जनता टाइम्स

१७ असार २०८२, मंगलवार २१:१७

एमाले रामेछापकाे राजनीतिक तथा संगठनात्मक क्षमता अभिवृद्धि कार्यशाला 


रामेछाप, १७ असार । नेकपा एमाले रामेछाप जिल्ला कमिटीको आयोजना तथा जिल्ला संगठन विभागको संयोजनमा ‘राजनीतिक तथा संगठनात्मक क्षमता अभिवृद्धि’ गर्ने उद्देश्यसहित एक दिवसीय जिल्ला स्तरीय कार्यशाला म‌गलबार मन्थलीमा सम्पन्न भएको छ ।

पार्टी जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा सम्पन्न कार्यशालाको प्रमुख अतिथि पार्टीका उपमहासचिव तथा नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङ हुनुहुन्थ्यो।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज कमल प्रसाद चौलागाईं, पार्टी केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्की, बागमती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेलले कार्यशालाको प्रयोजन, संगठन सुदृढीकरणको आवश्यकता र भावी राजनीतिक कार्यदिशाका विषयमा मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यशालामा प्रदेश कमिटी सदस्य प्रेमबहादुर तामाङ, ज्ञानकुमार श्रेष्ठ, लव श्रेष्ठ, गोपाल श्रेष्ठ, दिपशिखा दाहाल, गङ्गादेवी कार्की, अर्जुन कार्की, हर्कमाया माझी, नेता रमेश कुमार बस्नेतसहित विभिन्न जनसंगठनका केन्द्रीय नेताहरू, जिल्ला कमिटी सदस्यहरू, पालिका कमिटीका पदाधिकारीहरू, वडा कमिटीका अध्यक्ष–सचिवहरू तथा जनसंगठनका अध्यक्ष–सचिवहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भमा सचिव तथा संगठन विभाग प्रमुख प्रकाश कुमार कार्कीले कार्यशालाका विषयवस्तु समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमा संगठनको हालको अवस्था, चुनौती, आगामी कार्ययोजना तथा कार्यशैलीका विविध पक्षबारे विश्लेषण गरिएको थियो।

कार्यक्रममा जिल्ला पार्टी सचिव प्रकाशकुमार कार्कीले जिल्ला पार्टी संगठनकाे अवस्था, जिल्लामा पार्टीको क्रियाशीलता, सांगठानिक विस्तार, पार्टी र कार्यकर्ताको भूमिकालगायतकाे विषय समेटिएकाे अवधारणापत्र प्रस्तुत गर्नुभएकाे थियाे।

कार्यशालाबाट राजनीतिक, संगठनात्मक तथा वैचारिक दृष्टिले सहभागी कार्यकर्ताहरूमा उत्साह, स्पष्टता र प्रतिबद्धता अभिवृद्धि भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।