जनता टाइम्स

३० असार २०७६, सोमबार १७:५३

तमोर करिडोरको सकियो ६० प्रतिशत काम, असोजसम्ममा ट्रयाक खोल्ने कार्य सकाउने लक्ष्य


विपुल अधिकारी, पाँचथर । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत तमोर करिडोरको काम ६० प्रतिशत सम्पन्न भएको छ । पूर्वी पहाडलाई तराई र काठमाडौँ जोड्ने द्रुतमार्ग तमोर करिडोरको ट्रयाक खोल्ने काम असोजसम्ममा सक्ने गरी भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

रु छ अर्ब २३ करोड ४९ लाख लागतमा विस २०७४ देखि शुरु भएको यो करिडोर १४८ किलोमिटर लम्बाइ, १० मिटर चौडाइ र सात मिटर ग्राभेल रहेको मध्यपहाडी राजमार्ग योजना कार्यालय पाँचथरका योजना प्रमुख अभिमन दास मुल्मीले जानकारी दिनुभयो । यो सडक पाँचथरको गणेशचोकदेखि धनकुटाको मूलघाटसम्म ११२ किलोमिटर र मूलघाटदेखि बराहा क्षेत्र कोशी पुलसम्म ३६ किलोमिटरको छ ।

सात वटा निर्माण कम्पनी (सात वटा प्याकेजमा) मार्फत समयावधिमा ट्रयाक खोली सक्ने गरी तीव्र गतिमा निर्माणको काम भइरहेको मध्यपहाडी राजमार्ग योजना कार्यालय फिदिमका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिनुभयो । यो सडकको विसं २०७४ देखि ३० महीने समयावधि खोलिसक्ने गरी काम भइरहेको खतिवडाले जानकारी दिनुभयो ।

पहिलो प्याकेजः गणेशचोक–मुक्तुुरा खोलाखण्ड

यो प्याकेजको निर्माण कार्य रसुवा–तुँदी जेभीले गर्दै आएको छ । इञ्जिनीयर खतिवडाका अनुसार पहिलो प्याकेज गणेशचोक–मुक्तुुरा खोला खण्डको काम अन्तिम चरणमा छ । ट्रयाक खोल्न करीब ४०० मिटर छ । मेची राजमार्गको गणेशचोक उद्गमस्थल रहेको करिडोरको पहिलो प्याकेजको दूरी साढे २६ किलोमिटर छ ।

दोस्रो प्याकेजः मुक्तुरा खेला–सिवा दोभानखण्ड

१६ किलोमिटरको यो सडक खण्डको निर्माणको जिम्मेवारी श्रेष्ठ एपेक्स एण्ड थेगिम जेभीले लिएको छ । त्यस्तै सिवा खोला क्षेत्रमा भने माँझीटारदेखि ठीक माथि मध्यपहाडी लोकमार्ग क्षेत्रमा जोड्न करीब तीन किमी ट्रयाक खोल्न बाँकी छ ।

तेस्रो प्याकेज : सिवा दोभानदेखि लोरिपा खोलाखण्ड

यो प्याकेजको लामा–पिएस–बिरूवा जेभीले जिम्मा लिएर काम गरिरहेको खतिवडाको भनाइ छ । यो प्याकेजमा वन क्षेत्र भएकाले डिभिजन वन कार्यालयले झण्डै तीन महीना रोकिदिएको निर्माण कम्पनीले जनाएको छ । कटान आदेशसमेत नलिइकन सामुदायिक वन क्षेत्रमा सडक निर्माणको कार्य गरेकाले रोकिदिएको जनाइएको छ । उन्नाइस किमी करिडोरको तेस्रो खण्डमा भने करीब डेढ किमी सडकको ट्रयाक खोल्ने कार्य रोकिएको छ ।

