जनता टाइम्स

१६ भाद्र २०७६, सोमबार ०८:१०

मदनकृष्णको तीज संस्मरण : मुखबाट फुत्केको त्यो शब्द सम्झदा अहिले पनि लज्जा हुन्छ


एकदिन बिहानै घरबाट बाहिर निस्केको थिएँ । सानो काम भ्याएर बिहानको खाना खाने गरी घरभित्रत्र छिर्दा रातो साडी, रातै चोलो, रातो पोते, रातै चुरामा राताम्य भएकी यसोदालाई झ्वाट्ट देखें, त्यो दृश्य देख्ने बित्तिकै मेरो मुखबाट ‘छि…’ भन्ने शब्द निस्केछ

काठमडौं, भदौ १६ । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई हरितालिका तीजको दिन आफ्नै पत्नी यसोदासामु अनसायै ब्यक्त गरेको शब्दले अहिले पनि सताइरहन्छ । आज भन्दा ४२ बर्ष अघि तीजको दिन आफ्नै घरको दृष्य संझेपछि अहिले पनि आफूलाई लज्जित महसुस गर्नुहुन्छ श्रेष्ठ । त्यस दिन पत्नी रातो सारीमा चिटिक्क सजिएको दृष्य देख्दा अनयासै फुत्केको त्यो शब्दले सताइ रहन्छ ।

यस्तो छ श्रेष्ठको तीज संस्मरण 

अन्तरजातीय विवाह विरलै हुने समयमा श्रेष्ठ परिवारमा जन्मेर पनि सुवेदी परिवारको छोरीसँग अन्तरजातीय विवाह गर्नसक्ने मान्छे म । एक किसिमले समाजसँग नडराउने, अरुले के भन्लान भन्ने वास्ता नगरिकन समाजलाई पेल्नसक्ने मान्छे म । म आफूलाई हिम्मत भएकै व्यक्ति सम्झन्थें । म भीत्र कुनै किसिमको जातीय संकुचना छैन भन्ठान्थें । तर मभित्र पनि अन्तरकुन्तरमा संकुचित भावना लुकिरहेको रहेछ । तीजको दिन थियो । मेरो मुखबाट अनायास संकुचित गलत शब्द फुत्त निस्केको थियो । जुन कारणले पत्नी यसोदाको सामु तीन÷चार वर्षसम्मै म लज्जित भएको थिएँ । कहिलेकाहीँ त्यो कुरा सम्झिदा अहिले पनि नमज्जा लाग्छ ।

पछिल्ला वर्षहरुमा महिलाहरुका लागि हरितालिका तीजले एउटा राष्ट्रिय चाडकै रुप लियो । तर मेरो र यसोदाको बिहेताका तीजले अहिलेजस्तो व्यापक रुप लिईसकेको थिएन । २०२३÷२४ सालतिर तीजका दिन जीतपुर फेदीबाट सुन्धारामा रहेको संचयकोषको अफिस आउँदा बालाजुतिर कतै पाँच÷सात जना त कतै १२÷१५ जनाको समूह समूहमा बसेर महिलाहरु थपडी बजाउँदै जुहारी जस्तो गीत गाइरहेको देख्थें । त्यतिबेला मलाई लाग्थ्यो, यो तीज भनेको काँठ तिरका बाहुनक्षेत्री दिदीबैनीहरुले मनाउने चाड हो जस्तो लाग्थ्यो।

म हुर्केको नेवार समुदायमा तीजलाई कसैले वास्तै गर्दैनथे । नेवार समुदायका मान्छेहरुलाई तीजका दिन बाहुनक्षेत्री चेलीबेटीहरुले रातो साडी, रातै चोलो, कपालमा लपक्क तेल लगाएर रातो रिबन बाँधेको, के नमिलेको, के नसुहाएको जस्तो नजरले मात्र हेर्थे । तीजको महत्वबारे थाहै नभएको वातावरणमा हुर्केकाले होला मलाई तीजको कुनै चासो लाग्दैनथ्यो । न कुनै रौनक नै। एकदिन बिहानै घरबाट बाहिर निस्केको थिएँ । सानो काम भ्याएर बिहानको खाना खाने गरी घरभित्रत्र छिर्दा रातो साडी, रातै चोलो, रातो पोते, रातै चुरामा राताम्य भएकी यसोदालाई झ्वाट्ट देखें, त्यो दृश्य देख्ने बित्तिकै मेरो मुखबाट ‘छि…’ भन्ने शब्द निस्केछ।

