जनता टाइम्स

११ आश्विन २०७९, मंगलवार १४:४३

‘ठगिएको महसुस भए हटलाईन ११८० मा खबर गर्नु’ : सुनिता डंगोल


काठमाडौं, ११ असोज । नेपालीहरुको महान चाड दसैँ नजिकिएसँगै काठमाडौँ महानगरको चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलको नेतृत्वमा आजबाट चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको हो । आजै महानगरपालिकाले टुकुचास्थित प्रदर्शनीमार्गमा रहेको तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ भने खाद्यान्न पसलहरुमा पनि अनुगमन गरेको छ ।

उपेमयर डंगोलका अनुसार महानगरपालिकाले आजै भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको छ । उपप्रमुख डंगोलको नेतृत्वमा आज तीन वटा समुह बजार अनुगमनका लागि परिचालित भएका छन् । ‘कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य बस्तु विक्रि गरिरहेको भेटिएमा हाम्रो हटलाईन ११८० र १६६००१०५५११ मा खवर गर्न पनि आग्रह गर्दछौँ,’ अनुगमनकै रहनु भएको उपमेयर डंगोलले भन्नुभयो, ‘हामी यो अनुगमनलाई दसैँ अघि र पछि पनि निरन्तरता दिन्छौँ । तपाईँहरुले खवर गरेको आधारमा पनि हामी तत्काल अनुगमन टोली त्यहाँ खटाउछौँ र आवश्यक कारवाही प्रक्रिया अघि बढाउछौँ ।’

उहाँले आज टुकुचास्थित प्रदर्शनी मार्गमा रहेको तरकारी र फलफूल बजारमा अनुगमन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार आजै उक्त क्षेत्र आसपासका खाद्यन्न पसलहरुमा पनि महानगरपालिकाले अनुगमन गरेको छ । ‘हामीले आजै भाटभटेनीमा पनि अनुगमन गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले आजको अनुगमान मिति गुज्रिन लागेका र अरु सामान पनि एकै ठाउँमा राखेको भेटायौँ । उहाँहरुलाई यस्ता सामान छुट्याएर राख्न आग्रह गरेका छौँ । म्याद गुज्रिएका सामान भेटिएको अवस्थामा तत्कालै कारबाही गर्छौँ । हामीले अनुगमन त्यहि अनुसार गरिरहेका छौँ ।’

उपमेयर डंगोलले अनुगमनका क्रममा केही पसलमा विक्रिका लागि राखिएको प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग नलेखिएको र हातले पुछ्दा सहजै मेटिने भेटिएको पनि बताउनुभयो । ‘त्यस्तो भेटिएको ठाउँमा हामीले सजग गराउँदै प्याकेजिङमा उत्पादन मिति प्रष्टसँग लेखिएको सामान मात्रै विक्रि गर्न भनेका छौँ ।’ उहाँले अनुगमनका क्रममा केही डिपार्टमेन्ट स्टोरले स्थानीय उत्पादनको सामान पनि राखेको भेटियो ।

‘उहाँहरुलाई स्थानीय उत्पादन लिदाँ उहाँहरुको कम्पनी दर्ता छ कि छैन ? प्यान नम्बर छ कि छैन हेरेर मात्रै लिन सुझाव दिएका छौँ,’ उहाँले भन्नुभयो,’ ‘हामीले अनुगमनका सिलसिलामा खाद्यान्नलगायतको मूल्यसूचि नियमित ‘अपडेट’ गर्न सुझाव दिएका छौँ । कतिपय ठाउँमा लामो सयमसम्म पनि मूल्यसूचि ‘अपडेट’ गरेको देखिएन । हामी त्यस्ता पसललाई सकेसम्म दैनिक नभए पनि दिन विराएर अनिवार्य ‘अपडेट’ गर्न सुझाव दिएका छौँ । मुख्य गरेर चाडपर्वको समयमा बढी भिडभाड हुने र उपभोक्ता ठगिने भएकाले हामीले चाडपर्व लक्षित अनुगमन सुरु गरेका छौँ ।’

बजार अनुगमन कार्यक्रममा संघ तथा प्रदेश कार्यालयहरु सहभागी हुने छन् । बजार अनुगमनका क्रममा सुलभ पसल, तरकारी, माछा, मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत हेरिने बताइएको छ ।