जनता टाइम्स

२७ जेष्ठ २०८०, शनिबार ०५:४६

भिडन आउन खोजेको हो सत्तापक्ष ?


तपाईलाई भिडियो देखाईदेउला । फोटो देखाई दिउला । कुन पार्टीको कार्यकर्ता हो ? म तपाईलाई भन्न चाहन्छु । के हामीसँग भिडन आउन खोज्नु भएको छ सत्तापक्ष ?

योगेश भट्टराई

कुरा अलिक गम्भिर छ, सभामुख महोदय । हामीले २०७२ सालमा यही हलबाट संविधानको घोषणा गर्यौं । देश एउटा सकारात्मक दिशामा अगाडि बढ्यो । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भयो । देशलाई ७ वटा प्रदेशमा विभाजन गरियो । र, ७५३ वटा स्थानीय तहहरु हामीले बनायौं । र, त्यतिबेला तत्कालिन सरकारले प्रदेशका राजधानीहरु अस्थायी रुपमा तोक्यो । र, प्रदेशको नाम संख्याको आधारमा १ देखि ७ भनेर तोक्यो ।

हाम्रो संविधानले के भनेको छ भने सभामुख महोदय, प्रदेशको राजधानी र नाम तोक्ने अधिकार प्रतिनिधिसभालाई छैन । कुनै राजनीतिक दललाई छैन । यो सिर्फ प्रदेश सभालाई छ । र, प्रदेशसभाको दुई तिहाई बहुमतबाट तोक्ने अधिकार संवैधानिक हिसावले छ । सबै प्रदेशहरुले आफ्नो नाम तोके । राजधानी पनि भयो । र, एक नम्बर प्रदेशले पनि आफ्नो राजधानी तोक्यो । तर, नाम तोक्न बाँकि थियो । र, अहिले २०७९ सालको निर्वाचनपछि बनेको प्रदेशसभाले २०७९ सालको फागुन १७ गते प्रदेशसभाको दुई तिहाई मात्र होइन । त्यो भन्दा पनि ठूलो बहुमतबाट प्रदेशको नाम कोशी प्रदेश तोक्यो । यो एउटा स्वभाविक लोकतान्त्रिक प्रक्रिया हो सभामुख महोदय ।

हामीलाई सम्झना छ । म यो गरिमामय संसदलाई ध्यानाकर्षण गराउन चाहन्छु । प्रदेश नम्बर २ को नाम के राख्ने ? निकै लामो बहस भएको थियो । त्यतिबेला हाम्रो पार्टीले जानकी प्रदेश राख्ने प्रस्ताव गरेको थियो । नेपाली काँग्रेसले मिथिला प्रदेश प्रस्ताव गरेको थियो । र, त्यहाँ मतदान हुँदा मधेश प्रदेश दुई तिहाइले पारित भयो । हाम्रो पार्टीको असहमती थियो । तर लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने पार्टी हुनुको नाताले हामीले सो कुरालाई स्विकार गर्यौंं । आज पनि हामी स्विकार गर्दछौं । किनभने नेकपा एमाले लोकतान्त्रिक पार्टी हो ।

यदि हाम्रा विमति छन भने संवैधानिक हिसावले, संसदीय प्रक्रियाको हिसावले हामी राख्छौं । तर, त्यसको नाममा हामीले मधेशमा कुनै उत्तेजना खडा गरेनौं । हामीले मधेशमा कसैमाथि िढुंगामुढा गरेनौं । हामीले मधेशमा कुनै अशोभनीय गतिविधि गरेनौं । तर आज दूर्भाग्यपूर्ण कुरा छ । कोशी प्रदेशको नाम के राख्ने ? यो कोशी प्रदेशको आफ्नो अधिकारको कुरा हो । तर त्यसका नाममा केही महिना अगाडि हाम्रो पार्टीका अध्यक्ष, नेता केपी शर्मा ओली, हाम्रो पार्टीका संसदीय दलका उपनेता, यही संविधान निर्माणका बेलामा संविधानसभाका अध्यक्ष सुवाष नेम्बाङलगायतका हाम्रो पार्टीको शिर्ष नेतृत्वको टोली पूर्वको विभिन्न क्षेत्रको भ्रमण गर्न जाँदा झापाको चारआलीदेखिनै इलाम, पाँचथर र तेह्रथुमसम्मका सडकहरुमा अवरोध सृजना गर्ने, रुखहर ढाल्ने, गाडीमा ढुंगामुडा गर्ने, कालो झण्डा देखाउने, त्यति मात्रै होइन, केही ठाउँमा एम्बुस समेत थापिएको थियो ।

