जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार ११:०४

किन धमाधम आत्महत्याको बाटो रोज्दैछन भ्रष्टाचार र अनियमिततामा मुछिएका कर्मचारीहरु ?


काठमाडौं, साउन २८

साउन महिनामा मात्र अनियमिततामा मुछिएका तीन व्यक्तिले आत्महत्या गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जोडिएको मुद्दालाई लिएर उनिहरुले कानुनी बाटो भन्दा आत्महत्या रोजेका हुन् । बालुवाटार जग्गा प्रकरणमा जोडिएका नेपाली कांग्रेसका नेतासमेत रहेका युक्तप्रसाद श्रेष्ठ, मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरिप्रसाद आचार्य र परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता आरोप लागेका रामबहादुर पाण्डे क्षेत्रीले कानुनी बाटो रोज्नु भन्दा आत्महत्याको बाटो रोजेका हुन् ।

यी दुई आत्महत्यापछि केही प्रश्नहरु उब्जिएका छन् । के उनिहरु साच्चै निर्दोष थिए र अपमान सहन नसकेर आत्महत्या गरे ? वा समाजमा आफ्नो बेइज्जत हुने डरले आत्महत्या रोजे ? वा नेपालको कानुनमा विश्वास नलागेर हतास भई आत्महत्या गरे ? यस्तै यस्तै प्रश्न यी घटनाले उब्जाएका छन् ।

मनोचिकित्सकका अनुसार मानसिक तनाव खेप्न नसक्दा पनि यस्ता अप्रिय घटना घटेको हुनसक्ने बताउछन् । यद्यपी यो समाधान नभएको उनिहरुको तर्क छ । हुन् पनि मुद्दा परेपछि त्यसको निरुपण भनेको कानुनी उपचार नै हो । सत्य केही समय लुक्ला तर सधै लुक्दैन भन्ने स्पष्ट छ । जसका कारण आत्महत्या नै रोज्नु उनिहरुको गल्ती भएको मनोचिकित्सकहरु बताउछन् ।

बालुवाटारकाण्डका श्रेष्ठले यसरी गरे आत्महत्या

श्रेष्ठले साउन १२ गते बालाजुको माछापोखरीस्थित हिमालय सिटी सेन्टरको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन । प्रहरीका अनुसार सातौं तलाबाट खसेका श्रेष्ठलाई उपचारार्थ पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको लागि भर्ना गरिए लगत्तै मृत्यु भएको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्दा श्रेष्ठ डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत रहेका थिए । सोही प्रकरणमा उनलाई अख्तियारले बयान लिइरहेको थियो ।
अख्तियारले बयानमा बोलाएपछि निकै तनावमा रहेका श्रेष्ठले अन्तत सिटी सेन्टरबाट हाम फालेर ‘आत्महत्या’को बाटो रोजेका हुन । बालुवाटारको सरकारी जग्गा ललिता निवास ब्यक्तिका नाममा पुर्याउनका लागि मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको अख्तियार स्रोतले जानकारी दिएको थियो । सरकारी जग्गा हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन खरदार समेत रहेका उनिबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेको थियो ।

तत्कालिन प्रधानमन्त्री ‘मन्त्रिपरिषद्, मुख्य सचिव, मन्त्रालयका सचिव, भूमिसुधार विभाग हुँदै मालपोत कार्यालयमा आएका कागजात सदर गरेर ललितानिवासको जग्गा सुवर्णशमशेरका भोगाधिकारीलाई दिने काममा कांग्रेस निकट कर्मचारीको नेता भएका कारण श्रेष्ठले खरिदार भएपनि सबै प्रकृया मिलाउन महत्वपुर्ण भूमिका खेलेको भेटिएको अख्तियार स्रोतले दावी रहदै आएको छ ।

तत्कालीन नायब सुब्बा आचार्यले यसरी गरे आत्महत्या

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको घटनामा लेनदेन गरेको आरोप लागेका मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरिप्रसाद आचार्यले आत्महत्या गरेका छन् । त्रियुगा नगरपालिका १० बोक्से घर भएका ५५ वर्षीय आचार्यलगायत ७ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ ३ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । आचार्य स्वैच्छिक अवकाश लिएर बसेका थिए ।

