काठमाडौँ, २१ फागुन । काठमाडौँ शङ्खमूलकी गृहिणी कविता थापाको चार जनाको परिवारलाई एक सिलिन्डर खाना पकाउने ग्यासले डेढ महिना पुग्थ्यो । इन्डक्सन चुलो प्रयोग गर्न थालेपछि अहिले दुईदेखि तीन महिना पुग्ने गरेको छ ।
“पाँचरछ महिनादेखि नियमित रूपमा इन्डक्सन बालेकी छु, यसको प्रयोग गर्दा छिटोछरितो र सजिलो हुँदा ग्यासको प्रयोग कम हुने गरेको छ,” उहाँले भन्नुभयो ।
काठमाडौँ बुद्धनगरकी भावना न्यौपानेको घरमा पनि पछिल्लो समय नियमित रूपमा इन्डक्सन चुलो नै प्रयोग भइरहेको छ । ग्यास चुलो त आक्कलझुक्कल मात्रै प्रयोग हुन्छ । ग्यासको मूल्य बढेर एक हजार आठ सय पुगेको र इन्डक्सन प्रयोग गर्दा सस्तो पर्ने हुँदा नियमित रूपमा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।
थापा र न्यौपाने मात्र नभएर पछिल्लो समय धेरैले बिजुलीबाट चल्ने इन्डक्सन चुलो प्रयोग गर्न थालेका छन् । एलपी ग्यासको मूल्य बढेको र विद्युत् आपूर्ति पनि नियमित हुने गरेकाले सहरी क्षेत्रका भान्छाघरमा ग्यासको खपत कम र बिजुलीको खपत बढ्दै गएको छ । यसलाई घट्दो एलपी ग्यास माग र आयातले पुष्टि गरेको छ ।
एलपी ग्यास खपत सात प्रतिशतले घट्यो
नेपाल आयल निगमका अनुसार चालू आर्थिक वर्षको सात महिना ९साउन–माघ०सम्ममा खाना पकाउने ग्यासको खपत दुई लाख ९६ हजार ५१ मेट्रिक टन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तीन लाख १८ हजार ४०१ मेट्रिक टन ग्यास खपत भएको थियो । खाना पकाउने ग्यासको खपतमा ७ प्रतिशतले कमी आएको हो ।
सामान्यतः वार्षिक रूपमा ग्यासको खपत बढ्दै जाने गरेकामा यस वर्ष भने खपत घटेको हो । निगमका एलपी ग्यास विभाग प्रमुख नेत्रप्रसाद काफ्लेले भन्नुभयो, “चालू आर्थिक वर्षको सुरुदेखि नै ग्यासको खपत घटबढ भइरहेको छ, इन्डक्सनको प्रयोग बढेर पनि ग्यासको माग कम भएको हुन सक्छ । मुलुकमा देखिएको आर्थिक गतिविधिको सुस्तताका कारण माग कम हुँदा समग्र ग्यासको खपतमा कमी आएको हुन सक्ने देखिन्छ ।”
विगतमा खाना पकाउने ग्यासको खपत वार्षिक रूपमा १० देखि १५ प्रतिशतले हुने गरेको उहाँले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षको सात महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधि ९साउन–माघ०सम्ममा खाना पकाउने ग्यासको खपत ७ प्रतिशतले घटेको छ ।
चालू आर्थिक वर्षको सुरुदेखि नै ग्यासको खपत घटबढ भएको छ । निगमका अनुसार २०२२ को अगस्ट ९साउन० महिनामा ३८ हजार ८६९ मेट्रिक टन, सेप्टेम्बरमा ३९ हजार ६२८ मेट्रिक टन, अक्टोबरमा ४२ हजार ६०६ मेट्रिक टन, नोभेम्बरमा ४१ हजार २६७ मेट्रिक टन र डिसेम्बर महिनामा ४४ हजार ७७ मेट्रिक टन खपत भएको छ । २०२३ को जनवरी महिनामा आएर खपत बढेर ४४ हजार २५० मेट्रिक टन पुगेकामा फेबु्रअरीमा खपत घटेर ४२ हजार ३४९ मेट्रिक टनमा झरेको निगमको तथ्याङ्क छ ।
डिजेल २७ प्रतिशतले घट्यो
बजारमा डिजेल खपत पनि घटेको छ । आर्थिक गतिविधि न्यून भई विकास निर्माणका काम सुस्त हुँदा डिजेल खपतमा कमी आएको हो । निगमका अनुसार गत आर्थिक वर्षको सात महिनामा नौ लाख ६० हजार ५३६ किलोलिटर डिजेल खपत भएकामा आव २०७९र८० को सोही अवधिमा खपत घटेर छ लाख ९६ हजार ११ किलोलिटरमा झरेको छ । अघिल्लो वर्षको तुलनामा डिजेल खपत २७ प्रतिशतले कमी हो ।
औद्योगिक खपत पनि कम
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कुशकुमार मल्लीले गार्हस्थ्य उपभोग र आर्थिक गतिविधि कम हुँदा औद्योगिक प्रयोग कम भएकाले खाना पकाउने ग्यासको माग र खपत कमी आएको बताउनुुभयो ।
मुुलकमा देखा परेको आर्थिक असहज परिस्थितिका कारण होटल, रेस्टुरेन्ट, उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन नहुँदा ग्यासको खपतमा कमी आएको उहाँको भनाइ छ । विशेष गरी ग्यासको प्रयोग सिसा उद्योग, छड र फलाम उद्योगमा प्रयोग हुने गर्छ । यी उद्योगमा फर्नेस आयलको प्रयोग हुने गरेकामा फर्नेस आयल महँगो हुँदा ग्यासको प्रयोग हुने गर्छ ।
नेपाल आयल निगमका अनुसार ग्यास ३० प्रतिशत घरायसी प्रयोजन र ७० प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुने गर्छ ।
नेपाल हस्तकला सिसा व्यवसायी सङ्घका अध्यक्ष गोपीप्रसाद कँडेलले आफ्नो उद्योगमा एलपी ग्यासको खपत ५० प्रतिशतले कमी आएको जानकारी दिनुभयो ।
“सिसाजन्य उद्योगमा ग्यासको प्रयोग निकै हुन्छ तर एक वर्षदेखि सिसाजन्य उत्पादन कम हुँदा ग्यासको खपतमा कमी आएको हो,” उहाँले भन्नुभयो । सिसाजन्य सामान हस्तकलाका सामग्रीका रूपमा अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने तर माग नै कम भएको र सिपिङ लागत उच्च भएकाले निर्यात हुन नसकेको उहाँले बताउनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले आर्थिक गतिविधि सुस्त रहेको, उत्पादन लागत र कच्चा पदार्थ बढिरहेकाले उद्योग पूर्ण रूपमा सञ्चालन हुन नसकेको कँडेलले बताउनुभयो । गोरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्