जनता टाइम्स

६ श्रावण २०७६, सोमबार १८:०७

नेकपामा हिसाव खोज्नेलाई माधव नेपालको जवाफ : सवै हाम्रा हुन, साझा कार्यकर्तालाई पनि बाँडफाँट गर्ने ?


केही समय अघिसम्म एक अकाएप्रति आक्रोश पोख्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु यतिबेला एक भएका छन । एकता लम्बिदै जाँदा नेता–कार्यकर्ताबाट आएको दवाव झेल्न नसकेका शीर्ष नेताहरुले एउटा बिधि बनाएर साँगठानिक एकता टुंगो लगाउने बिन्दुमा पुग्दा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल निकै मित्रवत देखिनुभएको छ । मित्रता बढेसँगै अध्यक्ष ओलीले नेपालको प्रस्तावलाई सहज रुपमा लिएर सवै नेता कार्यकर्ता आफ्नो भन्ने निश्कर्षका साथ एकतालाई टुंगो लगाउने बिन्दुमा पुर्याउनु भएको छ । नेताहरुको पछिल्लो अभिब्यक्तिले पनि शीर्ष तहमा मेलमिलाप बढी, मतभेद कम रहेको बुझ्न सकिन्छ । पत्रकार माधव बस्नेतले नेपाल साप्ताहिकका लागि लिनुभएको अन्तरवार्तामा बरिष्ठ नेता नेपालले पनि मित्रता बढेको प्रष्टै संकेत गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता नेपालले पछिल्लो समय अध्यक्षद्वय ओली र प्रचण्डसँग निकै नजिक अनि घनिष्ट मित्रता कायम गर्नुभएको छ । ७७ ओटा जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज चयनमा नेता नेपालकै बिधिमा अध्यक्षद्वय सहमत हुनुको कारण पनि त्यही मित्रता नै हो । बरिष्ठ नेता नेपालले अन्तरवार्तामा पनि यो संकेत गर्नुभएको छ ।

पछिल्लो दिनमा पार्टीभित्र निर्णायक हुँदै जानुभएको हो ?

मेरो पछि लागेका नेता–कार्यकर्ताको संख्या बढ्नुपर्ने, केपी कमरेडको पछि लागेका नेता–कार्यकर्ताको संख्या घट्नुपर्ने, म निर्णायक हुनुपर्ने, केपी कमरेडको घट्नुपर्ने कारण छैन । मेरो प्रतिष्ठा जति बढ्छ, त्यसले पार्टीकै प्रतिष्ठा बढ्छ । केपी कमरेडको प्रतिष्ठा जति बढ्छ, त्यसले पनि पार्टीकै प्रतिष्ठा बढ्छ । त्यसैले मेरो प्रतिष्ठा बढ्यो भनेर इष्र्या गर्नुपर्ने छैन । केपी कमरेडको बढ्यो भनेर मैले इष्र्या गर्नुपर्ने हुँदैन । प्रचण्डजीको प्रतिष्ठा बढ्यो भनेर मैले इष्र्या गर्नुहुँदैन । जति धेरै नेता हुन्छन, त्यति नै पार्टी बलियो हुन्छ । नेताको अभाव हुँदा पार्टीले चुनौती सामना गर्न सक्दैन ।

तपाईं आफैंले पनि पछिल्लो समय सिंगो नेकपा भएर हेर्नुभएन भन्ने आरोप छ नि ?

मैले आफ्नो संख्या कम–बढी खोजेको होइन । मैले न्यायपूर्ण निर्णय हुनुपर्छ भनेर अडान राखेको हुँ । जसरी हामीले एकतापछि महाधिवेशनबाट चुनिएर आएकालाई नै केन्द्रमा अध्यक्ष चुन्यौं, जिल्लासम्म पनि अधिवेशनबाट चुनिएर आएकालाई नै रोजौं भनेको हुँ । केन्द्रमा महाधिवेशनबाट चुनिएर आएका केन्द्रीय सदस्यलाई नै पहिलो प्राथमिकता दिइएको छ । जिल्ला कमिटी सदस्यमा पनि अधिवेशनबाट चुनिएर आएकालाई नै महत्व दिनुपर्छ भनेको हुँ । मैले मापदण्डको कुरा उठाउँदा कसैको टाउको किन दुख्ने ? माधव नेपाललाई मन पराउनेको संख्या ३९ भएछ । केपीलाई मन पराउनेको संख्या ३८ मात्र भएछ । यो तरिका ठीक होइन ।

