रामेछाप, १७ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको खेलकुद क्षेत्रको दिगो विकासका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
मंगललबार रामेछाप सदरमुकाम मन्थलीमा रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न ‘आधारभूत भलिबल प्रशिक्षक प्रशिक्षण तालिम’को समापन कार्यक्रममा मन्त्री गुरुङले हालको बजेटले खेल क्षेत्रको आवश्यकता धान्न नसक्ने भन्दै कम्तीमा ३० देखि ५० अर्ब रुपैयाँको लगानी आवश्यक रहेको बताउनुभयो । ‘खेलकुदको विकासका लागि राम्रो नीति, पर्याप्त पूर्वाधार र प्रभावकारी बजेट कार्यान्वयन अपरिहार्य छ’, मन्त्री गुरुङले भन्नुभयो, ‘अहिले खेलकुदका लागि करिब ३ अर्ब रुपैयाँ मात्र बजेट विनियोजन गरिएको छ, जुन पर्याप्त छैन।’
उहाँले सरकार नीति निर्माणदेखि कार्यान्वयन र अनुगमनका सबै पक्षमा अझ सक्रिय हुनुपर्ने उल्लेख गर्दै बजेट विनियोजन मात्रै होइन, त्यसको कार्यान्वयन कति प्रभावकारी भयो भन्ने सरकारको प्रमुख चासो हुनुपर्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपनिर्देशक तथा वरिष्ठ भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट र मन्थली अस्पतालका प्रमुख डा. केशव धामीलाई सम्मान गरिएको थियो।
वरिष्ठ प्रशिक्षक भट्टलाई भलिबल खेलमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर र प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको हो। त्यस्तै, विभिन्न खेलकुद कार्यक्रमहरूमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकोमा डा. धामीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको हो।
तालिममा सहभागी भलिबल प्रशिक्षकहरूलाई मन्त्री गुरुङले प्रमाणपत्र वितरण गर्नुभयो। सो अवसरमा प्रशिक्षक भट्टले सरकारद्वारा खेलकुदमा विनियोजन गरिने बजेटको कार्यान्वयन पक्ष अझै कमजोर रहेको बताउँदै योजनाको कार्यान्वयनमा निगरानी र पारदर्शिता अत्यावश्यक रहेको उल्लेख गर्नुभयो । ‘नीति राम्रो छ, बजेट पनि केही हदसम्म आइरहेको छ तर त्यो बजेट कहाँ खर्च भयो, कसरी खर्च भयो भन्नेमा ध्यान दिनुपर्छ’, भट्टले भन्नुभयो, ‘कार्यान्वयन र मूल्याङ्कनको प्रणाली विकास नगरेसम्म खेलकुद क्षेत्रमा अपेक्षित परिणाम आउँदैन।’
उहाँले प्रशिक्षक, खेलाडी र आयोजक तहमा समान सम्मान, अवसर र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्दै खेलकुदमा दीर्घकालीन सुधारका लागि राज्यको गम्भीर प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी प्रशिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपले स्थानीय तहमा भलिबलको विकासमा मद्दत पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । यस्ता कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्न उहाँहरूले माग गर्नुभयो ।
अध्यक्ष कार्कीले जिल्लामा पूर्वाधार निर्माण, प्रतियोगिता आयोजनाको निरन्तरता र युवा लक्षित तालिमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । स्थानीय सरकार एक्लैले खेलकुद उठाउन नसक्ने बताउँदै उहाँले केन्द्र र प्रदेश सरकारको सहकार्य जरुरी रहेकाे स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्