३ र १९३० को लालमोहरअनुसार यी चार पोखरी लालमोहरमा मात्र सीमित छ । इखा पोखरी भने हाल कन्या मन्दिर विद्यालयको परिसरमा खेलमैदानका रूपमा रहेको अधिकारीहरूको भनाइ छ । केटाहिटी पोखरी भने ठहिटी क्वावहाल बीचतर्फ रहेको अभिलेखबाट देखिन्छ तर पोखरी फेलापर्न सकेको छैन ।

गुठी संस्थानका उपप्रशासक एवं प्रवक्ता सरोज थपलियाका अनुसार, कमलपोखरीको कुल ४८ रोपनीमध्ये २००१ सालमा पोखरी नाप्दा पानीको भाग ४२ रोपनी चार आना दुईपैसा रहेको अभिलेख छ । पश्चिम डिल पर्ती १५ आना दुई पैसा, उत्तरी डिल पर्ती दुई रोपनी तीन आना पूर्वदक्षिण डिल दुई रोपनी दुई आना र पश्चिम दक्षिण डिल सात आना जग्गा पर्ती भन्ने जनिएको थियो ।

कमलपोखरीलाई काठमाडौँ महानगरपालिकाले सुधार गर्ने गरी महानगर प्रमुख विद्यासुन्दर शाक्यले सुधारको शुभारम्भ गर्नुभएको छ । तीन करोड रुपियाँको लागतमा दुई वर्षमा काम सम्पन्न गर्ने लक्ष्यका साथ यहाँ काम सुरु भएको छ । ‘बाघको छालामा स्यालको रजाइँ भयो’ संस्थानको यो पोखरीमा भइरहेको सुधार कार्यबारे कुनै निकायले संस्थानसँग परामर्श वा अनुमति लिएका छैनन्, संस्थानका प्रवक्ता थपलिया भन्नुहुन्छ ।

कमलपोखरी मिच्नेले २०३८ साल मङ्सिर २ मा मालपोत कार्यालयबाट दर्ता गरी लिएको अभिलेख मालपोतबाट उसैबेला पाइएको संस्थानले जनाएको छ तर व्यक्तिले आफ्नो जग्गामा घुसाएको पोखरीको जग्गा छुट्याउने कार्य पनि अहिलेसम्म भएको छैन ।

वि.सं. २००१ को पोखरी नापअनुसार पानीले ओगटेको ४२ रोपनी चार आना दुई पैसाबाहेक अन्य चारैतर्फका भाग मिचिएका छन् । संस्थानका पूर्वसहप्रशासक दीपकबहादुर पाण्डे भन्नुहुन्छ, ‘उत्तरतर्फ त बाटो नै बनिसक्यो, यो बाटो पहिला थिएन । ’’

यी पुराना फाइल अभिलेख अध्ययन गर्ने गुठी संस्थानमा कर्मचारी नभएकाले पुराना अवकाश भएकालाई भर्ना गर्ने सञ्चालक समितिबाट हाल निर्णय भएको छ तर यो निर्णयमा पनि संस्थान असम्बद्धले नियुक्ति पाइरहेका छन् । यस्तो प्रवृत्तिले पोखरीजस्ता गुठी सम्पदाको संरक्षण कसरी होला ? पाण्डेको प्रश्न छ । (गोरखापत्र)