येनकेन प्रकारेण एकपटक प्रधानमन्त्री बन्न मरिहत्ते गरिरहेका माधव नेपाललाई ‘भावी प्रधानमन्त्री’को ललिपप देखाएर उहाँसँग बचेखुचेको शक्ति नेकपा माओवादी केन्द्रमा समेटिहाल्ने प्रचण्डको दाउ पूरा हुने अवस्था छैन किनभने माधव समूहका अधिकांश नेता-कार्यकर्ता तत्काल ‘माओवादी’ बनिहाल्ने मुडमा देखिदैनन् । बरू उनीहरू आफ्नो राजनीतिक जीवनको यथोचित व्यवस्थापन भए आफ्नो पुरानो घर एमालेमै समाहित हुन चाहन्छन् । एमालेबाट चोइटिएर पश्चाताप गरिरहेका ती नेता-कार्यकर्ता माओवादीमा विलय भएर आफ्नो लामो सङ्घर्षशील जीवनको समाप्ति निम्त्याउन चाहदैनन् ।
निर्मल भट्टराई
नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन बनेपछि नेपालको संसदीय इतिहासमा नयाँ अध्याय सुरू भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सत्ता र प्रतिपक्ष दुवैतिर वामपन्थीहरूको नेतृत्व आइपुगेको छ ।
उता सत्ताबाट बहिर्गमन भएसँगै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकपटक फेरि ‘पार्टी बनाउने’ अभियानमा लाग्नु भएको छ । एमाले–कांग्रेस गठबन्धनले शक्तिशाली र स्थायी प्रकारको सरकार दिएपछि संसदको बाँकी अवधिभर प्रधानमन्त्री बन्ने उहाँको सम्भावना सकिएपछि फुर्सद पाउनुभएका प्रचण्ड पार्टी काममा खट्न थाल्नुभएको छ । उहाँको पार्टीभित्र पार्टी-सत्ता हस्तान्तरणको मुध्दा जबर्जस्त उठिरहेको बेला त्यो मुध्दालाई ओझेलमा पार्न एकताको लागि अन्य साना वाम पार्टी र समूहसँग घनिभूत वार्तामा जुट्नु भएको भनिएका प्रचण्डले सफलता कति पाउनु होला त्यो त केही समय कुर्नै पर्छ ।
कांग्रेस-एमाले मिलेर आगामी दुई वर्षसम्म नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष के पी शर्मा ओली देशको प्रधानमन्त्री भएपछि आफ्नो पार्टीको जनमत जोगाउन प्रचण्डलाई हम्मे हम्मे परेको छ । १० वर्षे सशस्त्र विद्रोहमा सफलजस्ता देखिएका प्रचण्ड शान्ति स्थापना र गणतन्त्रको स्थापनापछि उहाँको पार्टी निरन्तर विभाजन,विखण्डन र ओरालो यात्रामा छ ।
नेकपा एमालेको नेतृत्वमा केपी शर्मा ओली आएपछि र उहाँ प्रधानमन्त्री भएपछि देश सञ्चालनमा स्थापित गर्नुभएको भिजनरी नेतृत्व र राष्ट्रवादी छविको कारण प्रचण्ड र अरू वाम नेताहरूको कद निरन्तर घट्दै गएको छ । ती नेताहरूले नेतृत्व गरेका वाम समूहको धरातल निरन्तर धराशायी हुँदै गएको छ । यसको कारण वर्षेनी ती पार्टी र समूहबाट सयौं नेता–कार्यकर्ता एमालेमा समाहित हुँदै गरेको अवस्था छ ।
