जनता टाइम्स

१२ श्रावण २०८१, शनिबार १५:४३

प्रधानमन्त्री ओलीले खुलासा गरे आफ्नो मूर्खतासँग आफैलाई लाज लागेको त्यो घटना


काठमाडौं, साउन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भूत भेटेको रोचक प्रसङ्ग सार्जजनिक गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पुराना नेता नेत्रप्रसाद गौतमद्वारा लिखित नेत्रका तीन खण्डकाव्य र भूत पिसाचका कथा सङ्ग्रह विमोचनपछि प्रधानमन्त्री ओलीले भुत भेटेको प्रसंग बाहिर ल्याउनु भएको हो ।

उहाँले घर निजिकैको पाँच मिनेटको बाटोभित्र भूत भेटेको कथा सुनाउनुभयो । सधैँभिर हिँडिरहने बाटोमा एक रात आउँदै गर्दा ठ्याक्कै आफ्नो अगाडि सेतो लुगा लाएको भूत खेतको छेउमा बाटो छेकेर उभिएको प्रधानमन्त्री ओलीले सुनाउनु भयो । आफूले बाँसको लौरो टेकेर हिँडेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भूतलाई बाटो छाड् भन्दा आफैतिर लच्किएको बताउनुभयो ।

‘मैले बाटो छोड् भनें, उसले छाड्ने कुरै भएन, मैले त्यही कठबाँसको डण्डा थियो, बेसरी कसेर हानें, भरे त त्यो काँसको फुलेको फूलको झुप्पो पो रहेछ, फुलेको काँस’, प्रधानमन्त्री ओलीले भन्नुभयो । त्यो काँसको बोट उम्रिएदेखि आफूलाई थाहा भए पनि अचानक त्यो दिन आफूले त्यसलाई भूत देखेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

‘म अलिक भौतिकवादी भएर भूत हुँदै हुँदैन भन्थें, तर आफैँ अगाडि आएर उभियो, कसरी होइन भन्ने ? मार डण्डाले हानेको त, सल्याङ गरेको घाँसको बुटो,’ उहाँले भन्नुभयो । डण्डा हानेपछि आफैलाई आफ्नो मूर्खतासँग लाज लागेको अनुभूतिसमेत प्रधानमन्त्री ओलीले सुनाउनु भयो । बचपनमा सुनेका भूत प्रेतका कथाले आफूलाई प्रभावित पारेको कारण त्यसो भएको उहाँको भनाई थियो ।
‘मान्छेले भूत बनायो, अनि एउटा मान्यता बनायो, अनि आफैँ डरायो,’ प्रधानमन्त्री ओलीले थप्नुभयो । उहाँले मानिसलाई भूत, प्रेत, मसान, पिसाच, मुर्कुट्टा कसैलाई पनि तर्साउन नसक्ने बताउनुभयो । त्यसले मुसाका बच्चालाई पनि तर्साउन नसक्ने तर मानिसले आफैले धारणा बनाउने र आफैँ तर्सिने गरेको प्रधानमन्त्री ओलीले बताउनु भयो ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको विकासले मानिसले अकालमा मर्नु नपर्ने र मानिसलाई लामो समयसम्म बाँच्ने बनाएको बताउनुभयो । ‘अबको समय भनेको दीर्घ जीवनको समय हो, स्वास्थ्यका लागि थुप्रै उपचारका कुराहरू हुन्छन,’ ओलीले भन्नुभयो ।

अहिलेको युग उहिलेको जस्तो नभएको ओलीले बताउनु भयो । ‘उहिलेको जस्तो होइन, यहाँ यत्रो विघ्न डाक्टर पढाइएको छ, यत्रो विघ्न अस्पताल खोलिएको छ, यत्रो विघ्न मेसिनसेसिन किनेर ल्याइएको छ, यत्रो विघ्न औषधी छन,’ उहाँले भन्नुभयो । आफू इञ्जिनको पार्टपुर्जा फेरे जस्तै दुई पटक मिर्गौला फेर्दा पनि हट्टाकट्टा नै भएको भन्दै प्रधानमन्त्री ओलीले यो सबै विज्ञान प्रविधिको विकासका कारण संभव भएको प्रष्ट पार्नुभयो ।

उहाँले साहित्यकार नेत्रप्रसाद गौतम ८० वर्ष पुरा हुनु भए पनि अझै धेरै कृति लेख्ने विश्वास व्यक्त गर्नुभयो । ‘भर्खर ८० वर्ष हुनुभयो, थुप्रै काम गर्न बाँकी छ, थुप्रै कुरा गर्न बाँकी छ,’ उहाँले भन्नुभयो । नेपाली भूमि साहित्य, कला र संस्कृतिको उर्वर भूमि भएको उहाँले बताउनुभयो ।

उहाँले नेपाल ज्ञानको उत्पत्ति र विस्तार भएको ठाउँ भएको ओलीले दाबी गर्नुभयो । अनुभवहरू परिष्कृत भएपछि ज्ञान बन्ने उहाँको भनाइ छ । ‘ज्ञान विकास गर्ने, सञ्चित गर्ने र विस्तार गर्ने कार्य धर्तीको यही भूभागमा भएको थियो,’ उहाँले भन्नुभयो ।

ओलीले नेपाल साहित्यकारहरूको पनि उर्वर भूमि भएको बताउनुभयो । भानुभक्त, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान् साहित्यकारहरू नेपालमा जन्मिएका उहाँले बताउनुभयो ।

रोधी घरमा बसेर तत्काल गीत बनाएर गाउने साहित्य रचनाकारहरू नेपालमा मात्र भएका उहाँले प्रष्ट पार्नुभयो । त्यस्तो प्रतिभा विश्वमा अन्यत्र नभएको ओलीले स्पष्ट पार्नुभयो । नेपाली साहित्य आज माथि उठ्न खोजेको भए पनि कुन बाटोबाट अघि बढ्ने भन्ने बहस चलिरहेको ओलीले बताउनुभयो । यसको लागि वृहत् छलफल आवश्यक रहेको उहाँले सुनाउनुभयो ।