जनता टाइम्स

१९ मंसिर २०८१, बुधबार ०८:२१

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा परिन नेपालकी सिलसिला


काठमाडौं, मंसिर १९ । बिबीसीले सार्वजनिक गरेको सन २०२४ मा विश्वका एक सय प्रेरक तथा प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी पर्यावरण उद्यमी सिलसिला आचार्य छनोट हुनुभएको छ ।

मंगलबार सार्वजनिक उक्त सूचीमा आचार्य छनोट हुनुभएको हो । बिबीसीको सयको सूचीमा छनोट भएपछि सिलसिलाले ‘एकदमै अपत्यारिलो खबर’ भन्दै खुसी जनाउनु भयो । विश्वका एक सय प्रभावशाली महिलामा छानिएसँगै सिलसिलाले ‘फोहोरको कामले सफा नाम दिएको’ बताउनु भयो ।

पर्यावरण क्षेत्रमा सक्रिय नेपालकी दिगो विकास उद्यमी सिलसिलाले विश्वका अन्य महिलासँगै बीबीसीको उक्त सूचीमा पर्नुलाई आफूले गरेको कामले सम्मानजनक मान्यता पाएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो उपलब्धिले नेपाललाई पुनः विश्व मञ्चमा चिनाएको छ भने मैले गर्दै आएको कामले पनि सम्मान पाएको महसुस गरेकी छु ।’

उक्त सूचीमा विश्वका पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिला छनोटमा परेका हुन । सो सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराददेखि न्युजिल्यान्डकी आदिवासी सांसद हाना–रावहिती मइपी–क्लार्कसम्म हुनुहुन्छ ।

त्यस्तै भारतमा बेवारिसे शवहरूको अन्तिम संस्कार गराउन सक्रिय पूजा शर्मा, सामाजिक कार्यकर्ता अरुणा रोय र कुस्ती खेलाडी विनेश फोगाट पनि उक्त सूचीमा समेटिनु भएको छ । बीबीसीको उक्त सूचीमा छनोट हुनेबारे सिलसिलालाई एक महिनाअघि जानकारी थियो । तर नाम सार्वजनिक नभइन्जेलसम्म विश्वास गर्न गाह्रो भइरहेको थियो । सिलसिलाले काठमाडौंको टोखास्थित अभ्नी भेन्जर्स सञ्चालन गर्दै आउनु भएको छ । उहाँ कम्पनीकी सह–संस्थापक र निर्देशक हुनुहुन्छ ।

सन् २०२१ मा सिलसिलाले करिब डेढ करोड रुपैयाँ लगानीमा ६ रोपनी जग्गामा प्लास्टिक पुनः प्रयोग संकलन केन्द्र सुरु गर्नुभएको थियो । जहाँ देशभरका २६ फोहोर संकलन केन्द्रमार्फत आएका फोहोरलाई पुनः प्रशोधन गरिन्छ । सो कम्पनीमा चार सय जनाले रोजगारी पाएका छन ।

सो कम्पनीले वर्षमा हामीले ५ हजार टन फोहोर संकलन गर्ने गरेको छ । सिलसिलाका अनुसार अहिलेसम्म करिब १६ हजार टन फोहोर संकलन गरिसकेका छ । यहीँ कामको मूल्यांकन गर्दै बीबीसीले उनलाई सय प्रभावशाली महिलाको सूचीमा छनोट गरेको छ ।

बागलुङमा जन्मिनु भएकी सिलसिलाले सन २०११ मा नर्वेको बर्गन विश्वविद्यालयबाट वातावरणमा स्नातकोत्तर गरेकी हुन । अध्ययनकै क्रममा उहाँलाई वातावरणको क्षेत्रमा काम गर्ने इच्छा जागेको हो ।