जनता टाइम्स

११ आश्विन २०८१, शुक्रबार ०२:२३

प्रचण्ड सलबलाहट : लासा जाने कुतीको बाटो


वैचारिक र राजनीतिक क्षेत्रमा समान धारणा बनाएर समाजवादतर्फ लम्कने महान अभिभारा नेपालको वाम शक्तिको हो । प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा रोपिएको समाजवादको कोपिलालाई हुर्काउँदै समाजवादको थप आधार निर्माण गर्नु पर्ने बेलामा एक वामशक्तिका सुप्रिमो प्रचण्डको वर्तमान सलबलाहट नेपाली उखान ‘लासा जाने कुतीको बाटो’सँग ठ्याक्कै मिल्छ भन्दा अत्युक्ति हुने छैन ।

निर्मल भट्टराई

सत्ता विमुख भएपछि प्रमुख प्रतिपक्षी नेता प्रचण्डको वेचैनी दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । उनले नसोचेको नेका-एमाले मिलनबाट नयाँ र स्थायी प्रकारको सरकार गठन भएपछि यता भिर उता पहिरो देखेका प्रचण्डका हालैका अभिव्यक्ति र व्यवहार अचम्मलाग्दा हुँदै गएका छन् । आफ्ना पार्टीका कार्यकर्ता थुम्थुम्याउन अर्को चुनावमा माओवादीले बहुमत ल्याउने बताए पनि अर्को चुनावसम्म पुग्दा माओवादीको नामोनिशान नरहने पो हो कि भन्ने चिन्ताले उनी त्रशित देखिन्छन् ।

बङ्गलादेशको सत्ता उलटफेरपछि एमाले र कांग्रेसले निहुँ खोजे नेपाललाई बङ्गलादेश बनाइदिने धम्की दिएका प्रचण्ड हाल राजावादी शक्तिसँग मिलेर देशमा अस्थिरता सिर्जना गर्ने र त्यही अस्थिरतालाई पुनस् सत्तामा फर्कने भर्याङ बनाउने नयाँ खेलमा लागेको पटाक्षेप भएको छ । राजावादी शक्तिका नयाँ मसिहा रविन्द्र मिश्रसँगको लामो भलाकुसारीपछि उनको वास्तविक नियत उजागर भएको हो । देशमा अस्थिरता सिर्जना गरेर देशलाई पश्चगमनतर्फ लैजान चाहने राजावादी शक्तिसँग बढेको उनको निकटताले उनी देशको लोकतन्त्र र समाजवादी गन्तव्यप्रति इमान्दार छैनन् भन्ने देखाएको छ । साथै उनको वाम चरित्र समेत प्रश्नको घेरामा परेको छ ।

देशका ठूला वामदल एमाले र माओवादी मिलेर शक्तिशाली बनेको नेकपाबाट पदको लालसाको कारण भड्किएको प्रचण्डको मन अहिलेसम्म रोकिएको छैन । नेपाली कांग्रेसको वैशाकी पाएर ‘जादुमयी सङ्ख्या’ प्राप्त गरेका प्रचण्ड वर्तमान संसदको कार्यकालभर आफू प्रधानमन्त्री हुन नपाउने निश्चित प्रायस् भएपछि उनको अवाञ्छित चलखेल सुरू भएको छ। नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेले निश्चित मिसनका साथ सत्ता साझेदारी गरेपछि उनको जादुयी छल नाकामयावी हुने नै भयो । एमाले र नेपाली कांग्रेसलाई पालैपालो बेड पार्टनर बनाउन नसक्ने पक्का भएपछि उनलाई नयाँ(नयाँ बेड पार्टनर आवश्यक परेको छ ।

त्यसो त पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न पूर्व माओवादी घटक समेटेर र माधव समूहलाई जोडेर माओवादीलाई पुनस् शक्तिशाली बनाउने अभियानमा निकै समय खर्चेका छन् तर परिणामचाहिँ हातलाग्यो शून्य भएको छ । उनकै नेतृत्वमा बनेको समाजवादी मोर्चा पनि मोर्चामा संलग्न पार्टीहरूको शक्तिको जोडघटाउमै वितेको छ । माओवादीपछि मोर्चामा शक्तिशाली रहेका माधव नेपालको समूह र उपेन्द्रको समूह कुनै पनि समय त्यहाँबाट छुट्टिने हुँदा सो मोर्चाको भविष्यमै प्रश्नचिन्ह लागेको छ । माधव समूहका अधिकांश नेता-कार्यकर्ता मदन भण्डारी प्रतिपादित जनताको बहुदलीय जनवादको स्कुलिङमा रहेकाले ह्वात्तै माओवादी छाताभित्र पसिहाल्दैनन् । बरु चाहेको हैसियत पाए उनीहरू दौडिएर एमालेको ढोकामा आइपुग्छन् । माधव-झलनाथको पार्टी मैले बनाइदिएको हो भनेर जतिसुकै प्रचण्डले डङ्का पिटे पनि त्यो समूह उनको पोल्टामा पुग्ने संभावना छैन। उपेन्द्रको त सधैँ सत्ता वार्गेनिङको राजनीति हो ।

संसदीय छानबिन विशेष समितिले सहकारी ठगीसम्बन्धी विषयमा दिएको निष्कर्षपछि सो प्रकरणमा दोषी देखिएका रवि लामिछाने नेतृत्वको संसदको चौथो शक्ति रास्वपा हाल उद्वेलित छ । आफैं सम्हालिन नसकेको त्यो शक्तिले प्रचण्डसँग वैचारिक जगमा सहकार्य गर्ने संभावना न्यून छ । तर देशमा अराजकता सिर्जना गर्ने र सोही अराजकतामा टेकेर सत्तामा फर्कने सवालमा भने उनीहरूबीच सहकार्यको संभावनालाई भने नजरअन्दाज गर्न सकिदैन ।

देशले स्थायित्व खोजेको छ । जिम्मेवार राजनीतिक नेतृत्व खोजेको छ । आर्थिक विकास र समृध्दि खोजेको छ । समाजवातर्फको फड्को खोजेको छ । गरिबीबाट सदाका लागि उन्मुक्ति खोजेको छ । स्वाधीन राष्ट्रको स्वाधीन र मजबुत अर्थतन्त्र खोजेको छ । तर प्रचण्डलगायतका केही नेताहरू अस्थिरता र अराजकतामा आफ्नो गुमेको हैसियत खोज्न तल्लिन देखिएका छन् । निश्चय नै यो दुःखद पक्ष हो ।

वैचारिक र राजनीतिक क्षेत्रमा समान धारणा बनाएर समाजवादतर्फ लम्कने महान अभिभारा नेपालको वाम शक्तिको हो । प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा रोपिएको समाजवादको कोपिलालाई हुर्काउँदै समाजवादको थप आधार निर्माण गर्नु पर्ने बेलामा एक वामशक्तिका सुप्रिमो प्रचण्डको वर्तमान सलबलाहट नेपाली उखान ‘लासा जाने कुतीको बाटो’सँग ठ्याक्कै मिल्छ भन्दा अत्युक्ति हुने छैन ।