जनता टाइम्स

११ आश्विन २०७६, शनिबार १७:५०

प्रधानमन्त्री ओलीको त्यो भूमीगत संवाद : नाम के ? कालिचरण ! घर कता ? भोजपुर ! के थरी ? बस्नेत !


काठमाडौं, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको लामो जेल जीवनबारे आम नेपाली जानकार छन । तर उहाँको भूमीगत जीवन कस्तो थियो होला ? भन्ने कौतुहलता सवैलाई हुने गरेको छ । नेकपाका नेताहरुले समेत जानकारी नपाएका त्यो भूमीगतकाललाई समेटदै एउटा पुस्तक सार्वजनिक भएको छ । गत बिहीवार प्रधानमन्त्री ओली आफैले आफ्नो भूमीगत जीवनकालबारे समेटिएको पुस्तक सार्वजनिक गर्नुभयो । जुन पुस्तक ‘छाँयाको लस्कर’ नाम दिएर प्रधानमन्त्री ओलीका सहपाठी प्राडा केआर खम्बुले लेख्नुभएको थियो ।

पुस्तकमा प्रधानमन्त्री ओलीले झापा बिद्रोहमा अघि बढाएको योजनादेखि बिरामी परेर खुट्टामा खील बसेको घटनासम्मलाई समेटिएको छ । भूमीगत कालमा लेखिएको कवितादेखि जंगलमा गीत गाउने गरिएको घटनालाई पनि उजागर गरेको छ । आफ्नो त्यो पुरानो इतिहास बोक्ने पुस्तक भएरै होला, प्रधानमन्त्री ओली निकै खुल्नुभयो । त्यो इतिहास स्मरण गर्दै एक दिन केआर खम्बुको कोठामा भएको संवादलाई प्रधानमन्त्री ओलीले सुनाउनु भयो । बिराटनगरस्थित केआर खम्बुको डेरामा भएको संवाद थियो त्यो । बिरामी भएर खम्बुको कोठामा पुग्नुभएका ओलीले सोही घरको अर्काे कोठामा डेरामा बस्ने नवबिवाहित जोडीसँगको संवाद थियो त्यो ।

त्यस दिनको भूमिगत संवादलाई प्रधानमन्त्रीले यसरी सुनाउनु भयो–विराटनगर केआर खम्बूजीको कोठामा बस्दा छेउकै कोठामा एउटा नवविवाहित जोडी थियो । केही दिनको बसाईपछि चिनापर्ची भयो । ती महिलाले मेरो नाम सोध्नुभयो । मैले कालीचरण भनें । के थरी भन्नुभयो, मैले बस्नेत भनें । घर कता भनेर सोध्नुभयो, मैले भोजपुर भनें । अब भोजपुर कुन गाउँ भनेर उहाँले सोध्नुभयो भने म त फसादमा पर्छु भन्ने सोचिरहेको थिएँ । उहाँले त्यही कुरा सोध्नुभयो । यसो नाम सुनेको गाउँको नाम भनेको त उहाँको माइतीघर नै त्यही ठाउँ रहेछ, माइतीको थर पनि बस्नेत नै पो रहेछ । फसादमा परियो, उहाँले अरू सोध्नुहोला भनेर मैले नै कुरा बंग्याएँ । अनि भने हुन त घर भोजपुर हो, तर जिजु हजुरबुवाकै पालादेखि हाम्रो परिवार आसाममा बस्छ । भूमीगतकालको जीवन भएकोले नियत नहुँदा नहुँदै पनि यसरी ढाँट्नु पर्यो । खम्बुजीको डेरासँगै अर्काेतर्फ एक नवबिवाहित जोडी बस्नुहुन्थ्यो, केही समय बसेपछि चिनजान भयो, एक दिन ती महिलाले मलाई प्रश्न गर्नुभयो, भुमिगत जीवनकाल भएर सत्य कुरा बताउन मिल्ने थिएन, मैले नाम, थर, घर सवै कुरा ढाँटे ।’