७७ जिल्लाकै अध्यक्षले केपी ओलीलाई पार्टी अध्यक्ष मानेका छन् । माधव नेपाललाई पनि मानेकै छन । साझा कार्यकर्तालाई पनि बाँडफाँट गर्ने ? महाधिवेशनका बेला आफ्नो इच्छाअनुसार मत दिएका होलान । महाधिवेशनपछि कार्यकर्ताप्रति सबैले समभाव राख्नुपर्यो । कसैलाई पूर्वाग्रह राख्न भएन । मैले योग्यलाई बिनाकारण हटाउन हुँदैन भनेको हुँ । एउटै गल्ती गर्दा एउटालाई पुरस्कृत गर्ने, अर्कोलाई दण्डित गर्ने ? अर्कोलाई बेवास्ता गर्ने ? यस्तो गर्दा अन्याय हुन्छ । सजाय, मूल्यांकन कामका आधारमा समान र वैज्ञानिक हुनुपर्यो । मेरो जोड पार्टी विधिमा चल्नुपर्छ भन्ने हो ।

इमानदार, योग्य, स्वच्छ छविका मान्छेलाई कामका आधारमा पुरस्कृत गरिनुपर्छ । यस्तो विधि अपनाए पार्टी राम्रो ढंगले चल्छ । मन्त्रीहरू र कार्यकारी पदलाई दोहोरो जिम्मेवारी नदिऔँ । वरिष्ठ जो छ, उसलाई मौका दिऔँ । मैले भनेको यही त हो । विधि, मापदण्डमा मेरो जोड हो । कसको मान्छे हो भन्नेमा मेरो जोड होइन ।

पार्टीमा दुई अध्यक्ष थिए नै, पछिल्लो दिनमा तपाईं पनि अध्यक्षकै बराबर शक्ति अभ्यासमा रहेको भन्ने चर्चा छ नि ?

नेता जति धेरै हुन्छन, उनीहरूको भूमिका त्यति भइहाल्छ नि । नेता घटाउन सकिन्छ ? कम्युनिस्ट पार्टी निर्माण गरेर आएको त्यत्रो इतिहासलाई घटाउन सकिन्छ ? ऊ त पार्टी हाँकेर आएको नेता हो । उसले अनेक कार्यकर्ता जन्माएको छ । प्यार गरेको छ । छोरा पुस्ता, नाति पुस्ता होला । त्यसको मूल्यांकन हुँदैन ? योग्यता, क्षमताका आधारमा आएका न होलान । कसैलाई क्रेनले तानेर ल्याएको छैन होला । योग्यता, क्षमता, खुबी, गतिशीलता, निष्ठा, इमानदारी, स्वच्छता, विश्वसनीयता यिनैले न काम गरेको हुनुपर्छ । यी भनेका पार्टीका पुँजी हुन । सबैमा सबै गुण हुँदैन । कसैमा एक खालको खुबी हुन्छ, कसैमा अर्को खालको खुबी हुन्छ । यही खुबी र विशेषता भएको संगमस्थल हो, अहिलेको नेकपा । त्यसैले नेकपामा हामी सबैको उत्तिकै हक छ ।

पार्टीभित्र तपाईंको अडानको सुनुवाइ निरन्तर बढ्नुको कारण के हो ?

आफ्नाबारे आफैँले गीत गाउनु उपयुक्त हुँदैन । पार्टीको सबैभन्दा बढी भलो हुने काममा मेरो पूर्ण साथ रहन्छ । मसँग कोही डराउनु पनि पर्दैन । किनभने म षडयन्त्र गर्न जान्दिनँ । स्टेट फरवार्ड मान्छे हुँ । इमानदारी, निष्ठा, गतिशीलता, काम र जिम्मेवारी पालनामा प्रतिबद्ध छु । मलाई विश्वास गर्नुको कारण यही हो ।

तर,तपाईं अडान लिनुहुन्न ?

