जनता टाइम्स

११ श्रावण २०७६, शनिबार ११:२५

जनतालाई देखाएको सपना पूरा नहुँदासम्म कुनै सेवा सुविधा लिन्न : भरत थापा, मेयर


आफ्ना लागि सुबिधाको गाडी किन्ने पैसाले खानेपानी ट्यांकी किनेर जनतालाई सेवा दिएपछि सवैका लागि प्रेरणाको स्रोत बन्नुभएका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा यतिबेला निकै चर्चामा हुनुहुन्छ । मेयर थापाको जनताप्रतिको समर्पण भाव र इमान्दारिताले नगरको भविष्य उज्वल देखिएको छ । जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरेकै कारण उहाँप्रति बागमतिका मतदाता निकै आशावादी छन । नगरको मुहार फर्ने अभियानको नेतृत्व गर्नुभएका थापा जनतालाई देखाएको सपना पूरा नभएसम्म जनप्रतिनिधिका हैसियतमा पाउने कुनै सेवा सुबिधा लिनुभएको छैन ।

मेयरले पाउने सेवा सुविधा नलिएर जनतालाई वितरण गर्नु भएको छ, यस्तो सोच कहाँबाट आयो ?

हामी राजनीतिकर्मी आफ्ने स्वार्थ छोडेर जनताको सेवा गर्न होमिएका हौं । हामी सुविधामूखी होइन सेवामूुखी हुनुपर्छ । मेरो नगरमा गरिबका छोराछोरी पढ्न पाएका छैनन्, बिरामी हुँदा औषधि खान पाएका छैनन्, तिनै बालबालिकाको बिचल्ली हेरेर मैले सेवा सुविधा लिनुहुँदैन लाग्यो र लिएन । मैले जति पनि सेवा सुविधा पाउछु त्यो विपन्न गरिब जनताका छोराछोरीको स्वास्थ्य, शिक्षामा खर्च गर्ने छु । मेयरले चढ्ने गाडी खरिद गर्न छुट्याएको रकमले चुरेक्षेत्रका बासीलाई पानी ट्याङ्की किनेका छौं । यसबाट उहाँहरू खुसी हुनुहुन्छ ।

मेरो मेयर गाडी चढोस्, तलब भत्ता लेओस्, उसले तलब भत्ता नलिदा अन्यत्र सोच्न नपरोस् भन्ने पनि त जनताको अपेक्षा होला। के गरेपछि लिनुहुन्छ तलब भत्ता ?

जनताको समृद्धि, सुशासन, गास, बास, कपास र रोजगार बनाउने अभियानमा हिडेका हामीले जनतालाई जे सपना देखायौं, त्यो पुरा नभइकन कसरी आफु ती सेवा सुविधा लिनु ?

त्यसोभए तँपाइका प्रथमिकता के–के हुन ?

पूर्वाधार, शिक्षा, स्वास्थ्य र चेतना बृद्धि मेरो प्राथमिकतामा छन् ।

छोरा जन्माउनेलाइ तीन हजार र छोरी जन्माउनेलाई पाँच हजार सुत्केरी भत्ताको व्यवस्था गरिएको छ । यस्तो किन गरिएको हो ?

छोराछोरीबीचको विभेद केही हदसम्म कम गर्न सकिन्छ कि भनेर यस्तो गरिएको हो । यसबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छु ।

हिजो दलविहीन संस्कार, संस्कृतीबाट चल्दै आएको प्रशासनतन्त्रसँग काम गर्न कत्तिको गाह्रो छ ?

सुरु सुरुमा गाह्रो भयो । किनकी हिजोको संस्कारमा काम गरिरहेका प्रशासकहरुले आफ्नै तरिकाले काम गर्नुहुन्थ्यो । जनप्रतिनिधि निर्वाचित भएर आइसके पछि जनताको सपनासँग जोडिएका जनमुखी कार्य गर्नुपर्ने भयो । पहिले त्यस्तो थिएन । हाम्रा काम कस्ता छन ? जनताकै सामु गएर सार्वजनिक सुनुवाई गरेका छौं । गलत भए सुझाव दिनुहुन्छ त्यसलाई हामि सच्याउछौं । जनताको विकासका लागि आएको बजेट जनताकै विकासको लागि खर्च गरेका छौं । धेरै गाह्रो छैन् ।

कानुनी जटिलताहरु के के छन् ?

कानुनी जटिलताहरु छैनन् । हामिलाई दिएको एकल अधिकार अन्तर्गत हामिले कानुन निर्माण गरिसकेका छौं । कानुन निर्माण हुनुअघि कार्यविधि निर्माण गरि काम गर्यौं । अहिले आवश्यक सबै ऐन बनिसकेका छन् । हामिलाई काम गर्नको लागि कानुनी बाधा छैन । तर साझा अधिकारका ऐन बनाउन बाँकी छ ।

शिक्षा सम्बन्धि उत्कृष्ट काम गरेका देशभरिका नगरहरु मध्ये तपाईको नगर पनि पर्छ । कस्तो लागि रहेको छ ?

