जनता टाइम्स

१४ बैशाख २०८१, शुक्रबार १७:५६

आर्थिक गतिविधि चलायमान गराउने आधार बनेको छ : गभर्नर


काठमाडौं, १४ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा ब्याजदर घटेको र वाह्य क्षेत्रमा आएको सुधारले आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउने आधार सिर्जना भएको बताउनुभएको छ । नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले उच्च रेमिट्यान्स आप्रवाह र वैदेशिक व्यापार घाटा घटेकाले चालु खाता तथा शोधनान्तरस्थिति बचतमा गएको बताउनुभयो ।

जसले तरलता बढाउन सहयोग पुगेको र कर्जाको ब्याजदर घटाएको उहाँको भनाइ छ । ‘नेपालले दुई तिहाइभन्दा बढी रकमको आयात गर्ने मुलुक भारतमा समेत मुद्रास्फीति घट्दै गएका कारण मुद्रास्फीतिमा परेको चाप क्रमशः कम हुँदै गएको छ,’ उहाँले भन्नुभयो,‘चालु आर्थिक वर्षको उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्यवृद्धि दर लक्षित सीमाभित्रै रहने देखिएको छ ।’

रुस–युक्रेन र मध्यपूर्वका मुलुकमा जारी द्वन्द्व र केही मुलुकले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धले इन्धन तथा खाद्यवस्तुको मूल्यवृद्धि बढ्ने जोखिम कायम रहेको उहाँले बताउनुभयो । ‘आर्थिक वर्ष २०८०/८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल नै रहेको र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने देखिन्छ,’ उहाँले भन्नुभयो,‘करिब ६०० मेगावाटको थप जलविद्युत् उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने देखिन्छ ।’

तथापि, सरकारको पूँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य संख्यामा वैदेशिक रोजगारी र अध्ययनको लागि युवाहरू विदेशिएकाले आन्तरिक माग भने शिथिल भएको अधिकारीले बताउनुभयो । खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित भएका छन् ।

२०८० फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २८.४१ प्रतिशत रहेको र कुल पूँजीकोष जोखिम भारित सम्पत्तिको १२.४४ प्रतिशत रहेकाले बैंक तथा वित्तीय संस्था सुदृढ अवस्थामा रहेको उहाँको भनाइ छ । ‘आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको छ,’ अधिकारीले भन्नुभयो, ‘२०८० फागुनमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको छ ।’