जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार १८:५४

सबैको बोली: आगामी प्रधानमन्त्री ओली


एमालेसँग अलिअलि प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेस र त्यसका सम्भावित प्रधानमन्त्रीका उम्मेद्वार शेरबहादुर देउवा ओलीको राजनीतिक उचाइमा किमार्थ पुग्न सक्दैनन् । ओली र देउवा को प्रधानमन्त्री बन्ने एकल मुध्दामा जनमत सङ्ग्रहको रूपमा हेरिएको आगामी मङ्सिर ४ को आम निर्वाचनमा के होला भन्ने प्रश्नमा देशभरका जनताको बोली सुन्दा लाग्छ, ओलीको विकल्प छैन

निर्मल भट्टराई

नेपाल कम्युनिष्ट पार्टी(एमाले)को भाद्र १० र ११ गते बसेको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकले आगामी मङ्सिर ४ गतेको आम निर्वाचनमा पार्टी अध्यक्ष के पी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वारको रूपमा सर्वसम्मत रूपमा अगाडि सारेको थियो । पार्टीको त्यो निर्णयले देशभर एउटा सकारात्मक तरङ्ग उत्पन्न गरेको थियो । त्यही निर्णयको कारण देशका हजारौं नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरेर एमालेमा लामबध्द भएका छन्, हुँदैछन् ।

यो निर्णयले के देखायो भने २१औं शताब्दीका सचेत मतदाताले निर्वाचनमा सही नीति, सिध्दान्त बोकेको पार्टीमात्र होइन, योग्य नेता पनि खोज्दा रहेछन् । हुन पनि एउटा सच्चा नेताले चाह्यो भने छोटो समयमा देशको कायाकल्प गर्न सक्दो रहेछ । सन १९५९ मा सिंगापुरका जनताले लि क्वान युलाई प्रधानमन्त्री निर्वाचित नगरेको भए आजको सिंगापुर बन्न सक्ने थिएन । जर्ज वासिङ्टन, टमस जेफर्सनजस्ता नेता नजन्मेको भए अमेरिका आजको अमेरिका नहुन सक्थ्यो । सन १९२०मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व माओले नगरेको भए, देङ सियाओ पिङ्जस्ता नेताले नेतृत्वको अवसर नपाएको भए आज चीन कता पुग्थ्यो होला ।

नेपाल आज त्यसरी नै एउटा सच्चा नेताको खोजीमा छ । देशभक्त नेताको खोजीमा छ । भिजन भएको, व्यक्तिगत स्वार्थरहित नेताको खोजीमा छ । देश प्रसवपीडामा छ । विगतमा प्राविधिक रूपमा झण्डै दुई तिहाइ मत पाए पनि ओलीलाई हात फुकाएर काम गर्न दिइएन । पाइला-पाइलामा अड्काउने र अत्तो थाप्ने काम आफ्नै भनिएका नेताहरूबाट भयो । हरेक कुरामा भाग खोजियो ।युगीन महत्वका कामको पनि समर्थन गर्नु त कता कता, त्यसलाई सार्वजनिक रूपमै विरोध गरेर विद्रुपीकरणको प्रयास भयो ।

आफ्नो पार्टीको सरकार गिराउन विपक्षी र विदेशी शक्तिसँग साँठगाँठ गर्ने खेल भए । त्यसो गर्दा पनि ओलीका अग्रगामी पाइला रोक्न नसकेपछि पार्टी फुटाएर संसदमा अल्पमतमा पार्ने खेल खेलियो । आम जनता र खासगरी वाम मतदातामा अनेक भ्रन फिंजाउने काम भए । आफ्नै पार्टीको सरकार गिराउन सडक आन्दोलनको नाटकसमेत मञ्चन भयो । आफ्नो पार्टीका शीर्ष नेता, सर्वाधिक लोकपृय प्रधानमन्त्रीलाई ‘प्रतिगमनकारी’ करार गरियो । र, उग्र कम्युनिष्टविरोधी दक्षिणपन्थी शक्तिलाई ‘अग्रगमनकारी’ र ‘लोकतन्त्रवादी’ घोषणा गरियो ।

तर आज परिस्थिति विल्कुल भिन्न भएको छ । आम निर्वाचन नजिकिंदै जाँदा ओलीलाई आगामी प्रधानमन्त्रीको रूपमा सिंगो मदेशले स्वीकार गरिसकेको स्थिति छ । कुनैबेला ओलीलाई मधेश छिर्न अवरोध गरिएको मात्रै थिएन, त्यही बहनामा मधेशमा हुलदङ्गा र मारपीटसमेत भएको थियो । आज मधेशका आठ जिल्लामा मात्र होइन,तराईका सबै जिल्लामा ओलीलाई रातो कार्पेटमा स्वागत गरिएको छ । मधेशवादी दलका अधिकांश नेता एमालेका नेतामा परिणत भइसकेका छन् । मधेशी जनताको अपार समर्थन एमाले र त्यसका अत्यधिक लोकपृय नेता के पी शर्मा ओलीलाई प्राप्त भएको छ । साविक नेकपा विभाजनको बखत अलक थलक भएका अधिकांश नेता कार्यकर्ता नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा(एमाले)मा फर्किसकेका छन् । एमाले इतिहासमै सग्लो र अग्लो भएको छ ।

अर्कातिर ‘टालाटुली बटुली’ गठबन्धन राज्य सञ्चालनका सबै क्षेत्रमा असफल भएको छ । दुई महिनादेखि सीट बाँडफाँटमा घुँडा धसेर लागेको भए पनि सहमतिमा पुगेको छैन । आगामी निर्वाचनको लागि ओलीसँग लड्न सक्ने प्रधानमन्त्रीको तय गर्न सकेको छैन । डेङ्गु महामारीमा परेका जनताको उपचार र रोग नियन्त्रणमा गठबन्धन सरकार पूर्णरूपेण असफल भएको छ ।

स्थानीय निर्वाचनमा केही बढी सीट जित्न सफल कांग्रेस आन्तरिक कलहमा फसेको छ । इतिहास भन्छ, नेपाली कांग्रेसलाई दुई तिहाइ बहुमत, बहुमत वा बढी सीट फाप्दैन । १५ सालमा फापेन, ४८ सालमा फापेन, ५६ सालमा फापेन । अहिले स्थानीय तहमा पाएको बढी सिट पनि नफाप्ने निश्चित छ ।

नेकपा(एमाले)सँग अलिअलि प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेस र त्यसका सम्भावित प्रधानमन्त्रीका उम्मेद्वार शेरबहादुर देउवा ओलीको राजनीतिक उचाइमा किमार्थ पुग्न सक्दैनन् । ओली र देउवा को प्रधानमन्त्री बन्ने एकल मुध्दामा जनमत सङ्ग्रहको रूपमा हेरिएको आगामी मङ्सिर ४ को आम निर्वाचनमा के होला भन्ने प्रश्नमा देशभरका जनताको बोली सुन्दा लाग्छ, ओलीको विकल्प छैन ।