मेरो मुखबाट त्यस्तो शब्द के निस्केको थियो, यसोदाले आफूले कैयन बेर मिलाएर लगाएको राता लुगाहरु सबै बाङ्बुङ फुकालेर अरु बेला झैं घर बस्दा लगाउने कपडा लगाइन्। त्यो दृश्य देख्ने बित्तिकै उत्ति नै खेर मलाई आफ्नो गल्ती महसुस भइहाल्यो। मैले विचारै नगरी कस्तो बोल्नै नहुने शब्द बोलेछु। मैले सरी–सरी भनेर कयौंपल्ट अनुरोध गर्दा पनि यसोदाले रातो साडी लगाउँदै लगाइनन्। त्यो वर्ष मात्र हैन, त्यसपछि दुईरतीन वर्षसम्म पनि उनले तीजको दिन रातो साडी लगाइनन्।

खासमा मैले मेरो परिवारमा कहिल्यै नदेखेको दृश्य थियो त्यो। त्यौड टोल बस्ने माईलो फुपाजु केशवलाल श्रेष्ठ दरबारमा मिर सुब्बाको रुपमा काम गर्ने भएकाले दरबारको साथ संगतले गर्दा तीजको दिन माईली फुपु हल्का रातो रंगको साडी लगाउनुहुन्थ्यो। न मलाई तीजको दिन महिला चिटिक्क पर्छन् भन्ने थाह थियो, न त्यो दिन लगाइने रातो कपडाको सांस्कृतिक महत्व नै। एक किसिमको ‘कल्चरल ग्याप’ नै थियो त्यो।

बोल्न नहुने शब्द फुस्काएकोमा तुरुन्तै मैले आफ्नो गल्ती स्वीकारीसकेको थिएँ। त्यो घटना प्रति मलाई सधैं पछुतो लागिरह्यो र यसोदाले त्यो सधैं सम्झिनै रहिन्। हामी दुवैले अन्तरजातीय विवाहको सुरुसुरुमा केही ‘कल्चरल क्ल्यास’ पनि हुन्छ भनेर समझदारी बनाउँदै गयौं। हामी दुईले फरक परम्परा र संस्कृतीमा ससाना कुराको पनि के कस्तो महत्व हुन्छ र त्यसले मान्छेलाई कसरी छुन्छ भन्ने संवेदनशिलता बुझ्दै गयौं। यस्तै यस्तै बुझाईले हामीलाई पाको बनाउँदै ल्यायो।

हामी सबै जातजाति र सबै धर्मका रितीरिवाजहरुलाई आदर गर्ने हुँदै आयौं।हाम्रो अन्तरजातीय विवाह नभएको हुँदो हो त सायद धेरै वर्षसम्मै जातीय संकिर्णताले मेरो मनमा डेरा जमाएर बस्थ्यो होला।

कवि दुर्गालाल श्रेष्ठ दाईले लेखिदिनु भएको सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल, मेचीकाली सिंगै ढिक्को साझा हाम्रो ज्यान नेपाल…बोलको गीत हामीले १५ गते टेलीफिल्ममा राखेका थियौं। उक्त गीतको भाव वास्तविकतामा हिजोआज तीजको दिन देख्छु म। विभिन्न जातिय समुदायका महिलाहरु रातो र हरियो लुगा लगाएर, चिटिक्क परेर, सबै दुःख बिर्सेर मच्चिदै छमछमी नाचेको देख्दा म आफैंलाई पनि नाच्न जाऊँ जाऊँ लाग्छ । कस्तो रमाइलो…।