जनता टाइम्स

२१ भाद्र २०७६, शनिबार ०९:४०

दशैं अगाडी गाडी भाडा नबढाउने


काठमाडौँ, भदौ २१

सरकार र यातायात व्यवसायीले दसैंअघि गाडी भाडा नबढ्ने बताएका छन् । यातायात विभागले चाडबाडमा यात्रु बसलाई सहज बनाउन सरोकारवालासँगको छलफललाई तीव्र बनाएको छ ।

‘यातायात व्यवसायी भाडा बढाउन बैठक बसिरहेका छन् भन्ने हल्ला मात्रै हो । भाडाबारे निर्णय सरकारले गर्छ,’ नेपाल यायायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘भाडा समायोजनको विषयमा सरकारसँग हामीले कुनै बार्गेनिङ गरेका छैनौं ।’ एक साताको समय मागेर दसैंमा यात्रुलाई सहज रूपमा सेवा दिन सकिन्छ भन्नेबारे देशभरका व्यवसायी जम्मा भएर छलफल गरिरहेको उनले बताए । दसैंमा उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले पनि दसैंअघि गाडी भाडा नबढ्ने दाबी गरे । ‘यात्रुलाई सहज र सुरक्षित तरिकाले घरसम्म पुग्ने व्यवस्था हामी गर्दै छौं,’ उनले भने, ‘दसैं मनाएर सुरक्षित तरिकाले काठमाडौं फर्कने वातावरण पनि हामीले सिर्जना गर्ने छौं ।’ उनका अनुसार केही दिनअघि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, काठमाडौंमा रहेका यातायात व्यवस्थापन कार्यालयका प्रमुख, ट्राफिक प्रहरी, उपभोक्ता मञ्चको टोलीलाई बोलाएर छलफल गरिएको थियो । छलफलबाट उपत्यकाको १४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गर्ने निर्णय भएको छ ।

‘सर्वसाधारणको बढी चाप हुने, बढी टिकट काटिने ठाउँमा नागरिक सहायता कक्ष राखिनेछ,’ उनले भने, ‘यो सेवा असोज १० देखि १८ गतेसम्म सञ्चालन हुनेछ ।’ उनका अनुसार गौशाला, नयाँबस पार्क, चाबहिल, कोटेश्वर, बल्खु, कलंकी, नागढुंगालगायत १४ स्थानमा सहायता कक्ष रहनेछन् ।

जहाँ ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागका कर्मचारी, उपभोक्ता समाज प्रतिनिधि रहनेछन् । टिकट काट्ने क्रममा यात्रुलाई अप्ठ्यारो परेमा तत्काल नागरिक सहायता कक्षले समाधान गर्ने छ । यात्रुले समस्या पर्नसाथ सहायता कक्षमा गएर जानकारी गराउन पाउने छन् ।

बढी भाडा लिने र टिकटमा बस नम्बर भएरनभएकोबारे हेरेर तत्काल समाधान गर्ने योजना छ । सहायता कक्षमा यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरी पनि हुने भएकाले उनीहरूलाई यातायात व्यवसायीबाट कुनै गल्ती गरेको भेटिए तत्कालै अधिकतम जरिवाना गर्नेसम्मको अधिकार दिइएको उनले बताए ।

‘यसपटक टिकट बुकिङ व्यवस्थित गर्ने छौं, दसैंका बेला सवारी साधनको संख्या अन्य समयको भन्दा सीमित हुने, धेरै यात्रु बाहिरिने भएकाले सवारी साधन नपुग्ने हुन्छ,’ उनले भने, ‘यो बेला अन्य रुटमा चलेका सवारी साधनलाई पनि ल्याउनुपर्ने अवस्था हुन्छ ।’ उनले गत वर्षजस्तो यो वर्ष टिकट नपाउने, टिकटमा कालोबजारी हुने समस्या नरहने दाबी गरे ।

