काठमाडौं, मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नुभएको छ ।
हिमालय एयरलाइन्सको विशेष चार्टर उडानमार्फत प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बेइजिङ प्रस्थान गरेको हो । चार दिने भ्रमणको क्रममा चीन जानुभएका प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीहरू रहनुभएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नेकार्यक्रम तय भएको छ । त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।
भ्रमणको क्रममा महत्वपूर्ण आयोजना साथै समझदारीमा सम्झौता हुनेछ । प्रधानमन्त्री ओली यह िमंसिर २० गते स्वदेश फर्कने कार्यक्रम छ । चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीलाई बिमानस्थलको अति बिशिष्ठ कक्षमा सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधान तथा मन्त्रीहरुले हार्दिक बिदाई गर्नुभएको छ ।
प्रधानमन्त्री चीन भ्रमणमा जाने अघिल्लो दिन आइतवार बसेको मन्त्रिपरिषद बैठकले चीन सरकारसँग हुने विकास योजनासम्बन्धी समझदारी पत्र स्वीकृत गरेको थियो । बैठकले सन २०२५ देखि २०२९ सम्म हुने विकास परियोजनासम्बन्धी समझदारी पत्र स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
मन्त्री गुरुङका अनुसार बैठकले समझदारी पत्रमा हस्ताक्षर गर्न अर्थ मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका दौरान विभिन्न परियोजनामा सम्झौता हुने भएको छ ।
मन्त्री गुरुङका अनुसार नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा बोल्ने चाइनिज ल्याङ्ग्वेज विकास प्रोग्राम परिचालनका सम्बन्धमा तयार भएको समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा सम्बन्धित समकक्षी पदाधिकारीबाट हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुमति दिने निर्णय भएको छ ।
यसैगरी सरकारले प्रस्तावित २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्नेसम्बन्धी आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गर्ने, प्रस्तावित ३ सय मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने, सार्वजनिक सेवा प्रशारण संस्था नेपाल टेलिभिजन र रेडियो नेपाल र चाइना मिडिया ग्रुपबीच हुने समझदारी पत्र स्वीकृत गर्नेलगायतत सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यसूची रहेको छ ।
त्यस्तै काठमाडौं रिङरोड, अरनीको हाइवे, हिल्सा-सिमिकोट, आइसिडी, आइसीपी कोरला नाकामा आवश्यक पर्ने सबै सीमानाका व्यवस्थित गर्न चेक पोस्ट निर्माण, टोखा–खहरे टनेल मार्ग, जिलुङ-केरुङ-काठमाडौं क्रस बोर्डर रेल्वे प्राजेक्टको अध्ययन, खाँदबारी–किमाथांका सडकमा अरुण नदीमा मितेरी पुल बनाउने, चोभारमा मल्टीफङ्सनल क्वारेन्टाइन ल्याब्रेटरी इन काठमाडौं, इन एग्रिकल्चर इन्स्ट्रक्चर डेभलपमेण्ट पार्क, कोरलामा इण्डस्ट्रियल जोन बनाउनेबारे विषयमा सहमति हुने सरकारले बताएको छ ।
त्यस्तै चीनले सयवटा विद्युतीय गाडी, सयवटा प्रहरी भ्यान, ५० वटा स्कुल भ्यान, ५० वटा एम्बुलेन्स दिने मन्त्री गुरुङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्