काठमाडौं, वैशाख२५ । भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेपछि बढिरहेको तनावमा विश्व समुदायले प्रतिक्रिया दिइरहे पनि खुला सीमा भएको नेपालले अझै आधिकारिक धारणा सार्वजनिक भएको छैन ।
हिजो गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा राष्ट्रिय सुरक्षा समिति र प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसे पनि आधिकारिक धारणा भने अझै सार्वजनिक नभएको हो ।
राष्ट्रिय सुरक्षा समितिले सीमा क्षेत्र र विमानस्थलहरूमा सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भारत–पाकिस्तानबीच भएको घटनाक्रमबाट नेपालमा पर्नसक्ने विविध सुरक्षा चुनौती तथा असरहरूको सम्बन्धमा समीक्षा गरेको रक्षा मन्त्रालयका सचिव एवम् परिषद्का सदस्य–सचिव रामेश्वर दङ्गालले जानकारी दिनुभएको छ । तर आक्रमणबारे नेपालले मुख नखोलेको हो ।
नेपाल सार्कको अध्यक्ष राष्ट्रसमेत भए पनि सार्कका दुई सदस्यबीचको तनावमा बोलेको छैन । भारतले पाकिस्तानमा आक्रमण गरेको विषयमा दलहरूबीच मत बाझिएको छ । नेपाली कांग्रेसले भारतको समर्थन गर्नुपर्ने कुरा गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले भारतले अहिले आतङ्कवादविरुद्ध लडाइँ लडिरहेको भन्दै आतङ्कवादविरुद्धको लडाइँमा नेपालले साथ दिनुपर्ने बताउनुभयो । यस्तै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि कूटनीतिक भाषामा मात्र नभई भारतको कमदप्रति समर्थन झल्कने गरी सरकारी धारणा आउनुपर्ने बताउनुहुन्छ ।
तर सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले भने भारतको समर्थन नगरी युद्ध नचर्काउन दुवै पक्षलाई अनुरोध गर्नुपर्ने बताएको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुखसमेत रहेका पूर्वपरराष्ट्रमन्त्री रघुवीर महासेठले बीबीसीसँग कुरा गर्दै पाकिस्तानमाथि आक्रमण गर्ने भारतीय कदमको समर्थन गर्न नसकिने बताउनुभयो ।
यस्तै संसद्को तेस्रो ठूलो दल नेकपा माओवादीभित्र भने मत बाझिएको छ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सामाजिक सञ्जालमा लेख्दै पहलगामको आक्रमण कसले गरेको हो भन्ने निश्चित नभई पाकिस्तानमाथि आक्रमण गर्नु न्यायोचित नहुने बताउनुभएको छ । यस्तै सामाजिक सञ्जालमै लेख्दै उपमहासचिव जनार्दन शर्माले भने आतङ्कवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो भन्दै भारतले गरेको आक्रमणको समर्थन गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्