चौथो प्याकेज : लोरिपा दोभानदेखि नावाखोला खण्ड

यो सडक खण्डको काम रौताहा सन्तोषी जेभीले जिम्मा लिएको र धमाधम काम गर्दैछ । यो सडक खण्ड करीब दुई किमी मात्रै ट्रयाक खोल्न बाँकी रहेको खतिवडाले जानकारी दिनुभयो । यो सडक खण्ड २१ किलोमिटरको हो ।

पाँचौँ प्याकेज : नावाखोला–लेउतीपुल खण्ड

रौताहा सन्तोषी जेभीले नै निर्माणको जिम्मा पाएको ३० किलोमिटर दूरी रहेको नावाखोला–लेउतीपुल खण्डमा भने ट्रयाक खुलिसकेको खतिवडाले बताउनुभयो । उत्तर–दक्षिण सडक आयोजनाले यसअघि निर्माण गरेको करीब ५० प्रतिशत ट्रयाकलाई प्रयोग गरेको जेभीले बाँकी सडकको ट्रयाक निर्माण गरेको हो ।

छैटौँ प्याकेज : लेवती पुलदेखि सानो सफाइ धनकुटासम्मको

यो सडक खण्ड कालिका–थोदुङ–महालक्ष्मी जेभीले जिम्मा लिएर काम गरिरहेको छ । लेवती पुलदेखि सानो सफाइ धनकुटासम्मको साढे १७ किमी करिडोरको ट्रयाक करीब चार किमी बाँकी रहेको खतिवडाले जानकारी दिनुभयो ।

सातौँ प्याकेज : सानो सफाइदेखि सुनसरीको बराह क्षेत्र कोशी पुल खण्ड

यो सडक खण्ड शर्मा एण्ड कम्पनीले निर्माणको जिम्मा लिएर काम सम्मन्न गरिसकेको छ । पाएको सानो सफाइदेखि सुनसरीको बराह क्षेत्र कोशी पुलसम्मको साढे १७ किलोमिटर सडकको ट्रयाक खोलिसकेको छ । सबै ट्र्याक खोलिसक्दा करिडोर निर्माणको प्रगति ८० प्रतिशत सम्पन्न हुने खतिवडाको भनाइ छ । उहाँले भन्नुभयो, “जब हामी ग्राभेल गर्ने समयमा पुग्छौँ, काम ८० प्रतिशत सम्पन्न हुन्छ । त्यसपछि ग्राभेलको काम गर्छौं, ग्राभेल सकेपछि भने काम शतप्रतिशत मानिनेछ ।”

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पाँचथरका योजना प्रमुख अभिमन दास मुल्मीले कोरिडोरको ट्रयाक खोल्ने कार्य असोजसम्ममा सकेर त्यसपछि ग्राभेलको काम थालिने बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश निर्माण कम्पनीको योजना आगामी वर्षको भदौमा सकिन्छ । बाँकीको पनि आगामी वर्षकै पुस १२ सम्ममा सकिने बताउनुभयो ।

मध्यपहाडी लोकमार्गसँग पाँचथरको माँझीटारबाट तमोर कोरिडोर जोडिन्छ  । तमोर कोरिडोर भएर धनकुटाको मूलघाटमा कोशी राजमार्ग हुँदै हिले पुगेर मध्यपहाडी लोकमार्गसँग जोडिन्छ । पाँचथरको गणेश चोकमा यो सडकले मध्यपहाडी लोकमार्गलाई जोडिन्छ ।

तमोर करिडोरले पहाडी जिल्लावासीलाई प्रदेशको राजधानी जोड्नेछ । करिडोरले पहाडी जिल्लाका जिल्लावासीको शिक्षा, स्वास्थ्यबाट सिधा पहुँच पुग्ने सांसद वसन्तकुमार नेमाङ्गले बताउनुभयो । उहाँले भन्नुभयो, “यो करिडोरको काम सम्पन्न भएपछि पहाडी जिल्लाका लाखौँ मानिस लाभान्वित हुनेछन् । यसले मानिसको जीवनस्तरमा प्रत्यक्ष लाभ पुग्नेछ ।” रासस