जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार १५:१७

कामनपाले अघि बढायो रिचार्ज काठमाडौं अभियान : नयाँ घर बनाउँदा रिचार्ज सिस्टम अनिवार्य


काठमाडौं, साउन २६ । घट्दो भूमिगत पानीको सतह र पानीको समस्या कम गर्न काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं’ अभियान सुरु गर्ने भएको छ । मेयर बिद्यासुन्दर शाक्यको बिशेष योजनाअनुसार महानगरको वातावरण व्यवस्थापन विभागले अभियान सुरु गर्न सरोकारवाला निकायसँग छलफल थालेको छ ।

काठमाडौं महानगरमा पानीको मात्रा कम हुन थालेपछि महानगरले यस्तो अभियान सुरु गर्न लागेको हो । बातावरण ब्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार चालू आर्थिक वर्षबाटै अभियान सुरु गरिने छ । ‘चालू आर्थिक वर्षमा करिब एक करोड बजेटसमेत विनियोजन भएको छ  । अहिले हामी जनचेतना जगाउने अभियानमा छौँ,’ श्रेष्ठले जनताटाइम्ससँग भन्नभयो । महानगरपालिकाले जनतालाई नै सहभागि गराएर यो अभियानलाई सफल बनाउने योजना बनाएको छ । ‘जनचेतनाले मात्रै हुँदैन । स्थानीयलाई कसरी अभियानमा सहभागी गराउने भन्ने विषयमा समेत छलफल भइरहेको छ,’ श्रेष्ठले भन्नुभयो ।

रिचार्ज काठमाडौं अभियान आकाशेपानीलाई इनारमार्फत जमिनमुनि पठाउने कार्यक्रम हो । इनारको पानी प्रयोग गर्नसमेत मिल्ने भएकाले दुईवटा फाइदा रहेको महानगरपालिकाले जनाएको छ । ‘हामीले आकाशबाट परेको पानीलाई छतबाट सडकमा पठाउँछौँ । जसका कारण सडक पनि बिग्रन्छ, खोलाको सतह बढ्छ र जमिनले पनि सोच्न पाउँदैन,’ बिभाग प्रमुख श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार यसो गर्दा भूमिगत पानीको तिह बढनेछ । ‘इनारमार्फत आकाशको पानी जमिनमुनि पठाउँदा भूमिगत पानीको सतह पनि बढ्छ र प्रयोग गर्न पनि मिल्छ,’ श्रेष्ठले भन्नुभयो ।

काठमाडौं महानगरपालिकाले अभियानअन्तर्गत एक घर एक इनार कार्यक्रम लागू गर्न स्थानीयबासीलाई सहयोग गर्ने योजना पनि बनाएको छ । आकाशेपानीलाई इनारमा जम्मा गर्न स्थानीयलाई सहयोग गर्ने बिभाग प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । ‘छतबाट इनारमा पानी जम्मा गर्न हामीले पनि सहयोग गर्छौं, जनताले पनि केही लगानी गर्नुपर्छ,’ श्रेष्ठले भन्नुभयो । महानगरबासीलाई ट्यांकरको पानी किनेर बाँच्नुपर्ने अवस्थाबाट मुक्ति दिलाउन महानगरले यस्तो योजना बनाएको हो । ‘मेलम्ची कहिले आउँछ टुंगो छैन । भूकम्पका कारण पानीको सतह घटेको छ । ट्यांकरको पानी किनेर प्रयोग गर्नुपर्ने बाध्यताबाट केही हदसम्म छुटकरा पाइन्छ,’ श्रेष्ठको भनाई छ ।

महानगरपालिकाले अव घर बनाउँदा रिचार्ज सिस्टम अनिवार्य गराउने भएको छ । अहिले काठमाडौंमा दुई लाख ७५ हजार घर छन । प्रत्येक घरबाट पाँच हजार लिटर पानी जम्मा गरेर जमिनमुनि पठाउन सकिने महानगरपालिकाको भनाइ छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घर बनाउँदै पानी रिचार्ज सिस्टम जडानलाई अनिवार्य गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । ‘नयाँ घर बनाउनेलाई आगामी आर्थिक वर्षदेखि नै रिचार्ज सिस्टम जडान अनिवार्य गर्ने विषयमा जनप्रतिनिधिसँग छलफल भइरहेको छ, हाम्रो अभियान नै एक घर एक इनार हो,’ श्रेष्ठले भन्नुभयो ।

उहाँकाअनुसार विभिन्न समयमा काठमाडौंको जमिनमुनि भएको पानीको सतह मापन गरिएका छन । ती अध्ययनले सतहभन्दा पानी भेटिने गहिराई बढ्दै गएको देखाएका हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार केही बर्षअघिसम्म ट्युबेलबाट प्रतिमिनेट एक हजार लिटर पानी उत्पादन हुन्थ्यो । अहिले भने प्रतिमिनेट सात सय लिटर पानी उत्पान हुने गरको छ । काठमाडौं महानगरमा करिब ८३ प्रतिशत जमिन घर वा भौतिक संरचनाले ढाकेको छ । जमिनमा घर बढने क्रम बढदो रहेको कारण पनि महानगरले एक घर एक इनारको अभियान अघि बढाएको हो ।

मेयर बिद्यासुन्दर शाक्य महानगरवासीलाई दिर्घकालिन हितका लागि यस्तो अभियान अघि बढाइएको बताउनु हुन्छ । उहाँका अनुसार महानगरको बातावरण बिभाग यो योजनालाई मुर्त रुप दिन लागिपरेको छ ।