त्यसको मतलव हाम्रा नेताहरुको हत्याको प्रयास भएको थियो भन्ने कुरा स्वभाविक रुपमा बुझन सकिन्छ सभामुख महोदय, त्यो बेला पनि हामीले प्रश्न उठायौं । म माननीय गृहमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु–उहाँले यही रोष्टममा आएर सरकारको तर्फबाट ध्यानाकर्षण भएको कुरा गर्नु भएको थियो । र, हामीलाई विचित्र लाग्छ सभामुख महोदय, सर्वसाधारणा नागरिकको ज्यान, धनको सुरक्षा गर्ने दायित्व सरकारको हो । त्यसमा पनि यो देशको लामो राजनीतिक जीवन व्यथित गरेको ठूलो पार्टीको नेता, स्वभाविक रुपले संविधानले दिएको अधिकार प्रयोग गर्दै आफ्ना पार्टीको कार्यक्रममा जाँदा एम्बुस समेत थापेर मार्न खोजिन्छ भने यो बुद्धको देशमा के हुँदैछ सभामुख महोदय । म सोध्न चाहन्छु–हामी कता जाँदैछौं ? यो हिंसा कसले भडकाई रहेको छ ? हामीले त्यो बेला पनि प्रश्न उठाएका थियौं ।

माननीय गृहमन्त्रीज्यूले केही जवाफ दिनु भयो । हामीलाई लागेको थियो । त्यस्ता गलत क्रियाकलाप गर्ने मानिसहरुलाई कारबाही होला । उनीहरु निरुत्साहित होलान । तर त्यो भएन । हामीले देख्यौं–यो आक्रमणको क्रममा एक जना प्रर्दशनकारीको मृत्यु भयो । त्यो मृत्य के कारणले भयो ? म आज यो सम्मानित सदनमा गृहमन्त्रीजीलाई सोध्न चाहन्छु–के पुलिसको लाठीबाट, गोलीबाट त्यो प्रर्दशनकारीको मृत्यु भएको हो कि होइन ? पुलिसको रिर्पोटले के भन्छ ? किनभने सञ्चार माध्याममा आएको छ । प्रर्दशनकारीहरुकै तर्फबाट पुलिसलाई हानिएको लाठीले अचानक उनको टाउको बज्रिन जाँदा उनको दुखद मृत्यु भएको समाचार पत्रपत्रिकामा आएको छ । यो सत्य हो कि होइन ? यदि पुलिसले लाठी चार्ज गरेर निशाना लगाएर हत्या भएको हो भने त्यो पुलिसमाथि कारबाही हुनु पर्यो । होइन भने पुलिसहरुमाथि ज्यादति भएको छ ।

पुलिसहरुको अनुहारमा ढुंगाले हानिएको छ । अनुहार किच्याइएको छ । सरकार मुकदर्शक बन्छ । आफ्नो सहकर्मी पुलिसको सुरक्षा गर्न जाँदैन । राजनीतिक दलका नेताको सुरक्षा गर्दैन । यो बिडम्बनापूर्ण कुरा छ । हिजो मात्रै हाम्रा पार्टीका केन्द्रिय सदस्य कोशी प्रदेशका माननीय सदस्य, सो प्रदेशका एमालेका संसदीय दलका उपनेता राम रानामाथि इलाममा सांघातिक हमला भएको छ । उहाँको गाठी तोडफोड गर्ने काम भएको छ । उहाँमाथि मोविल छर्केर जलाउने कोशिस भएको छ । हामीले प्रतिवाद गर्यौं, हाम्रा साथीहरुले प्रतिवाद गर्नुभयो । र, उहाँको ज्यान जोगिएको छ ।

बिहीवार मात्रै उदयपुरको गाईघाटमा कोशी सभाका उपसभामुख माननीय सृजना दनुवारको गाडी तोडफोड भएको छ । ढुंगामुडा भएको छ । गाडीमा राखिएको नेपालको राष्ट्रिय झण्डा जलाइएको छ । फ्याँकिएको छ । हातपात समेत भएको छ । नजिकै प्रहरीको डिएसपीको कमाण्ड छ । तर, केही पनि गर्दैन । यो किन भईरहेको छ । त्यसकारण आज हामी गम्भिरताका साथ माननीय गृहमन्त्रीजीलाई यो के भएको छ भनेर सोध्नका निम्ति सभामुखसँग हामीले समय मागेका छौं । म सभामुख महोदय, नेकपा एमाले एउटा संयमित पार्टी हो ।

