यदु शर्मा
हामी खासगरी नेपाली जे कुरामा पनि पश्चिमा संस्कृतिको सिको गर्न माहिर छौं । कुनै पनि कुरा चाहे त्यो राजनीति होस् वा अन्य पश्चिमा साहित्य, पश्चिमा नेताले लेखेका गरेका कुरालाई उदाहरण दिएर आफूलाई विद्धान प्रमाणित गर्छौ । आजको युवा पुस्तामा त यो झन विकराल समस्या भएर आएको छ । जबकी हाम्रो आफ्नै पूर्विय दर्शन, संस्कृति र सभ्यता पश्चिमाभन्दा पुरानो, लोककल्याणकारी, शु–संस्कृत र सभ्य छ ।
यौनका कुरामा पनि हामी पश्चिमाकै सिको गरेर ‘सेक्स’ ‘सेक्स’ भन्न लजाउँदैनौ । जबकी हाम्रो पूर्विय दर्शन यौनमा विषयमा पनि पुरानो र शु–संस्कृत छ । तर, हामी यौनका कुरा आउनासाथ फ्राइडको ‘सेक्सोलाजी’ को उदाहरण दिन्छौं । जबकी पूर्विय दर्शनमा फ्राइडभन्दा धेरै पहिले महर्षी वात्सायनले ‘कामशुत्र’ लेखेर मानव जीवनमा यौनको महत्व बारे विस्तृत वर्णन गरेका थिए । त्यसपछि पनि संस्कृत साहित्यमा ‘रतिमञ्जरी’ ‘पंचसायक’ ‘नागर सर्वस्व’ र ‘रतिरहश्य’ जस्ता कृति छन्, जसको भावानुवाद नेपाली, हिन्दीमा सर्वत्र पाइन्छ ।
संस्कृत साहित्यमा ‘सेक्स’ लाई सम्भोग, सहवास, रतिक्रिडा आदीले सम्वोधन गरिएको पाइन्छ । जसले महिला–पुरुषको समान सहभागिता जनाउँदछ । समान सहभागिता बिना वा दुवैको इच्छाविना यौन कार्यको कुनै अर्थ र औचित्य छैन भन्ने उल्लेख पाइन्छ । आज समाजमा ‘बलात्कार’ जन्य घटना बढ्नुमा पनि यही यौन वारेको हाम्रो विकृत बुझाईको उपज हो भन्दा अतिउक्ति हुँदैन ।
सम्भोग, सहवास, रतिक्रिडा जस्ता शब्दलाई नेपाली ब्याकरणले समास शब्द भन्दछ । दुई वा सोभन्दा बढी शब्द मिलेर बनेको एउटै अर्थ दिने शब्द समास हो । सम र भोग मिलेर बनेको शब्द सम्भोग । समको अर्थ हुन्छ बराबर, भोगको अर्थ प्रयोग वा उपयोग, बराबरी प्रयोग गर्नु, सम्भोग भयो । त्यस्तै सहवास शब्द सह भनेको संगै वा साथै वासको अर्थ बस्नु, संगैबस्नुलाई सहवास भनियो । यसमा महिला –पुरुष दुवैको सहभागिता अनिवार्य मानिएको छ । बराबरी उसयोग गर्नु वा सगैबस्नु भन्नाले दुवै उत्तिकै रुचि राख्छन् भन्ने कुरा सवतः अर्थ लाग्छ ।
तर, हामी सम्भोग, सहवासभन्दा ‘सेक्स’ बाट बढी प्रभावित भयौ । अर्कोअर्थमा भन्दा जसरी जसरी पितृसत्ता हावी हुँदै आयो यौनमा पनि भालेवाद हावी भयो । महिला इच्छामाथि दमन हुँदै गयो र पुरुष इच्छा हावी हुँदै गयो । यौनलाई महिलाको इज्जत र पुरुषको पौरख, बहादुरीसँग जाडियो र त स–गर्व भन्ने गरियो ‘मर्दकी दशवटी ।’ हुँदै जाँदा यौनमा पुरुषले कब्जा नै जमायो भन्दा हुन्छ । महिलाको इच्छा, आकाँक्षा दमित त भए नै त्यस विषयमा आफ्नै श्रीमान्संग कुरा गर्न पनि ‘लज्जा’को विषय बनाइयो ।
यहाँ एउटा यौनमा पुरुषको कस्तो मनपरी छ र आफ्नै श्रीमतीसंग उसको कस्तो व्यवहार गर्छ भन्ने उदाहरण पेश गरौं ! यो कुनै महिला लेखिकाले धेरै पहिले दिएको उदाहरण नै हो –
‘दाजु खाना खाएर कार्यालय जाने तयारीका लागि लुगा लगाउन कोठामा पस्छन्, भाउजु पनि दाजुको पछि लाग्छिन । ढोका बन्द गरिएपछि सानी बहिनी दाजुभाउजुको क्रियाकलाप ढोकाबाट चिहाएर हेर्छिन । दाजु पाइन्ट लगाउदैं गर्दा भाउजुले दराजबाट कोट झिकेर दाजुलाई पछाडिबाट लगाइदिन खोज्दै गर्दा फनक्क फर्केर दाजुले भाउजुको कम्मरमा चरप्प समाउछन् र ओछ्यानमा लडाउँछन् । भाउजुको अनुहार भर्खर रातो हुँदै गर्दा एक मिनेट पनि निवत्दै दाजु जुरुक्क उठेर लुगा मिलाउन थाल्छन् । दाजु हातमा ब्याग बोकेर भाउजुलाई बाई..गर्दै हात हल्लाएर अफिस हिड्छन् । भाउजुको अनुहार निकै बेरसम्म लाली दलेकोजस्तो रातो भइरहेको हुन्छ र पछि हराउँछ ।’
हो, अधिकाँश नेपाली समाजको यौन क्रियाकलापको यो सत्य घटना हो । पुरुष सधैं आफूलाई मात्र सोच्छ, आफू मात्र तृप्त हुन्छ । हाम्रा भाउजुहरू आफ्ना यस्ता पीडा दाजुहरूलाई त भन्न सक्दैनन् भने अरूलाई कसरी भनुन् । यहाँ ‘सेक्स’ त भयो तर, सम्भोग वा सहवास भएन । यसरी नेपाली महिला भालेवाद वा यौनमा पुरुषतत्व हावी हुँदा सधैंभरी यौन अतृप्तताले प्यासी भएर बाँच्न बाध्य छन् । जबसम्म पश्चिमाको सिको गर्न छाडेर आफ्नै संस्कृतिलाई पछ्याएर सम्भोग वा सहवासमा रमाइदैन तबसम्म यौन अतृत्पता रहिरहन्छ ।
प्रतिक्रिया दिनुहोस्