भन्न परोइन, पार्टी निर्माणको प्रश्न विचारसँग जोडिएको प्रश्न हो । विचारमा प्रष्टता नआएसम्म जतिसुकै भगिरथ प्रयत्न गरे पनि पार्टी बन्दैन । सामन्तवादबाट पूर्णरूपेण पूँजीवादमा पदार्पण गरेको नेपालमा(विश्वको कुनै कुनामा पनि) माओवाद वा माओ विचारधारा लागू हुने अवस्था छैन । अबको नेपालको एकमात्र अग्रगमनको मार्ग भनेको जनताको बहुदलीय जनवादको पूर्ण रूपमा कार्यान्वयन गर्दै समाजवादमा जाने नै हो । त्यो विषयमा प्रचण्ड–माधव–विप्लव सी या भ्रममा हुनुहुन्छ या पूर्वाग्रही हुनुहुन्छ ।
‘माओवाद’लाई आफ्नो पार्टीको लाइफलाइन मान्दै आएका प्रचण्ड–विप्लव र एमाले र केपी शर्मा ओलीसँग जतिसुकै रिस र आक्रोश पोखे पनि आफ्नो समूहको वैचारिक नेता पुष्पलाल र मदन भण्डारीलाई मान्दै आएका माधव नेपाल र उनको समूह कसरी रातारात एकतामा पुग्छन् आश्चर्यको विषय छ । किनभने कम्युनिष्ट पार्टीबीचको एकता घिउ बेचुवा र तरवार बेचुवाको जस्तो एकताजस्तो हुनै सक्दैन ।
येनकेन प्रकारेण एकपटक प्रधानमन्त्री बन्न मरिहत्ते गरिरहेका माधव नेपाललाई ‘भावी प्रधानमन्त्री’को ललिपप देखाएर उहाँसँग बचेखुचेको शक्ति नेकपा माओवादी केन्द्रमा समेटिहाल्ने प्रचण्डको दाउ पूरा हुने अवस्था छैन किनभने माधव समूहका अधिकांश नेता–कार्यकर्ता तत्काल ‘माओवादी’ बनिहाल्ने मुडमा देखिदैनन् । बरू उनीहरू आफ्नो राजनीतिक जीवनको यथोचित व्यवस्थापन भए आफ्नो पुरानो घर एमालेमै समाहित हुन चाहन्छन् । एमालेबाट चोइटिएर पश्चाताप गरिरहेका ती नेता–कार्यकर्ता माओवादीमा विलय भएर आफ्नो लामो सङ्घर्षशील जीवनको समाप्ति निम्त्याउन चाहदैनन् ।
यसमा अर्को भुल्न नहुने कुरा के छ भने नेकपा(माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी) र विप्लव समूह तत्काल मिले नै भने पनि तिनीहरूले वैकल्पिक शक्ति बनाउन सक्दैनन् । आगामी ०८४ को निर्वाचनमा उनीहरूको हैसियत तेस्रो वा चौथोमै खुम्चने निस्चित छ । विगतमा झैं प्रमुख नेतालाई नै निर्वाचन जित्न एमाले वा कांग्रेसको वैशाकी चाहिने भएपछि अरूको हालत के होला ? चुनावमा कुनै उल्लेख्य परिणाम नआउने हो भने अहिले गरिने हतार–हतारको एकताको के अर्थ ? ‘पुजाभन्दा दण्डवत ठूलो’ भन्ने नेपाली उखानजस्तो । एकताको दुन्दुभि जति बजाए पनि प्रचण्ड र माधवको स्वार्थ–केन्द्रित पियारले कुनै तात्विक फरक पर्नेवाला छैन ।
नेपाली कांग्रेस र नेकपा एमालेले राजनीतिक स्थायित्व दिनुका साथै अग्रगमनका लागि संविधानमा देखिएका अड्चनहरूलाई समयसापेक्ष संशोधन गर्ने प्रतिवध्दता गरेका छन् । संविधान गतिशील दस्तावेज भएकाले जनताको भावनाबमोजिम त्यसलाई परिष्कृत र उन्नत बनाउने अग्रगामी सहमति गरेका छन् । प्रचण्ड–माधव सकेसम्म त्यसो हुन नदिने प्रपञ्चमा लागेको उहाँहरूका पछिल्ला अभिव्यक्तिहरूले प्रष्ट सङ्केत गरेका छन् । ‘दुइ दलीय व्यवस्था ल्याउन खोजेको’ भन्ने हौवा फिंजाएर देशमा बन्न लागेको सहमति भाँड्ने प्रयासस्वरूप एकताको हतारो गरेको भए त्यो केवल पश्चगामी कदममात्र हुनेछ ।
प्रतिक्रिया दिनुहोस्