जनता टाइम्स

२५ भाद्र २०७६, बुधबार १०:०४

पेन्सन अवधि १६ वर्ष बनाउन सेनाको प्रस्ताव


काठमाडौं, भदौ २५ । नेपाली सेनाले निवृत्तिभरण (पेन्सन) को सेवा अवधि घटाउने प्रस्ताव गरेको छ । तल्लो तहका सैनिकको मागअनुसार सेनाले रक्षा मन्त्रालयमा पेन्सन अवधि घटाउने प्रस्ताव पठाएको हो ।

‘प्रधानसेनापति रोलकल’ कार्यक्रममा तल्लो तहका सैनिकको सबैभन्दा धेरै गुनासो निवृत्तिकरणको सेवाअधि १६ वर्ष बनाउन माग भएपछि सेनाले सोहीअनुसार ऐन संशोधनका लागि रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो । हाल पेन्सन लिएर निवृत्तिभरणका लागि २० वर्ष सेवाअवधि पुग्नुपर्ने प्रावधान छ ।

सरकारले सबै निकायमा सेवा अवधिको उमेर एकरुपता बढाइ २० बनाएको थियो । सेना तथा प्रहरीमा पेन्सनको अवधिलाई १६ बनाउन माग हुँदै आएको छ । एक बर्ष अवधी पुगेको अवसरमा मंगलवार आयोजित कार्यक्रममा प्रधानसेनापति पुर्णचन्द्र थापाले मागअनुसार नै आफूले रक्षा मन्त्रालयमा त्यससम्बन्धि पत्राचार गरेको जानकारी दिनुभयो । सुरक्षा निकायका पेन्सन अवधि पुगेलगत्तै जागिर छाडेर अन्य काममा लाग्ने प्रवृत्ति छ ।निवृत्तिभरणको उमेर घटाउने प्रस्वतामा प्रधानसेनापति थापा सुरुमा सकारात्मक नभए पनि अत्याधिक गुनासो आएपछि यसमा संशोधन प्रक्रिय अघि बढाउनु भएको हो ।

‘विगत केही वर्षदेखि पदीक तथा अन्यदर्जाबाट सबै तहको रोलकल र अन्तरक्रियाका दौरान नियमित उठान हुने गरेको निवृत्तिभरण सेवा अवधि घटाउने प्रक्रिया निकै अघि बढेको छ, यस सम्बन्धमा जङ्गी अड्डाका तहबाट लेखापढी गरी स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पत्राचार गरिसकिएको छ । यसका लागि निरन्तर पहल गरिरहने पनि तपाईंहरुलाई यसै अवसरमा जानकारी गराउन चाहन्छु । यति हुँदाहुँदै पनि निवृत्तिभरण पूरा हुनासाथ राजिनामा दिएर रोजगारीका लागि विदेश जाने विकल्पका बारेमा धेरै पटक सोचेर मात्र निर्णय लिनु हुन म तपाईहरु सबैलाई आग्रह पनि गर्न चाहन्छु,’ प्रधानसेनापति थापाले भन्नुभयो ।

प्रधानसेनापति थापाले नेपालमै अवसर रहेको पनि बताउनु भयो । ‘एक पटक नेपाल सरकार र नेपाली सेनाबाट प्राप्त हुने तलब भत्तालगायत समग्र सेवा सुविधालाई वैदेशिक रोजगारीसँग जोडिएका दुःख कष्ट र आम्दानीलाई तुलना गरेर मात्र निर्णय लिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । सैनिक सेवामा रहँदा नै तपाईं परिवारबाट लामो समय अलग्गिएर रहनु भएको छ । अझै परिवारबाट टाढा जानु हुन्छ ? हामी सबैलाई आर्थिक अभाव छ, अनि यो जति भए पनि अभाव नै रहने विषय हो जस्तो मलाई लाग्दछ, नेपालमै बसेर पनि गर्न सकिने धेरै अवसरहरु यहीं उपलब्ध छन,’ प्रधानसेनापति थापाले भन्नुभयो ।

कल्याणकारी कार्यलाई कसरी थप प्रभावकारी बनाउनु पर्दछ र विदेश जानुपर्ने बाध्यताबाट कसरी छुट्कारा पाउन सकिन्छ भन्नेलगायतका पक्षमा सोच्न पनिउहाँले आग्रह गर्नुभयो । ‘सकल दर्जाको यही बाध्यता र वास्तविकतालाई मध्यनजर गर्दै तपाईहरुका बालबच्चाका लागि गुणस्तरीय शिक्षा, आश्रित परिवारका लागि गुणस्तरीय स्वास्थ्य सेवा तथा तपाईंहरु एवं तपाईंका परिवारजनलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न हामीले विविध कार्यक्रम अघि सारेका छौँ । यसबाट मनग्गे आर्जन गर्नेहरुको बारेमा पनि तपाईंहरुले सुन्नु भएकै छ । त्यसकारण, बरु कल्याणकारी कार्यलाई कसरी थप प्रभावकारी बनाउनु पर्दछ र विदेश जानुपर्ने बाध्यताबाट कसरी छुट्कारा पाउन सकिन्छ भन्नेलगायतका पक्षमा सोच्नु हुन र सुझाव प्रस्ताव गर्नुहुन म सबैमा अनुरोध गर्दछु स्वेदशमे रमाउनु, घरपरिवारको सामिप्यमा रहनुको मज्जा नै अर्कै हुन्छ,’ प्रधानसेनापति थापाले भन्नुभयो ।