जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार १७:३८

कहाँ गयो माधवको विधि–पद्धती ? झलनाथ कुन नैतिकताले त्यहाँ बस्ने ?


काठमाडौं, साउन २४ । सधैंभरी बिधि, पद्धती र सिद्धान्तको रटान गरेर नथाक्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उहाँकै पछि लागेका नेता, कार्यकर्ताले प्रश्न गर्न थालेका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति, विधि र सिद्धान्त बिपरित पार्टी चलाएको आरोप लगाउँदै छुट्टिनुभएका उहाँलाई ‘एउटा औंला अरूतिर देखाउँदा चार वटा आफैतिर फर्केको हुन्छ’ भन्ने उखान चरितार्थ भएको छ ।

नेकपा माओवादी केन्द्रसहित नेपाली काँग्रेससँग आगामी निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गरेपछि आफैले उठाएको प्रश्न उहाँतिरै सोझिएका हुन । स्थानीय निर्वाचन त कतिपय लोकतान्त्रिक मुलुकमै निर्दलीय पनि हुने गरेको छ । हाम्रै छिमेकी देश भारतमा हाम्रैजस्तो संसदीय व्यवस्था भए पनि स्थानीय निर्वाचन (पञ्चायतको निर्वाचन) निर्दलीय हुने गरेको छ । स्थानीयमा जसले जोसंग गठबन्धन गरे पनि राष्ट्रिय नीति निर्माणमा केही फरक पर्दैन । तर, संघीय संसदको निर्वाचनले राष्ट्रिय राजनीतिमा धेरै फरक पार्छ ।

संघीय संसदको निर्वाचनमा गठबन्धन वा तालमेल भनेको भविश्यमा पार्टी एकता पनि हुन सक्ने भन्ने अर्थमा संसारभरी बुझ्ने गरिन्छ । अर्थात यो निर्वाचनमा नीति, विचार र सिद्धान्त मिल्नेहरूबीच गठबन्धन गरिने विश्वव्यापी मान्यता हो । माओवादी, एकीकृत समाजवादी र आफूलाई श्रमजीवि सर्वहाराको सच्चा अनुयायी ठान्ने राजमोले आगामी निर्वाचनमा काँग्रेससँग गठवन्धन गर्नु कम्युनिष्ट आन्दोलनलाई दलाल पूँजिवादको पाउमा चढाउनु हो भन्ने उहाँहरूकै कार्यकताले वताउन थालेका छन । यो गठबन्धन भनेको कुनै बेला माधव नेपालले राजा ज्ञानेन्द्रको पाउमा दाम राखेर ढोगेभन्दा कुनै अर्थमा भिन्न नभएको आम बुझाइ रहेको छ ।

नेकपा एकीकृत समाजवादीका एक ७० कटेका तर, हालसम्म सक्रिय नेताले नाम उल्लेख नगर्ने शर्तमा जनताटाइम्स डटकमसँग भने ‘त्यो बेला त संवैधानिक राजतन्त्र मानेर भएकाले शाही रिति, परम्परा मान्नै पर्ने वाध्यताले यस्तो गरेको होला भन्ने ठानेको त माधव त उही बेला वैचारिक रूपमा स्खलित भइसकेका रहेछन । हामीले चिन्न पो ढिलो गरेछौं ।’ काँग्रेससंग गठबन्धन गर्ने माधवका निर्णय सोही पार्टीका माधवकै खास निकटका जगन्नाथ खतिवडाजस्तालाई पनि मन नपरेको तर, बोल्न नसकेको ती नेताले खुलाए ।

निर्वाचन आफ्नो पार्टीको नीति, विचार र सिद्धान्तको प्रचार–प्रसार गर्ने, सोहीअनुसार जनताको मत माग्ने र बहुमत ल्याएर त्यसलाई कार्यान्वयन गर्ने अवसर हो । नेपालको संविधानको धारा २६९ मा पनि यही कुरा उल्लेख गरिएको छ । तर, यसरी आफूलाई कम्युनिष्ट विचारको अनुयायी भन्ने अनि काग्रेससँग गठबन्धन गरेर आफ्नै स्वजातियलाई हराउन रुख चिन्हमा भोट माग्नु कुन नीति, विधि र सिद्धान्त हो ? भन्ने प्रश्न उठाउन थालिएको छ ।

अर्को कुरा भनेको नेपालमा नेपाली काँग्रेससंग कम्युनिष्टहरूको आन्तरिक राजनीतिमा मात्र होइन, अन्तराष्ट्रिय मुद्दाहरूमा पनि फरक देखिन थालेको छ । भेनेजुयलाबाट सुरु भएको यो बेमेल रुस–युक्रेन युद्ध हुँदै चीन–ताइवानमा आइपुग्दा छरपष्ट भइसकेको छ । भेनेजुयलामा अमेरिकी हस्तक्षेप विरुद्ध बेला न कुबेला व्यक्तव्य नै निकाले विरोध गर्ने प्रचण्ड, रुस र यसक्रेनमा हाल भइरहेको युद्धमा रुसका पक्षमा उभिने झलनाथ, ताइवानमा अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको भ्रमणको विज्ञप्तिनै निकालेर विरोध गर्ने झलनाथ हुनुहुन्छ । अब उहाँहरू भेनेजुयला मुद्धामा अमेरिकाको पक्षमा उभिएको काँग्रेस, राष्ट्रसंघमा रुसविरुद्ध नेपालको तर्फबाट मतदान गर्न लगाउने काँग्रेस र चीन–ताइवान मामलामा चुप्पी साँधेर घुमाउरो पाराले ताइवानको पक्षमा उभिने काँग्रेससंग गठबन्धन गर्दैछन ।

झलनाथ र प्रचण्डको त्यो व्यक्तव्य र यो गठबन्धन कुन सहि हो ? भन्ने प्रश्न त आफ्नो ठाउँमा छदैंछ । गठबन्धनले चुनाव जिते वा बहुमत ल्याए देश कुन विचारबाट चल्ने भन्ने प्रश्न पनि उठनु स्वभाविक हो । काँग्रेसको बाटो प्रष्ट छ, शेरबहादुर देउवाको पछिल्लो कार्यकालले उसको विदेश नीति पनि परिवर्तन भएको देखिएको छ, प्रचण्ड, माधव, उपेन्द्र र चित्रबहादुर केसीले काँग्रेससंग गठबन्धन गर्ने अनि गफ चाँही असंलग्न परराष्ट्र नीति र समाजवादको गर्ने ! उहाँहरूलाई नेपाली जनताले कम्युनिष्ट मान्दिनु पर्ने ? उहाँहरूको क्रान्तिकारीको कुरा अरूले पत्याइदिनु पर्ने ? आजको युगमा अरूले थाहा पाएका छैनन् भन्ने ठान्नु आत्मसन्तुष्टि मात्र होइन र ?