शुक्रबार दिउँसो घरबाट निस्किएका आचार्यलाई शनिबार एक किलोमिटर परको शिखरखुट्टे जंगलमा झुन्डिएको अवस्थामा भेटिएको डीएसपी रामकृष्ण केसीले बताउनु भयो । परिवारका अनुसार उनी काठमाडौंबाट घर आइपुग्नेबित्तिकै झोला र मोबाइल घरमा छाडेर निस्किएका थिए । परिवारले शुक्रबारै प्रहरीलाई केसी हराएको जानकारी गराएको थियो । उनी सखुवाको रूखमा प्लास्टिकको डोरीमा झुन्डिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सावित बाँडभन्ज्याङ गाविस ३ को पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहको सरकारी जग्गा व्यक्तिको स्वामित्वमा गएको विषयमा छानबिनक्रममा उनी दोषी देखिएका थिए । उक्त जग्गा व्यक्तिको स्वामित्वमा रहेको सुयल हाउजिङ कम्पनीका नाममा मालपोत कार्यालय कलंकीले गैरकानुनी स्रेस्ता खडा गरेर पुर्जासमेत उपलब्ध गराएको उजुरी परेको थियो ।

घटनामा मालपोत अधिकृत शिवप्रसाद रिमालसहित अन्यविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कारबाही भएको थियो । उनीहरूले त्यसबेलाको न्यूनतम सरकारी मूल्यांकनअनुसार २ करोड २१ लाख १० हजार रुपैयाँ पर्ने सरकारी जग्गा हडप्ने उद्देश्यले गैरकानुनी कार्य गरेको अख्तियारको ठहर थियो ।

आयोगले नक्कली जग्गा धनी मीनाकुमारी थापा, कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गा धनी मीनाका वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा रेग्मी र योगेन्द्र पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । उनका सहकर्मीका अनुसार आचार्यले कलंकी मालपोत कार्यालयमा भएको कमी–कमजोरीबारे सुनाउँदै आएका थिए । झापाबाट सरुवा भएर गएको महिना नबित्दै अख्तियारले फाइल कब्जा गरेको थियो ।

वर्षौं पहिलेदेखि सुयल हाउजिङ कम्पनीका सञ्चालकले जग्गाको नामसारीको विषयमा लपनछपन गर्दै आएको र अन्तिम समयमा सही गर्ने बेला आचार्य परेको ती सहकर्मीले बताए । अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्नुअगाडि नै मालपोतले उक्त जग्गाको नामसारी दर्ता खारेज गरिसकेको थियो ।

त्रिविका कर्मचारीले पनि यसरी गरे आत्महत्या

नेपालकै पहिलो र पुरानो विश्‍वविद्यालय त्रिभुवन विश्वविद्यालयमा रहेको त्रिवि सेवा आयोगमा कर्मचारी भर्नाका लागि लिइएको परीक्षामा अनियमितता भएको समाचार सार्वजनिक भयो । त्यसको लागि छानबिन सुरु भयो । छानबिनकै क्रममा आर्थिक प्रलोभनमा परी त्रिविकै कर्मचारीको संलग्‍नता भएको पाइयो ।

राजनीतिक दल तथा नेताको दबाब र आफन्तलाई नियुक्त गर्ने चलखेलका कारण उक्त उत्तर पुस्तिका परीक्षणमा अनियमितता गरिएको ठहर भयो । उक्त अनियमिततामा त्रिवि सेवा आयोगमा अध्यक्ष चैतन्य शर्मालगायत कर्मचारी दोषी भएको भन्दै विशेष अदालतमा अख्तियारले मुद्दा दर्ता गर्‍यो ।

उक्त विषयमा अनुसन्धान थालियो । अनुसन्धान अघि बढ्दै थियो । त्यही समयमा २ साउन २०७६ मा उत्तरपुस्तिका परीक्षणमा अनियमितता संलग्‍न भएको भन्दै अनुसन्धानमा रहेका त्रिविकै कर्मचारीले आत्महत्या गरे । कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता आरोप लागेका रामबहादुर पाण्डे क्षेत्रीले आत्महत्या गरेका हुन् । उनले दिउँसो त्रिपुरेश्वरको राधा भवनको पाचौं तल्लाबाट हाम फालेर आत्महत्या गरेको महानगरी प्रहरी परिसरले पुष्टि गर्‍यो ।