जनता टाइम्स

१२ असार २०८१, बुधबार १९:२३

रास्वपा महामन्त्रीको प्रतिवेदन : पार्टी सक्किने निष्कर्ष, बालेनसंग मिल्न सुझाव


काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाको बारेमा एक प्रतिवेदन तयार पार्नुभएको छ । उपनिर्वाचनलगत्तै देशका विभिन्न क्षेत्रमा घुमेपछि उहाँले तयार गरेको प्रतिवेदनमा पार्टीकोे जनमत कमजोर बनिरहेको भन्दै यस्तै हिसाबले अगाडि बढे रास्वपाको हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुने विश्लेषण गर्नुभएको छ ।

सत्ता र शक्तिको आशक्तिले रास्वपा कमजोर बन्दै गएको भन्दै उहाँले पार्टीप्रति माया र चिन्ता भएरै आफूले गम्भीररूपमा समस्याको कुरा उठाएको जिकिर गर्नुभएको छ । उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको समेत उल्लेख गर्नुभएको छ ।

आफूले तयार गरेको प्रतिवेदन बुधबार नै पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गर्न लागेको उहाँले बताउनुभयो । महामन्त्री ढकालले भागवत गीतालाई आफूले सधैँ मानेको र श्रीकृष्णको वचनलाई सधैं टेरेको भन्दै गीताको प्रसंगलाई पनि उल्लेख गर्नुभएको छ ।

त्यहाँ श्रीकृष्णले नभन्नु भने पनि आफूले पार्टीलाई जन्मदाताकै रूपमा लिएको र नेपाली जनताको आशाको रूपमा पार्टी रहेकाले समयमै विषय उठाएको बताउनुभयो ।

महामन्त्री ढकालको प्रतिवेदनमा रास्वपा संघीयताको विपक्षमा रहनु पर्ने उल्लेख गर्नु भएको छ । गणतन्त्रको विषयमा भने प्रतिवेदन मौन छ । स्थानीय तह र केन्द्रीय तह गरी दुई तह मात्र रहनु पर्ने र स्थानीय तहलाई शसक्त बनाउनु पर्ने ढकालको प्रतिवेदनमा उल्लेख छ ।