काठमाडौं , १७ असार। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बसेको छ ।
हिजोदेखि जारी बैठकमा आज केन्द्रीय सदस्यहरू—रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा. डिला सङ्ग्रौला, रमेश लेखक, किरण यादव, लक्ष्मी परियार, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, चन्द्रबहादुर के.सी., मानबहादुर नेपाली, उदयशम्शेर राणा, दिलमान पाख्रिन, रामहरि खतिवडा, विनोदकुमार चौधरी, गुरु बराल, उर्मिला नेपाल के.सी., सीताकुमारी राना, राधा घले, सितादेवी देवकोटा, शारदा पौडेल तथा आमन्त्रित सदस्य पुष्पराज पराजुलीले आ–आफ्ना धारणा राखेका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरूले विभिन्न समसामयिक राजनीतिक विषय, पार्टी संगठन सुदृढीकरण, भ्रातृ संगठनहरूको म्याद, सरकारको कार्यसम्पादन मूल्याङ्कन, विधान संशोधन लगायतका विषयमा धारणा राख्दै सुझाव र प्रस्तावहरू प्रस्तुत गरेका छन् ।
पार्टी सचिवालयका अनुसार बैठकमा विभिन्न प्रस्तावहरूमा केन्द्रीय सदस्यहरूबिच छलफल जारी छ । बैठकमा उठेका विषयहरूमाथि सभापति देउवासहित शीर्ष नेताहरूले जवाफ दिने र समग्र निष्कर्ष निकाल्ने उद्देश्य राखिएको छ ।
कार्यसमितिको अर्को बैठक असार १८ गते दिउँसो १२ः३० बजे पुनः पार्टीको केन्द्रीय कार्यालयमा बस्ने कार्यक्रम रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्