‘यस्तो समस्या नहोस् भन्नका लागि गत वर्ष काठमाडौंको कुन–कुन रुटबाट कति कति यात्रु बाहिरिए भन्ने तथ्यांक संकलन गरिरहेका छौं,’ उनले भने, ‘अहिले ती रुटमा कति सवारी साधन गुडिरहेका छन्, यसबारे अध्ययन गरिरहेका छौं ।’ अध्ययनपश्चात् थप बस कति चाहिने र कहाँबाट ल्याउने भन्ने योजनासहित यातायात व्यवसायीलाई आउन भनिएको उनले बताए । विभागले यात्रुलाई यात्रामा सहज बनाउन सम्बन्धित प्रदेशहरूमा पनि पत्राचार गर्ने जनायो ।

‘यात्रु कति हुन्छन्, साधन कति उपलब्ध छन्, नयाँ थपिने कति हुन्, थप साधन कताकताबाट ल्याउन सकिन्छ भनेर व्यवस्थित तरिकाले अघि बढौं भन्ने छ,’ उनले भने, ‘यसबारे दैनिक छलफल भइरहेको छ, यही २५ गते यातायात व्यवसायी राष्ट्रिय महासंघको टोलीलाई बोलाएका छौं, योजनाबारे टुंगिए २६ गतेबाटै टिकट खुला गर्ने सोचमा छौं ।’

दसैं आउनु १५ दिनअघिबाट टिकट खुला गर्ने बताए । ‘सवारी साधनको भाडा दर यात्रुले थाहा पाउने गरी गाडीमा टाँस्नैपर्नेछ,’ उनले भने, ‘भाडा एउटै हुन्छ, बढी भाडा लिए ऐनअनुसार तत्काल कारबाही गर्नेछौं ।’ अहिले जति छ, त्यही भाडादरमा यात्रुले गन्तव्यसम्म पुग्न पाउनेछन् । ‘चाडबाडको मौका छोपेर सिट क्षमताभन्दा बढी यात्रु बोक्न पाइने छैन,’ उनले भने, ‘गाडीमा डिलक्स लेख्या हुन्छ तर डिलक्सको कुनै सुविधा हुँदैन, यसलाई कडाइका साथ हेर्न भनेका छौं, दायाँबायाँ गरे ठाउँको ठाउँ जरिवाना गर्नेछौं ।’ उनले अनुगमनलाई प्रभावकारी बनाउने बताए ।

विभागले प्याब्सन र एन प्याब्सनसँग छलफल गरेर दसैंको दुई–तीन दिनअघि नै विद्यालय बन्द गर्न आग्रह गर्ने जनाएको छ । ‘विद्यालय, क्याम्पस, सरकारी कार्यालय र प्राइभेट कम्पनीहरूको बिदा एकैचोटि हुँदा समस्या हुने गरेको छ,’ उनले भने, ‘जसले गर्दा एकैपटक यात्रुको चाप हुन्छ, यसलाई मध्यनजर गर्दै अलिअघि विद्यालय क्याम्पस बिदा भए सजिलो हुने थियो ।’

यता सिटौलाले योपटक विगतभन्दा समस्या हुने बताए । ‘यसपटक नयाँ गाडी आएनन्, नयाँ नआउनुको कारण बैंकले सवारी कर्जामा कडाइ गर्नु मुख्य समस्या हो,’ उनले भने, ‘जसले गर्दा नयाँ गाडी बुक भएनन् ।’ अर्को समस्या यातायात क्षेत्रमा देखिएको अन्योल हो ।

‘हिजोको जस्तो परिस्थिति छैन, बिमाको प्रस्ट नीति भएन, सवारीको सुरक्षा छैन,’ उनले भने । उनले जस्तोसुकै परिस्थिति भए पनि यात्रुलाई चाडबाडमा समस्यामा नपार्ने दाबी गरे । ‘देशैभर यातायात व्यवसायीलाई आह्वान गरेर सम्पूर्ण गाडीहरू अग्रिम टिकट बुकिङ खुला गरेपछि काठमाडौं ल्याउन भनेका छौं,’ उनले भने, ‘सहरी क्षेत्रमा मात्र यात्रु लगेर मात्र भएन, गाउँगाउँसम्म लिएर जानुपर्छ ।’ वर्षात्ले गर्दा सडक बिग्रिएकाले त्यसलाई यथाशीघ्र मर्मत गर्नुपर्ने माग महासंघको छ । (कान्तिपुर)