मलाई सम्झना छ । २०७३ सालको फागुन २३ गते राजविराजको तिलाठीमा हामी सबैलाई एउटै चिहानमा मार्न खोजिएको थियो । त्यो बेलाको गृह प्रशासन को थियो ? हामीले गजेन्द्रनारायण सिंह रंगशालामा कार्यक्रम गर्न खोजेका थियौं । त्यहाँ स्थानीय सहमती भएपछि हामीले राजविराजको औंद्योगिक क्षेत्र माग्यौं । त्यति हुँदा पनि भएन । हामीमाथि सांघातिक हमला भयो । हाम्रो पार्टीका सबै नेताहरु त्यहाँ हुनुहुन्थ्यो । हामीलाई एउटै चिहानमा पार्न खोजिएको थियो । तर सभामुख महोदय, म ध्यानाकर्षण गर्न चाहन्छु–मधेशमा एमालेलाई लेखेटने भनियो । तर आज मधेशमा नेकपा एमाले पहिलो पार्टी भएको सभामुख महोदय । कुनै बेला पूर्वमा एमालेलाई लेखटने भनियो । २०७० सालको निर्वाचनमा ताप्लजुङदेखि ओखलढुंगासम्मको सम्पूर्ण निर्वाचनमा एमालेले जितेर आयो । यो हेक्का होस् ।

एमालेलाई लखेटने नाममा यस्तो ढंगका गतिविधिहरु हामीलाई स्विकार्य छैन । पटकपटक एमालेमाथि यो पुनरावृत्ति भईराखेको छ । र, हिजोका घटनाहरु त्यसको पुनरावृत्ति हो सभामुख महोदय । त्यसकारणले हामी भन्न चाहन्छौं–नम्बर एक, प्रर्दशनकारी, जसको मृत्यु भएको विराटनगरमा उनको मृत्यु के कारणले भयो ? गृहमन्त्रीजी जवाफ दिनु पर्छ । पुलिसले होकि, राज्यले होकि । कहाँबाट भयो ? त्यो दुखद हो । म दुःख व्यक्त गर्न चाहन्छु । दोस्रो कुरा, प्रदेशको नाम के राख्ने भन्ने कुरा त्यो हामीसँग मतलव छैन । त्यो प्रदेशसभाको कुरा हो । यदि प्रदेशको नाम राख्ने कुरामा कुनै पार्टीलाई चित्त बुझेको छैन भने कोशी प्रदेशमा बैधानिक प्रक्रियाबाट दुई तिहाई बहुमतबाट तपाई नाम परिवर्तन गर्नुस् हामीलाई त्यो स्विकार्य छ । त्यो प्रक्रियाबाट आउनुस । ढुंगामुढा गरेर हुँदैन । अराजकता सृजना गरेर हुँदैन । देशलाई जातीय हिसावले विभाजन गर्ने, साम्प्रदायिक हिसावले विभाजन गर्ने यो भन्दा दुखद कुरा केही पनि हुँदैन ।

राजनीतिक हिसावले हामीले झगडा गरौं । केही फरक छैन । तर जातीय, धार्मिक, साम्प्रदायिक मुद्दाहरु त्यहाँ आँउछन । मुख्यमन्त्रीमाथि हमला हुन्छ । मुख्यमन्त्रीमाथि दूव्र्यवहार हुन्छ । अरु मन्त्रीहरुमाथि त्यहाँ दूूव्र्यवहार हुन्छ । सरकारी कार्यालयको साईनबोर्ड फ्याँकिएका छन । सरकार रमिता हेरिराखेको छ ? म भन्न चाहन्छु–सत्तारुढ घटक मध्येका केही दलका प्रतिनिधिहरु हाम्रो पार्टी अध्यक्षमाथि हातपात गर्न आए । उपसभामुखमाथि हातपात गर्न आए । राम रानामाथि हातपात गर्न आए ।

तपाईलाई भिडियो देखाईदेउला । फोटो देखाई दिउला । कुन पार्टीको कार्यकर्ता हो ? म तपाईलाई भन्न चाहन्छु । के हामीसँग भिडन आउन खोज्नु भएको छ सत्तापक्ष ? हामीसँग के गर्न खोज्नु भएको सत्तापक्ष ? त्यसकारणले सभामुख महोदय, यो गम्भिर कुरा छ । म अन्तिममा हामी शान्तिपूर्ण विरोध प्रर्दशनमा विश्वास गछौं । चित्त नबुझेका कुरा शान्तिपूर्ण ढंगले राख्नुस । वैधानिक तरिकाले प्रदेशको नाम बदल्नु हुन्छ भने बदल्नुस । त्यसमा एमालेको आपत्ति छैन । तर एमालेमाथि पार्टीगत हिसावले र नेतागत हिसावले निशाना लगाईन्छ भने, यदि गृहमन्त्रीजी तपाईले हाम्रो सुरक्षा दिन सक्नु हुन्न भने नेकपा एमालेको सुरक्षा नेकपा एमालेले गर्छ । म तपाईलाई चुनौतिका साथ भन्न चाहन्छु । यसको स्पष्ट ढंगको जवाफ गृहमन्त्रीजीबाट चाहन्छौं । यदि उहाँले जवाफ दिनु हुन्नभने हाम्रो विरोध जारी रहन्छ ।

(एमाले सचिव भट्टराईले शुक्रवार संसदमा ब्यक्त गर्नुभएको बिचारको सम्पादित अंश)