जनता टाइम्स

५ आश्विन २०७६, आईतवार १७:४१

सरोज पोखरेलले जित्दा समाधान हुनसक्छ म्यानपावर ब्यवसायीका समस्या


काठमाडौं, असोज ५ । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा हुनेभएको छ । सत्तारुढ नेकपासहित सरकारमा सहभागी भएका दलसतिह संयुक्त ब्यावसायिक प्यानल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको एकल प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

हिजो भएको मनोनयन दर्तामा नेपाली कांग्रेसबाहेकका दलहरुको तर्फबाट प्रतिष्ठित ब्यवसायी सरोजकुमार पोखरेल र कांग्रेसबाट बिष्णु गैरेले अध्यक्षमा प्यानलसहित उम्मेद्वारी दर्ता गराउनु भएको छ । पोखरेले नेतृत्वको प्यानलमा प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्धितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, र तृतीय उपाध्यक्षमा अख्तर हुसेनले उम्मेद्वारी दर्ता गराउनु भएको छ । यस्तै महासचिवमा रामचन्द्र गिरी (आरसी), सचिवमा सन्जु गुरुङ, कोषाध्यक्षमा तेजमाया लिम्बु (तेजु) ले उम्मेद्वारी दर्ता गर्नुभएको छ ।

अध्यक्षका उम्मेद्वार पोखरेल बैदेशिक रोजगार ब्यवसायी माझ स्पष्ट भिजन भएका र सरकारी निकायमा रहेका उच्च अधिकृत तथा मन्त्रीसमेतलाई आफ्नो कुरामा सहमत गराउने क्षमता भएका ब्यवसायीका रुपमा परिचित छन । पछिल्लो समय बैदेशिक रोजगार ब्यवसायको बिषयमा बिभागीय मन्त्री र सचिवलाई बुझाउन नसकेको यथार्थबीच सरकारसँग सहकार्य र ब्यवसायीको हितमा काम गराउने सक्षम ब्यक्ति भएकै कारण पोखरेललाई महासचिवमा मनोनित गरी अध्यक्षको उम्मेद्वार बनाइएको हो । संघको बिधानमा पदाधिकारीबाहेक अरुले अध्यक्ष लडन नपाउने ब्यवस्था भएकोले पोखरेललाई महासचिव नियुक्त गरी अध्यक्षको उम्मेद्वार बनाइएको छ ।

‘बैदेशिक रोजगार ब्यवसायीको जुन समस्या छ, त्यो समस्या समाधान गर्ने अन्तिम बिकल्पका रुपमा सरोजकुमार पोखरेललाई अध्यक्षको उम्मेदवार बनाइएको हो,’ तात्कालिन नेकपा एमालेको संगठन प्रगतिशील बैदेशिक रोजगार ब्यवसयाी मञ्चका अध्यक्ष चित्रगुप्ता साँवाले जनताटाइम्ससँग भन्नुभयो । पोखरेलसहित पदाधिकारीमा उम्मेद्वारी दिने ब्यवसायीहरु बर्तमान श्रम मन्त्रालयका पदाधिकारीसँग समन्वय गरी ब्यवसायीको पक्षमा निर्णय गराउने क्षमता राख्छन । यस्तै सदस्यहरुमा होमप्रसाद तिमल्सिना, दलबीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, नुर मोहम्मम मियाँ, दोर्जे शेर्पा, बाबुराम खडका, केदारनाथ अधिकारी (दिपेन्द्र) र बीरेन्द्रकुमार यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पोखरेल समुहले २१ बुँदे घोषणापत्रका साथ ब्यवसायीसँग मत मागिरहेको छ । सो समुहले लगातार दुई आर्थिक बर्षमध्ये एक आर्थिक बर्षमा सय जना कामदार पठाएमा इजाजत पत्र नवीकरण हुने भनी ऐनमा ब्यवस्था गरिएकोमा नियमावलीमा अर्काे अर्थ लाग्ने शब्द÷बाक्य प्रयोग भएकोले त्यसलाई तत्काल संशोधन गर्न÷गराउन क्रियाशील हुने प्रतिवद्धता जनाएको छ । यस्तै दक्षिण एशिया र आशियान मुलुकहरुको अभ्याश अनुसार ब्यवसायीहरुले लिने सेवा शुल्क निर्धारण गर्ने, मागपत्र प्रमाणिकरणलाई सहज र सरल बनाउन नेपाली दुतावासहरुसँग छलफल गरी छिटो छरितो रुपमा प्रमाणिकरण गर्ने बातावरण बनाउने प्रतिवद्धता जनाएको छ ।

नेकपाको सरकार रहेको र श्रममन्त्रीदेखि प्रधानमन्त्रीसम्म पहुँच रहेको कारण पोखरेलले जितेको अवस्थामा यो काम संभव रहेको छ । अर्काे समुहले जितेको अवस्थामा सरकारसँग समन्वयसमेत नहुने प्रष्ट देखिएको छ । स्पष्ट भिजन भएका र नेकपाभित्रका सवै नेतासँग पहुँच रहेका सरोज पोखरेलले यो काम गराउन सक्छन भनेर नै साझा उम्मेद्वारका रुपमा अघि सारिएको हो । आगामी मंगलवार (पर्सि) हुने निर्णचनमा दुई प्यानल मैदानमा रहेको छ । दुवैतर्फका उम्मेद्वारहरुले मतदाता रहेका ब्यवसायी भेटघाटलाई तीब बनाएका छन ।

चुनाव आउन दुई दिन बाँकी रहँदा उम्मेद्वारहरु कसरी जित्ने भन्ने रणनीतिमा रहेका छन । पोखरेलले अहिलेसम्मका नेतृत्वले नगरेको काम गरेर देखाउने संभावनासमेत रहेको छ । अहिलेको सरकारसँग सहकार्यका लागि पोखरेल नै योग्य ब्यक्ति भएको कारण उहाँलाई उम्मेद्वार बनाइएको र उहाँकै नेतृत्वमा ब्यवसायीका समस्या हल हुने देखिएको छ ।

‘बैदेशिक रोजगारलाई बचाउन सरकारसँग समन्वय गर्न सक्ने र कन्भिन्स गर्न सक्ने ब्यक्तिको खाँचो छ, त्यो आवश्यकतालाई सरोज पोखरेल र उहाँको टीमले गर्न सक्छ,’ एक ब्यवसायीले जनताटाइम्ससँग भने । उनका अनुसार बैदेशिक रोजगार बिभागदेखि श्रम मन्त्रालयको अधिकारी र मन्त्रीसमेत पोखरेलको तर्कसंगत कुराकानीसँग निकै प्रभावित छन । ‘मन्त्री–सचिवदेखि बिभागका सवै अधिकारीहरु पोखरेलको तर्क शैली र कामसँग प्रभावित हुनुहुन्छ, उहाँले जितेको अवस्थामा धरापमा परेको म्यानपावरले सहज रुपमा अघि बढने अवस्था आउँछ,’ ती ब्यवसायीको भनाई छ ।