जनता टाइम्स

२६ भाद्र २०८१, बुधबार ०२:२९

कलंकित बनेर प्रहरीबाट बिदा भए एआइजी ज्ञवाली : दुनियाँलाई फसाए, आफैले भने संगठनकै छानविनमा असहयोग गरे


काठमाडौं, भदौ २६ । संगठनको आचरणबिरोधी गतिविधिमा संलग्न भएको आरोपमा छानबिनमा रहनुभएका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले आजबाट अनिवार्य अवकाश पाउनु भएको छ ।

एआइजी ज्ञवालीमाथि छानविनका लागि गठित समितिले प्रतिवेदन बुझाएलगत्तै मंगलवार मध्यरातीबाट उहाँले अवकाश पाउनु भएको हो । मंगलबार राति १२ बजेबाट ५६ वर्षे उमेर हदका कारण एआइजी ज्ञवालीले अनिवार्य अवकाश पाउनुभएको हो ।

ज्ञवालीबिरुद्ध प्रहरी प्रधान कार्यालय, नक्सालको उजुरी छानबिन शाखामा परेको निवेदनबारे जाँच गर्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले गत असार २३ गते एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो ।

समितिमा प्रहरी प्रधान कार्यालयका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन राई, प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्ल, डिजिटल फरेन्सिक ल्याबका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकेश तिवारी र कानून शाखाका डीएसपी रुपक खड्का सदस्य रहनुभएको थियो । सो समितिले जाँचका क्रममा ज्ञवालीबारे विस्तृत अनुसन्धान गर्नुपर्ने थुप्रै विषयहरु फेला पारेको छ । समितिले आइतवार आइजीपी कुँवरलाई प्रतिवेदन बुझाएको छ ।

राई नेतृत्वको समितिले ज्ञवालीमाथि थप अनुसन्धान गर्नुपर्ने स्थिति रहेको उल्लेख गरेको छ । उजुरी छानबिन शाखामा परेको निवेदनमा ज्ञवालीमाथि १० वटा गम्भीर आरोप लगाइएको छ । निवेदनका बुँदाहरुमा ज्ञवालीले अमेरिकाको स्थायी आवास अनुमति पत्र (पिआर) लिएकोदेखि फरार रहेका व्यक्तिसँग साँठगाँठ रहेको उल्लेख छ । यस्तै आर्थिक अनियमितता र अकुत सम्पत्ति जोडेको पनि उल्लेख छ ।

समितिले पिआर लिए नलिएको सन्दर्भमा यकिन गर्न प्रहरी प्रधान कार्यालय हुँदै गृह र परराष्ट्र मन्त्रालयसम्म पत्र लेखेको थियो । त्यसमार्फत नेपालस्थित अमेरिकी दूतावाससँग जानकारी माग्ने प्रक्रियामा प्रवेश गरे पनि जवाफ आएको छैन । यस्तै निवेदनमा दूबईमा रहेका केही संदिग्ध व्यक्तिसँग एआईजी ज्ञवालीको अस्वभाविक सम्बन्ध रहेको उल्लेख छ । सो बिषयमा सोधपुछ गर्न समितिले दुई पटकसम्म लिखित पत्राचार गर्दा पनि ज्ञवाली बयानका लागि नआएको समितिले जनाएको छ ।

यस्तै ज्ञवालीमाथि सीआईबीमा रहँदा ‘अनुचित लेनदेन’ गरेर जेठ २८ गते पक्राउ परेका सेन्चुरी बैंकका अध्यक्षसहित ९ जनालाई तारेखमा छाडेको अभियोग रहेको छ । ज्ञवालीमाथि उपत्यका प्रहरी कार्यालयमा रहँदा ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) नाइट क्लबबाट अनुचित लाभ लिएको पनि आरोप छ ।

यस्तै समितिले ६० किलो सुन तस्करी प्रकरणका एक जना आरोपी जीवन चलाउनेले ज्ञवालीले प्रहरी प्रमुख बन्न लागेका बेला आफूसँग आर्थिक लाभ लिन खोजेको बयान दिएको बिषयमा पनि अनुसन्धान गर्नुपर्ने जनाएको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धानलाई लिएर एआईजी किरण बज्राचार्यसहित सीआईबीका अधिकारीहरुलाई कारबाही सिफारिस भएका बेला चलाउनेको बयान सार्वजनिक भएको थियो । त्यसबेला चलाउनेले आईजीपी बन्न आफूसँग आर्थिक सहयोग मागेको चलाउनेले दाबी गर्नुभएको थियो ।