मैले अडान लिन्नँ भन्ने आक्षेप छ भने राजा ज्ञानेन्द्रको शासनलाई उल्ट्याउन, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, माओवादी सेनालाई पूरै नेपाली सेनाको मातहतमा ल्याउन, अनमिन र युएनएचसीएचआरलाई बिदाइ गर्न कसले अडान लिएको ? माओवादीसँग चुनौतीको सामना पनि गर्ने, मिलाएर, फकाएर ल्याउने काम पनि कसले गरेको ? ज्ञानेन्द्रभन्दा पहिले वीरेन्द्रसँग सहकार्य पनि गर्ने र अनुचित कार्य हुनेबित्तिकै मतभिन्नता राख्ने काम कसले गरेको ? कांग्रेससँग जुध्नका लागि पनि अघि बढ्ने र आवश्यकता पर्दा हात मिलाएर अघि बढ्ने काम कसले गरेको ? ०५१ मा पार्टीलाई सबैभन्दा ठूलो दलका रूपमा पुर्याउन, पार्टी विभाजनको संकटपछि फेरि पार्टी मिलाउन कसले भूमिका खेलेको ? माधव नेपालले कुनै भूमिका खेलेन ? केमा अडान लिएन ? बताइदिए हुन्छ ।

जहाँसम्म कार्यकर्ता सुरक्षाको कुरा छ, मैले कुन कार्यकर्ताको कहाँ र कहिले सुरक्षा गरेको छैन ? कतिपय अवस्थामा भने मैले खेलको नियम पालना गर्नुपर्छ भन्ने गरेको छु । त्यस्तो अवस्थामा मैले सधैँ पूर्वाग्रह राख्ने गरेको छैन । पार्टीलाई सधैँ मनमुटावमा राख्नुहुन्न । बदलाको भावना र पूर्वाग्रह राखिराख्ने नेता हुन सक्दैन । म सानो चित्त राख्ने नेता होइन । समग्र पार्टीको हित हेर्छु । एकताको सन्देश दिन चाहन्छु । ०३२ को कोअर्डिनेसन केन्द्रको स्थापनाअघिदेखि नै मेरो स्वभाव यही हो । म नेकपाभित्र सबैभन्दा बढी नेतारकार्यकर्ताको सुरक्षा दिने नेता हुँ ।

प्रचण्डले तपाईंलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीका लागि तयार हुनुस भनेर प्रस्ताव राख्नुभएको हो ?

अरू के–के सुनिएको छ ? प्रचण्डले के भन्नुभएको छ । केपी ओलीले के भन्नुभएको छ । अरू नेताले के भन्नुभएको छ, सुनौँ न त । यस्ता कुराबाट प्रभावित भएर पदका निम्ति आशक्त भएर चल्नुहुँदैन । पार्टी विधिका आधारमा चल्ने हो । एउटालाई कामको चापैचाप, अरू बेरोजगार भएर चल्ने पद्धति अन्त्य गरिदिने हो । र, एक व्यक्ति एक पदको सिद्धान्तलाई लिएर अघि बढ्ने हो ।

केपी कमरेडको पछि लागेका नेता–कार्यकर्ताको संख्या घट्नुपर्ने, केपी कमरेडको प्रतिष्ठा घट्नुपर्ने कुनै कारण छैन । मेरो प्रतिष्ठा जति बढ्छ, त्यसले पार्टीकै प्रतिष्ठा बढ्छ । केपी कमरेडको प्रतिष्ठा जति बढ्छ, त्यसले पनि पार्टीकै प्रतिष्ठा बढ्छ

तपाईंको कार्यशैली केपी ओली र प्रचण्डमध्ये कोसँग बढी मिल्छ ?

जसले विधिको पालना गर्नमा साथ दिनुहुन्छ, उहाँसँग मिल्छ । जसले स्वच्छ राजनीतिको पक्षपोषण गर्नुहुन्छ, उहाँसँग मिल्छ । जसले पारदर्शिता अपनाउनुपर्छ भन्नुहुन्छ, जो पारदर्शी हुनुहुन्छ, उहाँसँगै मिल्छ । जसले कमिटी प्रणालीलाई दह्रो गरी समात्नुपर्छ, व्यक्तिवादलाई अन्त्य गर्नुपर्छ भन्नुहुन्छ, उहाँसँगै मिल्छ । जसले व्यक्तिपूजा, फोटोपूजा मुर्दावाद भन्नुहुन्छ, उसैसँग मिल्छ । जसले विशेष कुर्सी मुर्दावाद भन्नुहुन्छ, मेरो शैली त्यसैसँग मिल्छ ।

मैले भन्ने गरेको छु, सी चिन फिङजस्तो संसारको शक्तिशाली नेता स्थायी समितिका सदस्यसँग बस्दा एउटै लेबलको कुर्सी हुन्छ । उनको कुर्सी अग्लो, विशिष्ट खाले हुँदैन । त्यही अपनाऔँ भनेर बारम्बार बोलिरहेको छु । म यस्ता कुरामा सम्झौता गर्दिनँ ।