जनता टाइम्स

६ भाद्र २०७६, शुक्रबार ०८:५४

यस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था


काठमाडौं, भदौ ६

प्रधानमन्त्री केपी शर्मा ओली मृगौलाको थप स्वास्थ्य उपचारका लागि विहिवार मध्यान्ह सिंगापुर प्रस्थान गर्नुभएको छ । उहाको शरिरले मृगौला प्रत्यारोपण गरेको थाहा पाएपछि समस्या उत्पन्न भएको हो ।

स्वास्थ्य अवस्थाका बारेमा विभिन्न अड्कलबाजी उत्पन्न भईरहेका उहाका निजी चिकित्सक डा. दिब्या सिंहले विहिवार नै एक वक्तव्य जारी गर्नुभएको छ । विज्ञप्तीमा स्वास्थ्य अवस्था र उपचार पद्दतिका विषयमा जानकारी दिनुभएको छ । डा. सिंहद्वारा हस्ताक्षरित नोटमा अघिल्लोपटक साउन १८ देखि २७ गतेसम्म न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरिएको र त्यसै दौरान उहाको शरिरमा ‘एन्टीबडी’को मात्रा धेरै रहेको देखिएको बताइएको छ ।

सामान्य भाषामाभन्दा ‘एन्टीबडी’ भनेको शरीरमा कुनै बाहिरी तत्वले आक्रमण गरे शरीरलाई त्यस तत्वबाट जोगाउन शरीरले उत्पादन गर्ने एकप्रकारको लडाकु कोष हो । ‘१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको शरिरमा एन्टीबडीको मात्रा धेरै हुनुभनेको उहाँको शरिरले ‘डोनर’बाट प्राप्त मिर्गौलालाई अस्वीकार गर्न थाल्यो कि भन्ने हो’, वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालले भन्नुभयो,‘यस्तोमा प्लाज्माफेरेसिस गरेर उहाँको शरिरबाट धेरै मात्रामा रहेको एन्टीबडीलाई बाहिर निकालिन्छ । र फेरी एन्टीबडी बढ्न नदिने औषधि दिइन्छ ।’ उहाको अनुसार अंग प्रत्यारोपण गरिएका बिरामीमा १०–१२ वर्षपछि यस्ता समस्या देखिनु भनेको सामान्य हो ।

प्लाज्माफेरेसिस पद्दतीमा शरीरबाट रगतलाई नलीको माध्यमबाट एफेरेसिस मेसिनमा पठाइन्छ र एफेरेसिस मेसिनले धेरै मात्रामा रहेको एन्टीबडी रगतबाट निकालेर अरु रगतलाई पुनः शरीरमै पठाउँछ । ‘शरीरमा अत्याधिक मात्रामा रहेको एन्टीबडीलाई निकालेपछि पुनः बढ्न नदिन केही औषधिहरु दिइन्छ । त्यो औषधिले राम्रो काम गरे प्रधानमन्त्रीज्यूलाई तत्काल मिर्गौला प्रत्यारोपणको आवश्कता रहँदैन,’ उहाले भन्नुभयो, ‘तर एन्टीबडीको उत्पादनलाई नियन्त्रण गर्ने औषधिले सोचे अनुरुप कार्य नगरेको खण्डमा भने प्रत्यारोपणको विकल्प छैन ।’ उहाकाअनुसार कहिले काँही औषधिले राम्रै काम गर्छ भने कहिले अपेक्षा गरेभन्दा छिटो नै धेरै जटिलताहरु पनि आइपर्नसक्छ ।

डा. बरालका अनुसार प्रधानमन्त्रीको शरीरमा कुन प्रकारको एन्टीबडी कति मात्रामा बढेको हो भन्ने कुराले पनि उहाको अगाडिको उपचार पद्दती निर्क्योल गर्छ । ‘प्रेस नोटमा प्रधानमन्त्रीज्यूको शरीरमा एन्टीबडीको मात्रा बढेको मात्रै जानकारी दिइएको छ । त्यसैले के कस्तो प्रोटोकल अनुसार उपचार गरिने हो यसै भन्न सकिन्न,’ उहाले भन्नुभयो ।

सुरुमा प्रधानमन्त्री ओलीको साउन १० गते शुक्रबार सैनिक अस्पताल छाउनीमा नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो । रेनल बायोप्सीको रिपोर्टकै आधारमा उहालाई थप परीक्षण र उपचारका लागि सिंगापुर लैजाने निर्णय भएको थियो । रेनल बायोप्सी मिर्गौलाप्रत्यारोपण गरिएको मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर मूल्यांकन गर्ने गरिन्छ । यसको परीक्षण मिर्गौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा प्रोटिन देखिए पनि गरिन्छ । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको प्रत्यारोपणलगत्तै पनि यस्तो बायोप्सी गरिन्छ ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो । ६ वर्षअघि उहाको हातमा संक्रमण भएको थियो । निकै लामो समय उपचार गरेर निको भएको थियो । उहाले दिल्ली र थाइल्यान्ड गएर उपचार गर्नुभएको थियो । त्यसपछि उहा नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए । गत वर्ष प्रधानमन्त्रीको शपथ लिनु केही दिनअघि बैंककस्थित ब्रुमरुग्रान्ड इन्टरनेसनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।

चिकित्सकका अनुसार प्लाज्मा फेरेसिस नेपालमा पनि उपलब्ध छ । एक सेसन गर्दा नेपालमा ७० देखि ८० हजार रुपैयाँ लाग्दछ । मिर्गौला रोगको उपचार हुने नेपालका अस्पतालमा पनि यसको उपचार हुने गरेको छ । तर, प्रधानमन्त्रीको नियमित स्वास्थ्य चेकजाँच सिंगापुरमा गरिरहेकाले त्यहाका चिकित्सकलाई उहाको शरिर जान्न धेरै नै सजिलो हुने भएकाले त्यहा लागिएको बताए । यो कुनै खर्चिलो उपचार नभएकाले यसमा नकरात्मकता फैलाउनुपर्ने कुनै कारण नभएको उहाको भनाई छ ।