जनता टाइम्स

९ बैशाख २०८१, आईतवार १०:०७

एमाले अध्यक्ष ओलीको प्रतिवेदन : कांग्रेसप्रति आक्रामक, रबिको बचाउ


काठमाडौं, बैशाख ९ । नेकपा एमालेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति आक्रामक बनेको छ । गोदावरीमा जारी राष्ट्रियय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन कांग्रेसप्रति आक्रामक देखिएको हो ।

‘समीकरणलाई सफल हुन नदिन र भत्काउन कांग्रेसले हरसम्भव प्रयास गर्यो । त्यसका लागि कांग्रेसले रास्वपा र अन्य कतिपय दलका नेताहरूलाई प्रधानमन्त्री पदको समेत प्रस्ताव गर्यो,’ प्रतिवेदनमा भनिएको छ, ‘तर कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै ती दलहरू नयाँ राजनीतिक समीकरणमा संलग्न हुनासाथ ऊ यतिबेला हतास मनस्थितिका साथ विरोध र सदनमा अवरोध गरिरहेको छ ।’

प्रतिवेदनमा अचानक सत्ताबाट बाहिरिनु पर्दा कांग्रेस आक्रोशित, क्षुब्ध र हतास देखिएको उल्लेख छ ।

‘अचानक सत्ताबाट बाहिरिनु पर्दा यतिबेला कांग्रेस आक्रोशित, क्षुब्ध र हतास देखिन्छ । यही हतासाले उसलाई प्रतिशोधको राजनीतिमा पुर्याएको छ । फागुन २१ बाट सुरु भएको नयाँ समीकरण सफल हुन नदिन र भत्काउन उसले हरसंभव प्रयाश गर्यो । त्यसका लागि उसले रास्वपा र अन्य कतिपय दलका नेताहरुलाई प्रधानमन्त्री पदको समेत प्रस्ताव गर्यो । तर कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै नी दलहरु नयाँ राजनीतिक समीकरणमा संलग्न हुनासाथ ऊ यतिबेला हतास मनस्थितिका साथ बिरोध र सदनमा अवरोध गरिरहेको छ । यसका पछाडि प्रतिशोधबाहेक कुनै तर्कसंगठत आधार छैन,’ प्रतिवेदनमा भनिएको छ ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गरिरहेका बेला राजनीतिक प्रतिवेदनमा लामिछानेलाई निसाना बनाइएको दाबी गरेको छ । ‘सहकारी क्षेत्रमा गम्भीर समस्या देखापरेका छन, बचतकर्ताहरूको अर्बौं रकम हिनामिना भएको छ र यसको गम्भीर छानबिन गरी दोषीहरूलाई कानुनी कारबाही गरिनुपर्छ । यस विषयमा पार्टी स्पष्ट छ,’ लामिछानको बचाउ गर्दै एमालेले भनेको छ, ‘तर निश्चित व्यक्तिलाई निसाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका विषयमा प्रवेश गर्न सकिँदैन ।’

एमालेले लामिछानेमाथि गोर्खा मिडियामा संलग्न रहँदा सहकारीको रकम हिनामिना गरेको भन्दै छानबिन माग गर्न कांग्रेससँग नैतिक आधार नभएको बताएको छ ।

‘सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका, अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भीर अनियमिततामा संलग्न भएका मन्त्री र नेताहरूलाई राजीनामा गराउन तयार नहुने कांग्रेसले यतिबेला अरूमाथि प्रश्न उठाउने नैतिक आधारसमेत राख्दैन,’ ओलीको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘भ्रष्टाचारविरोधको एजेन्डालाई मौसमी रूपमा उठाउने, बिसाउने, यसलाई आफ्ना राजनीतिक अभीष्ट पूरा गर्ने र प्रतिशोध साध्ने तरिकाले भ्रष्टाचार कहिल्यै नियन्त्रण हुँदैन ।’ एमालेले आफ्नाविरुद्ध भनेर हल्लाखल्ला गरिएका मुद्दाहरूमा भइरहेका अनुसन्धान र अभियोजनले यससम्बन्धी वास्तविकता स्पष्ट गर्न सरकार भ्रष्टाचारका विरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन माग गरेको छ ।