जनता टाइम्स

११ चैत्र २०८०, आईतवार ००:४०

उदांगियो सचिव भण्डारीको कर्तुत, जाँदाजाँदै पनि राज्यकोषमाथि मच्चाए ब्रम्हलुट


आफ्नै हात जगन्नाथ भन्ने नेपाली उखानलाई कर्मचारीहरुले ब्यवहारमै चरितार्थ गरिरहेका छन । केही हजार पेन्सन बढाउन अवकाशको केही दिन अघि राजीनामा दिएर सरकारी कर्मचारीले राज्यकोषमा ब्रम्हलुट मच्चाउने गरेका हुन ।

काठमाडौं, चैत ११ । श्रम तथा रोजगार मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले सेवाबाट अनिवार्य अवकाश पाउनुभन्दा तीन दिनअघि राजीनामा दिनुभएको छ । आफ्नो सेवा अवधी पूरा गरी आज (चैत ११) गते अनिवार्य अवकाशमा जान लाग्नुभएका सचिव भण्डारीले तीन दिनअघि बिहीवार मात्रै राजीनामा दिनुभएको हो ।

आज अवकाशमा गएको भए भण्डारीले पाउने पेन्सन रकममा मासिक राज्यको दुई हजारको हाराहारीमा बच्थ्यो । अर्थात उहाँले दुई हजार कम पाउनु हुन्थ्यो । त्यही दुई हजार रूपैयाँ बढी पाउन भण्डारीले तीन दिन दिनअघि नै राजीनामा दिनुभयो ।

एक हजार पाँच सय रुपैयाँदेखि दुई हजार पाँच सयसम्म पेन्सन बढ्ने लोभमा २०४९ कात्तिक २१ गतेअघि निजामती सेवामा प्रवेश गरेका र ३० वर्ष सेवा अवधि पूरा गरेका सवै तहका कर्मचारीले अनिवार्य अवकाश पाउनुभन्दा केही दिनअघि यसरी नै राजीनामा दिने गरेका छन । सचिव भण्डारीले पनि यही शृंखला दोहोर्याउनु भएको हो ।

निजामती सेवा ऐनको दफा ३७ मा २०४९ कात्तिक २१ गतेअघि निजामती सेवामा प्रवेश गरेका र ३० वर्ष सेवावधि पूरा गरेका कर्मचारीले ५८ वर्षको उमेर हदका कारण अनिवार्य अवकाश पाउनुअघि राजीनामा गरे सेवावधि ६० वर्ष कायम गरिने ब्यवस्था रहेको छ । आफूहरुले नै बनाएको कानूनको भरपुर उपयोग अनि राज्यकोषमािथ ब्रम्हलुटको यही शैलीलाई सचिव भण्डारीले पनि उपयोग गर्नुभएको हो ।

‘संवत २०४९ कात्तिक २१ गतेभन्दा अघिदेखि निजामती सेवामा बहाल रहेका कर्मचारीले ३० वर्ष सेवावधि पूरा गरिसकेको भए स्वेच्छाले सेवाबाट अवकाश लिन सक्नेछन,’ ऐनको दफा ३७ मा भनिएको छ, ‘यसरी स्वेच्छाले सेवाबाट अवकाश लिएको वा संवत २०४९ कात्तिक २१ गतेअघिदेखि निजामती सेवामा बहाल भई ५८ वर्ष उमेर पूरा भएको कारणबाट स्वतः अवकाश प्राप्त गरेको निजामती कर्मचारीको उमेर साठी वर्ष पूरा हुन जति अवधि बाँकी छ, सो अवधि थप गरी निजको जम्मा सेवावधि कायम गरिनेछ ।’

श्रम सचिव भण्डारीले राजीनामा दिएपछि त्यहाँ सो मन्त्रालयमा सचिव पद रिक्त भएको छ । पेन्सन बढ्ने लोभमा अनिवार्य अवकाशमा जानुभन्दा केही दिनअघि सेवाबाट राजीनामा दिने माथिल्लो तहका निजामती कर्मचारीमा भण्डारी मात्र छैनन्, यसअघि करिब एक दर्जन भन्दा बढी सचिवले यसरी राजीनामा दिएका छन । २०७९ सालमा महेन्द्र गुरागाईंले पनि अनिवार्य अवकाश पाउनुभन्दा केही दिनअघि मात्र राजीनामा दिनुभएको थियो ।