खुसी लागेको छ, यो मानेमा खुसी लाग्यो कि हिजोका शिक्षा नीति, शिक्षक नीति, पठनपाठन तरिकालाई हामीले सुधार गर्न सफल भएका छौं । हामी निर्वाचित भएर आएपछि सबै शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक बसेर छलफल गर्यौं र सबै समुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेपछि अहिले अभिभावक, विद्यार्थी खुसी छन् । विद्यालयमा विद्यार्थी पनि बढेका छन् । हामिले गरेको कामलाई शिक्षा मन्त्रालाय, शिक्षा विभागले सहि मूल्यांकन गरि नेपालकै उत्कृष्ट विद्यालयको सूचिमा राखि पुरस्कार समेत प्रदान गरेको छ ।

धेरै नगरपालिका अनुदानमा निर्भर रहने अवस्था छ । तपाईँको नगरपालिकाको आन्तरिक स्रोत बृद्धिमा के कस्ता प्रयास भइरहेका छन् ?

आर्थिक स्रोतका कारण नगरपालिका गाँउपालिकामा पनि झर्न सक्छन् । त्यसकारण हामिले आर्थिक पक्षलाई बलियो बनाउन प्रती जमिनमा ८८ विघाको माछा पोखरी निर्माण गर्न लागेका छौं, त्यसको लागि टेन्डर लगि सकेको छ । अर्थमन्त्रालयमा त्यसको डि।पि।आर समेत पेश गरेर विशेष अनुदानबाट केहि रकम प्राप्त गरेका छौं । त्यसबाट अन्तरिक पर्यटनमा बृद्धि हुने, माछा पालन गरेर वार्षिक पाँच करोड भन्दा बढि आम्दानी हुने अनुमान गरेका छौं ।

हाम्रो नगरपालिकामा नुनथर, तपोवनजस्ता धार्मिक स्थलहरु छन् । सबै चडपर्वमा धार्मिक मेला लाग्ने भएकाले त्यहाँ ‘फनपार्क’ ‘पिक्निक स्पोर्ट’ बनाउदैछौं । फनपार्क भित्र पाँच तारे होटेल, बोटिङ, बच्चाहरुको लागि चिल्ड्रेन पार्क, स्वीमिङ पुल देखि नगरको संस्कृति झल्कने गरि पाँच विघा क्षेत्रमा फन पार्क निर्माण गर्दैछौं । आज भोली नै नगर विकास कोषबाट त्यसको स्वीकृति हुन्छ । आम्दानि वार्षिक तीन कारोड भन्दा माथि नै अनुमान गरेका छौं ।

त्यसका साथै रोड साइडमा कृषि आधुनिकीकरण गरि कृषि उत्पादन, व्यवस्थापन, बजारीकरण, गर्न सहकारी मार्फत अगाडी बढ्ने उद्देश्यले सहकारीसंस्था पनि निर्माण गरिसकेका छौं । अहिलेसम्म दुई हजार भन्दा बढी सदस्य भइसक्नुभएको छ । एक व्यक्ति एक शेयर भन्ने अभियानसहित अगाडी बढेका छौं । हामीले संघ, प्रदेशको मुख ताक्नुपर्ने अवस्था नआउला ।

नगरमा सुशासनको लागि के कस्तो प्रयास भइरहेको छ ?

स्थानीय दररेट कायम गरेर जति रकम पर्ने हो त्यति नै रेट कायम गरेपछि कसले कहाँ खाने र कति बँच्छ र कस्लाई दिने रु जहाँ भ्रष्टचार हुने सम्भावना छ त्यसलाइ त्यहि अन्त्य गरिदिए पछि भ्रष्टचार हुँदैन । भ्रष्टचार हुनै नसक्ने प्रणाली निर्माण गरेकाछौं ।

तपाईको कार्यकालको अन्त्यमा नगरमा के के भएको पाउने छौं ?

देशकै नमुना, जीवनस्तर उकासिएको, आय स्रोत बढेको, सुशासन, सम्बृद्धिसहितको स्वर्ग जस्तो नगरपालिका भएको पाउनु हुनेछ । हरेक वर्ष परिवर्तन भएको पाउनु हुनेछ । वर्सैपिच्छे आएर हेर्नु होला। सबैको खुशी भरिएको अनुहार हेर्ने मेरो सपना छ । (मेयर खवरका लागि शिव अधिकारीले गर्नुभएको कुराकानीमा आधारित )