आफ्नो नियत गलत नभए पनि भूमिगतकालमा जस्ताको तस्तै भन्न नमिलेका कारण आफूले ती महिलालाई ढाँटेको प्रधानमन्त्री ओलीको भनाई थियो । सुरक्षाकै कारण नेताले एउटा ठाउँमा एउटा नाम र अर्को स्थानमा पुग्दा अर्को नाम राख्ने गरेको पनि ओलीले स्मरण गर्नुभयो । ‘त्यसो गर्दा हिजो एउटा नाम भन्ने, आज अर्को नाम, के तत्व हो भन्ने चाँहि कतैकतै पथ्र्यो ।’ उहाँले भूमीगतकालमा आफ्नो परिचय बदल्नु पर्ने भएकोले कालीचरण नामांकरणदेखि बस्नेतसम्मको घटना सुनाउनु भयो । २०२९ सालतिरको यो घटना संझदा प्रधानमन्त्री ओली निकै भावुक पनि बन्नुभयो । त्यसबेला उहाँ बिरामी परेर उपचारका लागि खम्बुको डेरामा पुग्नुभएको थियो । खम्बुका सहपाठी डा. जंगव चौहानले पनि प्रधानमन्त्री ओलीको भूमीगतकाल संझनुभयो ।

‘कालीचरण कोठामा आउँछन् भनेर साथी केआर खम्बूले भन्नुहुन्थ्यो । को रहेछन् यी कालीचरण ? मनमा जिज्ञासा थियो,’ डा. चौहानले विगत सम्झनुभयो, ‘कालीचरण भनेका त झापा आन्दोलनका नायक केपी ओली पो रहेछन ।’ चौहानले उक्त कार्यक्रममा ओलीको राजनीतिक संघर्ष र जीवनका भोगाइ उल्लेख गर्नुभयो । त्यही घटना संझदै उहाँले भन्नुभयो, ‘एकपटक त केपी ओली कोठामा पुग्दा हन्हनी ज्वरो आएको थियो, सिटामोल किन्ने पैसा पनि थिएन उहाँसँग ।’

२०२९ सालतिरको यो घटना संझदा प्रधानमन्त्री ओली निकै भावुक पनि बन्नुभयो । त्यसबेला उहाँ बिरामी परेर उपचारका लागि खम्बुको डेरामा पुग्नुभएको थियो । खम्बुका सहपाठी डा. जंगव चौहानले पनि प्रधानमन्त्री ओलीको भूमीगतकाल संझनुभयो

पुस्तकमा कम्युनिस्ट पार्टीको झापा आन्दोलनका क्रममा ओलीसहित नेताका संघर्षका कथा, ओलीले लेखेका त्यतिबेलाका गीत÷कविता र खम्बूले आफ्नो जीवनका भोगाइ समेटिएको छ । सवैको कुरा सुन्नुभएका प्रधानमन्त्री ओलीले त्यसबेला आफ्नो पालामा परिवर्तन गर्न सकिन्छ भन्ने दृढ संकल्प भएपनि पद प्राप्ती हुन्छ भन्ने कल्पना नगरेको सुनाउनु भयो । ‘स्वास्थ्यलाई ध्यान दिन्नथे। यति सारो बाँच्छु भन्ने लागेकै थिएन, म त उहिल्यै मारिन्छु भन्नेमा थिएँ, तर बाँचिरहेको छु, आफैलाई अचम्म लाग्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

पुस्तकमा ओलीका गीत रचना छापिएका छन भने गीत गाएको ठाउँसहितका चर्चा गरिएको छ । ‘खम्बूले ढाँट्यो कि भन्ने लाग्ला, तर त्यतिबेला म जंगलमा गीत गाउँथें । गीत पनि कोर्थें,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जंगलको बाटो हिँडदा जँहा एकान्त हुन्छ, गीत गाई हाल्थें ।’